शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण–३ जलविद्युत परियोजना निर्धारित समयभन्दा डेढ वर्ष अघिनै सम्पन्न हुने

बुधबार, १९ फागुन २०७७, २० : ०४
बुधबार, १९ फागुन २०७७

काठमाडौ । प्रदेश नम्बर १ को सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजना तोकिएको समयभन्दा डेढ वर्ष अगावै सम्पन्न हुने भएको छ । बुधबार लगानी बोर्डसहितको उच्चस्तरीय टोली परियोजनाको अनुगमनका गएकोमा आयोजनाले निर्धारित समयको डेढ वर्ष अघि नै परियोजना सम्पन्न हुने बताएको हो । सो अवसरमा हाल परियोजनाको काम तीब्र रुपमा अघि बढिरहेको र लगभग ४० प्रतिशत काम सम्पन्न भइसकेको परियोजनाले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी (पीपी) मोडलमा बन्ने ९०० मेगावाट क्षमताको उक्त परियोजनाको निर्माण जिम्मा भारतको सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगमले लिएको हो । निगमले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना गरी सो कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको छ । 

आयोजना विकासका लागि नेपालका तर्फबाट लगानी बोर्डले सतलजसँग १० मंसिर २०७१ मा आयोजना विकास सम्झौता (पिडिए) गरेको थियो ।  पिडिए अनुसार सतलजले आफ्नो लगानीमा आयोजना निर्माण गर्ने र आयोजनाबाट उत्पादन भएकोमध्ये २१.९ प्रतिशत अर्थात् (१ सय ९७ मेगावाट) विद्युत नेपाललाई निःशुल्क उपलब्ध गराउने र बाँकी बिजुली भारत लैजाने सहमति गरेको छ ।

आयोजनाले प्रभावित स्थानीयलाई प्रत्येक महिना ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने सर्त छ । आयोजनालाई सतलजले सञ्चालन गरुन्जेल अर्थात् २५ वर्षमा नेपालले करिब १ खर्ब ५५ अर्बको विद्युत्, १ खर्ब ७ अर्ब रोयल्टी र ७७ अर्ब आयकरसहित गरी कुल ३ खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । आयोजनाबाट नेपाललाई प्राप्त हुने रोयल्टी रकमको १३ प्रतिशत रकम स्थानीय प्रभावित क्षेत्रको विकासमा लगाउने सम्झौता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप