बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

बिहीबार, २० फागुन २०७७, ०८ : १५
बिहीबार, २० फागुन २०७७

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । 

पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो । 

कार्यालयले क्षेत्रगत आधारमा दुई जातको ओखरको बिरुवा ल्याएको कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिनुभयो । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको डा चौवेले बताए । उनका अनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्याङ्क्विट जातको भाले बिरुवा ल्याइएको छ ।   

अहिले ल्याइएका यिनै बिरुवाले आठ÷दश वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्नेछन् । त्यसो भएमा बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयले जनाएको छ । कृषकको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने डा चौवेले बताए । उनका अनुसार टर्कीबाट बिरुवा खरिद गर्दा प्रतिबिरुवा रु ४५० पर्न गएको छ । कृषकले भने ५० प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २२५ तिर्नुपर्ने छ ।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ बाहेक ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका कृषकलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । हाल जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयको ओखर जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम सञ्चालन भइरहेको छ ।  

ओखरका लागि रुकुम (पूर्व) उपयुक्त ठाउँ भए पनि सिँचाइ अभाव रहेको छ । सोही समस्यालाई मध्यनजर गर्दै कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा चौवेले बताए । यस जिल्लामा ओखर खेतीको राम्रो सम्भावना भएकाले केही वर्षपछि यिनै बिरुवा हुर्किए भने ओखरखेतीबाट यहाँका नागरिकले मनग्य लाभ लिन सक्ने उनले बताए ।  

जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट सात÷आठ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो । परीक्षण सफल भएपछि गत वर्ष टर्कीबाटै तीन हजार ८०० बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो । यस कार्यालयबाट मात्रै २९÷३० हजारको हारहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ भने स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि कृषकलाई अनुदानमा दाँते ओखरको बिरुवा वितरण गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप