शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा देखिन थाल्यो फरक दृष्य, जानेभन्दा फर्किनेको भिड

बिहीबार, २० फागुन २०७७, १५ : २३
बिहीबार, २० फागुन २०७७

काठमाडौं । पछिल्ला दिनहरुमा विदेश जाने नेपालीहरुको संख्या घट्दो क्रममा रहेको छ । कोभिड–१९ पछि विदेशिने नेपालीहरुको संख्याको तुलनामा स्वदेश फर्किनेहरूको  संख्या बढ्न थालेको हो । त्रिभुवन विमानस्थल, अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० मा विदेशिनेभन्दा नेपाल फर्किनेहरूको संख्यामा झण्डै २१ प्रतिशतले वृद्धि आएको छ । 

विभागको तथ्याङ्कअनुसार सन् २०२० मा कुल ३ लाख ८६ हजार ६ सय ६१ जना नेपाली विदेशिरहँदा यता ४ लाख ८८ हजार ८ सय १० जना नेपालीहरु स्वदेश फर्किएका छन् । आनुपातिक हिसाबले हेर्ने हो भने विदेशिने र स्वदेशीको यो अनुपात करिब १ः२ को हो । अर्थात् १ जना नेपाली विदेशिरहँदा उताबाट सोही समयमा तीनजना नेपालीहरु स्वदेश फर्किएका छन् । 

त्यसो त सन् २०२१ लागेसँगै विश्व बजारमा कोभिड–१९ को भ्याक्सिन आएसँगै विदेशिने नेपालीहरुको संख्यामा केहि वृद्धि आएको भनिएपनि भित्रिनेहरुको संख्यामा भने खासै कमी नआएको अध्यागमन विभागका प्रवक्ता टेकनाराण पाण्डेले बताए ।

पाण्डेका अनुसार सन् २०२१ को सुरुवाती दुई महिना (जनवरी र फेब्रुअरी) मा कुल ९५ हजार ६ सय ८० जना नेपालीहरु स्वदेश भित्रिँदा कुल ७७ हजार २ सय ९ जना नेपालीहरु बाहिरिएका छन् । यो तथ्याङ्कलाई औसतमा हेर्दा हाल दैनिक १ हजार ५ सय ९५ जना नेपालीहरु स्वदेश फर्किरहेका छन् भने औसत १ हजार २ सय ८७ जना दैनिक बाहिरिएका छन् ।

जब कि कोभिड–१९ अघिसम्म यस्तो तथ्याङ्क दैनिक १७–१८ सय नेपालीहरु बाहिरिने गर्थे भने दैनिक ५–७ सयको हाराहारीमा मात्र नेपालीहरु स्वदेश फर्किरहेका थिए ।  तर, एक्कासि विश्वमा कोभिड–१९ को महामारी फैलिएसँगै विश्व बजारमा त्यसको प्रत्यक्ष असर पर्न गई रोजगारीहरु गुम्दा नेपालीहरु स्वदेश फर्कन थालेका हुन् ।

फर्किनेमा श्रमिकहरु

कोभिड–१९ पछि अत्यधिक संख्यामा स्वदेश फर्किनेहरूमा वैदेशिक रोजगारीमा गएका श्रमिक देखिएका छन् । कोभिडको विश्व प्रभाव उद्योग, कलकारखाना, उत्पादन तथा रोजगारीका क्षेत्रमा परेर रोजगारी गुमाउँदा स्वदेश फर्किने श्रमिकहरुको संख्या बढिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल फर्किएका नेपाली श्रमिकहरुको संख्या कुल २ लाख ७८ हजार ३ सय ५४ रहेको छ । जसमा थप अझै १ लाख ४२ हजार ८ सय ७ जना श्रमिकहरु नेपाल फर्कन चाहिरहेको मन्त्रालयका सूचना अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् । 

त्यसो त यता त्रिभूवन विमानस्थल, अध्यागमन विभागकै तथ्याङ्कअनुसार पनि गएको दुई महिना (जनवरी र फेब्रुअरी) मा स्वदेश भित्रने कुल जनसंख्या मध्ये ८० प्रतिशतमाथि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरु नै रहेको देखाएको छ ।  गएको दुई महिनामा नेपाल भित्रिएका कुल ९५ हजारमध्ये करिब १९ हजार विदेशी पर्यटक रहेको र बाँकी सबै श्रमिकहरु नै भएको विभागले देखाएको छ ।

२ लाख ५० हजार राहदानी वितरण

परराष्ट्र मन्त्रालय, राहदानी विभागले गत आर्थिक वर्ष २०७६/७७ मा कुल २ लाख ५० हजार राहदानी (पासपोर्ट) वितरण भएको जनाएको छ । आर्थिक वर्षको पहिलो र दोस्रो चौमासमा नियमित रुपमै राहदानीको वितरण भएपनि तेस्रो चौमासमा भने कोभिडका कारण पासपोर्ट वितरणमा समस्या भएको विभागले जनाएको छ । 

मासिक रुपमा देशभरबाट करिब ४०–४२ हजार पासपोर्टको माग रहने गरेकोमा कोभिडकालमा मासिक करिब ४–५ हजारका दरले मात्र पासपोर्ट वितरण भएको विभागका निर्देशक राजेन्द्र पाण्डेले रातोपाटीलाई बताए । यद्यपि चालू आर्थिक वर्ष २०७७/७८ सुरु भएसँगै विश्वमा कोभिडको प्रभाव क्रमशः कम हुँदै जाँदा पुनः पहिलेकै रफ्तारमा पासपोर्टको माग आउन थालेको पाण्डेको भनाई छ । 

हाल विभागले मासिक औसत ४० हजारकै दरमा पासपोर्ट छपाई गरि वितरण गरिरहेको पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप