शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुप्तचरको चेतावनीयुक्त सूचनापछि अमेरिकी संसदको तल्लो सदनको बैठक रद्द

बिहीबार, २० फागुन २०७७, १० : ३३
बिहीबार, २० फागुन २०७७

 अमेरिकी संसदको तल्लो सदन अर्थात् ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को बिहीबारका लागि निर्धारित बैठक रद्द गरिएको छ । गुप्तचर विभागबाट प्राप्त सूचनाका आधारमा बैठक रद्द गरिएको हो ।
अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार कुनै आक्रामक स्थानीय समूह बिहीबार ‘क्यापिटल’ (अमेरिकी संसद) मा प्रवेशका लागि प्रयास गर्ने सूचना युक्त चेतावनी प्रहरीले प्राप्त गरेको थियो । सोही चेतावनीपछि क्यापिटल भवन बाहिर प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ । प्रहरीले कुनै पनि सम्भावित खतराका लागि आफू तयार रहेको जनाएको छ ।

‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ को निर्धारित बैठक रद्द भए पनि सोही भवनमा रहेको सिनेटले भने नियमित कारवाही अघि बढाउने भएको छ । सिनेटमा राष्ट्रपति जो बाइडेनद्वारा पेश गरिएको १.९ ट्रिलियन डलरको ‘कोभिड राहत बिल’ माथि बहस गर्ने बिहीबारको कार्यसूची छ ।

क्यापिटल पुलिसका अनुसार राज्य प्रहरी, स्थानीय प्रहरी र केन्द्रीय एजेन्सीहरूसँग मिलेर त्यस्तो कुनै पनि सम्भावित घटना रोक्नका लागि प्रयास भइरहेको छ । ‘हामीले गुप्तचरमार्फत जुन जानकारी पाएका छौं, त्यसलाई निकै गम्भीरतापूर्वक लिएका छौं । हामीले पाएका जानकारीलाई गम्भीरतापूर्वक लिँदै तिनलाई प्रेस सामु उजागर गर्न सक्दैनौं,’ क्यापिटल पुलिसका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

जनवरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको एउटा समूह प्रहरी सुरक्षा घेरालाई तोड्दै क्यापिटल भवनमा प्रवेश गरेको थियो । त्यतिबेला अधिकांश अमेरिकी संसद क्यापिटल भवन मै थिए ।
सो घटनामा एक प्रहरीसमेत पाँच जनाको मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप