शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा माघ-फागुनमा पौडेलको फरक बोली, देउवाको ठाडो जवाफ

बिहीबार, २० फागुन २०७७, ०० : ०७
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सरकारका जाने विषयमा मतभेद देखिएको छ । प्रतिनिधिसभा विघटनपछि देउवा निर्वाचन र पौडेल पुनःस्थापनाको नीति लिएर दुई ध्रुवमा विभाजित भएका थिए ।

फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि देउवा र पौडेलबीच फेरि नयाँ सरकार निर्माणका सन्दर्भमा फरक मत प्रकट भएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित कार्यक्रममा नयाँ सरकार गठनबारे भिन्न-भिन्न धारणा सार्वजनिक भएको छ ।

सत्तासीन नेकपा कम्युनिस्ट पार्टी नेकपाका केपी ओली र प्रचण्ड माधव नेपाल समूहले देउवासामु सत्ता सहकार्यको हात फैलाइरहेका बेला पौडेलबाट काँग्रेस सरकारमा जानु संसदीय विकृति हुने टिप्पणी आयो । तर प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले माघ ३ गते गरेको विरोध प्रदर्शनमा चितवनमै पुगेर पौडेलले संसद पुनःस्थापनापछिको देउवा प्रधानमन्त्री बन्ने सम्भावना सुनाएका थिए ।

पौडेलले देउवाले चुनाव चुनाव भनिरहेको बताउँदै संसद् पुनःस्थापना भए पनि काँग्रेसलाई फाइदै हुने बताएका थिए । ‘संसद् पुनःस्थापना हुँदा पनि हामीलाई फाइदै हुन्छ । हामी निर्णायक हुन्छौं । तालुमा आलु फले (शेरबहादुर देउवा) फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ,’ पौडेलको अनुमान थियो ।

संसद पुनःस्थापनापछि देउवाको तालुमा आलु फल्ने परिस्थिति बन्दै जाँदा पौडेलले काँग्रेस प्रतिपक्षी दलको भूमिकाबाट कतै पनि डगमगाउन नुहने तर्क अगाडि सारेका छन् । 

फागुन १९ गते चितवनमै पुगेर पौडेलले भने, संसद विघटनबाट जोगिएको छ अब विकृतिबाट जोगाउनुपर्छ । आफ्नो औकात र हैसियतभन्दा बढीको महत्वाकांक्षा विकृति हो, हैसियतभन्दा बढी आकांक्षा राख्न हुँदैन ।

राजनीतिको नाममा सत्तामा पुग्नेहरूबाट जनता निरास भएको भन्दै  काँग्रेस प्रतिपक्षी दलको भूमिकाबाट कतै पनि डगमगाउन नहुने उनको भनाइ छ ।

‘राजनीतिको नाममा सत्तामा पुग्नेहरूबाट जनता निरास छन् । त्यो निराशा हटाउनका लागि अरू दायाँबायाँ नगरी निस्स्वार्थ भावले काँग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन । प्रतिपक्षी दलको भूमिकाबाट काँग्रेस कतै पनि डगमगाउनु हुँदैन,’ पौडेलले भने, ‘अहिले कांग्रेस जुन हैसियतमा संसदमा छ, जुन हैसियतमा राष्ट्रिय राजनीतिमा उपस्थित छ काँग्रेसले आफ्नो हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ। विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ ।’ 

पौडेलले राजनीतिक विकृति बढ्दै गएको भन्दै यसबाट लोकतन्त्रलाई बचाउन काँग्रेसले भूमिका खेल्नुपर्ने बताए । तर पौडेलको अभिव्यक्तिबाट देउवाले असहज महसुस गरेको देखिन्थ्यो । पौडेलले बोलिरहेका बेला देउवाले यताउता टाउको घुमाइरहेका थिए ।

अनि श्रद्धाञ्जली सभामै राजनीतिक कुरा गर्नुपर्ने अवस्था आएको भन्दै देउवाले सम्बोधनको सुरुमै पौडेललाई जवाफ फर्काए । पौडेलको सम्बोधन लगत्तै मञ्चमा पुगेका देउवाले ‘हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, राजनीतिक कुरा उठिहाल्यो, रामचन्द्र जी बोलिहाल्नुभयो अब के गर्ने समस्या भैहाल्यो,’ भन्दै सत्ता आकांक्षा प्रकट गर्दै घोचपेचमा उत्रिए ।

‘काँग्रेसलाई पदको लोभ पनि छैन, टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ देउवाले भने, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो । यसबाट पार्टीलाई फाइदा नै होला राम्रो कुरा हो ।’

सरकारमा जान काँग्रेसले हैसियत भन्दाबढी महत्त्वाकांक्षा राख्न नहुने पौडेलको भनाइप्रति इंगित गर्दै देउवाले सानो चित्त नगर्न सुझाए । ‘सानो चित्त नगर्नुस् रामचन्द्र जी तपाईं विशाल हृदय राख्नुस् । सानो चित्त छ रामचन्द्र जीको भन्ने मात्रै छन् के । त्यसकारण त्यस्तो नगर्नुस् । राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन,’ पौडेललाई देउवाको जवाफ थियो ।

अरू पार्टीको भन्दा आफ्नै पार्टीको मान्छे प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने भएकाले चिन्ता नगर्न पनि पौडेललाई देउवाको आग्रह थियो । ‘चिन्ता नगर्नुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ मलाई त,’ देउवा भने, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुभएको जस्तो मलाई लाग्यो । तपाईंले भनेको कुराबाट त्यही बुझियो ।’

देउवाले उक्त कुरा भनिरहँदा कार्यक्रममा ​दर्शकदीर्घामा हाँसो गुन्जिएको थियो । यता पौडेल पनि देउवालाई हेरेर मुसुमुसु हाँसिरहेका थिए । कार्यक्रममा महामन्त्री शशांक कोइराला पनि सहभागी थिए ।

तर कोइरालाले राजनीतिक विषयमा प्रवेश नगरी दुई मिनेटमा स्वर्गीय रानाभाटले नेपालको लोकतन्त्र स्थापनामा पुर्याएको योगदान, उनीप्रति श्रद्धाञ्जली  र परिवारजनमा समवेदना प्रकट  गरी मन्तव्य टुङ्ग्याएका थिए ।

कोइरालाले वर्तमान राजनीतिबारे भरतपुर विमानस्थलमा पत्रकारहरुसँग आफ्नो धारणा राखेका थिए । कोइरालाले काँग्रेस सरकारमा जानुपर्नेमा जोड दिएका थिए । सत्ता सहकार्यका लागि पनि उनको रोजाई प्रचण्ड माधव नेपाल पक्ष परेको थियो । 

डा कोइरालाले भने, 'नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।'उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । कोइरालाभन्दा अघि बोलेका वक्ताहरूबाट पनि राजनीतिक टिप्पणी आएको थिएन ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली, वाग्मती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ,  काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, काँग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व रानाभाटको राजनीतिक भूमिकाबारे चर्चा मात्र गरेका थिए । 

आज देउवा र पौडेलको जुहारीले काँग्रेस निर्विवादित सत्तामा जाने वातावरण नरहेको देखाएको छ । देउवाले केन्द्रीय समिति बैठकमै संसद विघटनपछि पौडेल आफ्नो तेजबोध गर्न उत्रिएको आरोप लगाएका थिए पौडेलले भने प्रधानमन्त्री केपी ओली र देउवाबीच भित्री साँठगाँठ भएको आसयमा अभिव्यक्ति दिँदै आएका थिए । दुवै नेताले एक अर्काले अबलम्बन गरेको नीतिमाथि आशंकाको दृष्टिले हेर्न गरेको पाइन्छ । पार्टीको १४ औं महाधिवेशनका सन्निकट देउवा अनुकुल परिस्थिति निर्माण हुनेले पनि पौडेल आमुन्ने-सामुन्ने हुने गरेको देखिन्छ । यसलाई सामान्य रुपमा लिनुपर्ने काँग्रेस नेताहरुको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप