शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सेनामा भर्ती हुन नौतनवामा नेपाली युवाको लर्को

बुधबार, १९ फागुन २०७७, २० : ५०
बुधबार, १९ फागुन २०७७

काठमाडौं । भारतीय सेनामा भर्ती हुनका लागि भारतको उत्तर प्रदेश राज्यको नौतनवामा नेपाली युवाको लर्को लागेको छ ।

मार्च ४ देखि १५ तारिखसम्म भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । सोही प्रक्रियामा सामेल हुनका लागि बुधबार ठुलो संख्यामा नेपाली युवा नौतनवा पुगेको भारतीय अखबार ‘अमर उजाला’ को अनलाइन संस्करणमा जनाइएको छ ।

भारतीय सेनामा नेपाली युवा भर्तीका लागि ‘जिआरडी’ (गोरखा रिक्रुटिङ डिपोट’ले आवेदन लिएको हो । ४ मार्चका दिन लुम्बिनी प्रदेशका कपिलवस्तु, परासी, बर्दिया, अर्घाखाँची र दाङ जिल्लाका युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । यसैगरी क्रमशः दैनिक विभिन्न जिल्लाबाट छानिएका आवेदकहरुको भर्ती प्रक्रिया पूरा गरिने ‘अमर उजाला’ ले जनाएको हो ।

नौतनवा इन्टर कलेजको मूख्य गेटमा भर्नासम्बन्धी विस्तृत सूचना प्रकाशित गरिएको र बुधबार नौतनवा पुगेका नेपाली युवाले सोही सूचनाका आधारमा आफ्नो पालो कुरेर बस्नुपर्ने जनाइएको छ ।
भारतीय सेनामा भर्ना हुनका लागि नौतनवा पुगेका नेपाली युवाहरु नगरका विभिन्न होटल तथा चिनजानका व्यक्तिहरुको डेरामा बस्ने बन्दोबस्तका लागि जुटेको बताइएको छ ।

भारतीय सेनामा भर्ती हुनका लागि कति संख्यामा नेपाली युवाले आवेदन दिएका थिए भन्ने खुलाइएको छैन । सरकारले देशका युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने, विकास निर्माणका कामलाई प्राथमिकता दिइएको बताउँदै आए पनि बर्सेनि लाखौं युवा श्रमका लागि विदेशिनुपर्ने बाध्यता कायमै छ ।

यसरी विदेशिने अधिकांश युवा खाडी मुलुक पुग्ने गरेका छन् भने अदक्ष कामदारका रुपमा भारतमा रोजगारीका लागि जाने युवाको संख्या पनि निकै छ ।  

स्रोत : अमर उजाला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप