शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बकैयामा न्यायिक समितिबाट ८९ मुद्दाको किनारा

बुधबार, १९ फागुन २०७७, १९ : ५८
बुधबार, १९ फागुन २०७७

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले पालिकास्तरमा न्यायिक समिति सञ्चालनमा आएपछि न्यायमा सामान्य नागरिकको पहुँचमा वृद्धि भएको बताएकी छन् । रातोपाटीसँगको कुराकानीमा न्यायिक समिति प्रमुखसमेत रहेकी उपाध्यक्ष बोलखेले स्थानीय नागरिकको न्यायमा पहुँच पु¥याउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको बताइन् ।

उनका अनुसार २०७४ भदौमा स्थापना भएको बकैयाको न्यायिक समितिले हालसम्म ८९ वटा मुद्दाको किनारा लगाइसकेको छ । विभिन्न समस्याका बीच न्यायमा जनताको विश्वास कायम राख्न सक्नु नै महत्वपूर्ण उपलब्धी भएको उपाध्यक्ष बोलखेको भनाइ छ । 
न्यायिक समितिमा मुद्दा आएलगत्तै तत्काल त्यसको निराकरणमा आफ्नो नेतृत्वमा मेलमिलापकर्तालाई सक्रिय बनाइ न्यायमा प्रतिकुल पार्ने खालका कुनै पनि काम हुनबाट रोक्ने गरेको बोलखे बताउँछिन् । न्यायिक समितिमा मुद्दा नआओस् भन्ने उद्देश्यका साथ वडास्तरमै मेलमिलाप समिति गठन गरिएको र वडामै निवेदन दर्ता गर्ने व्यवस्था गरिएको बकैया गाउँपालिका वडा नम्वर ४ की वडा सचिव प्रमिला पौडेलले जानकारी दिइन् ।

वडाको मेलमिलाप समितिमा छलफल गरी विवादको समाधानको प्रयास गर्ने गरेको सचिव पौडेलको भनाइ छ ।  मेलमिलाप समितिले विवाद समाधान गर्न नसकेको अवस्थामा मेलमिलापकर्तामार्फत् न्यायिक समितिसम्म पठाइने र न्यायिक समितिले आवश्यक अध्ययनपछि सो मुद्दा छलफलका लागि पुनः मेलमिलापकर्तालाई नै पठाउने गरिन्छ । 

विवादमा आएका दुवैले आफ्नो रोजाइका मेलमिलापकर्ताहरुको उपस्थितिमा स्थलगत छलफल पश्चात विवाद समाधानका लागि न्यायिक समितिको इजलासमा छलफल गर्ने गरेको र दुवै पक्षको सहमतिमा मिलापत्र गराइ विवाद टुङ्ग्याउने गरेको बोलखे बताउँछिन् ।

उनका अनुसार न्यायिक समिति स्थापना भएदेखि हालसम्म दर्ता भएका कुल ९४ मुद्दा मध्ये ५ वटा मुद्दा छलफलका क्रममा रहेको र ३ वटा मुद्दामा मिलापत्र गर्न नसकी अदालती प्रकृयाका लागि रिफर गरिएको छ । 
रिफर गर्नुपर्ने बाध्यता आइपर्दा आफैलाई दुःख लाग्ने गरेको उनको अनुभव छ ।

न्यायिक समितिमा घरेलु हिंसा, जग्गा सम्बन्धी अंश, साँध सीमाना, ज्येष्ठ नागरिक पालन पोषण, वैवाहिक सम्बन्धजस्ता मुद्दा बढी मात्रामा दर्ता हुने गरेको छ । वडाको मेलमिलाप समितिले व्यवहारिक शिक्षा, विभिन्न अभिमुखीकरण कार्यक्रम, जनचेतनामुलक कामहरुसमेत संचालन गरी न्यायिक समितिलाई सकृय बनाएको बोलखे बताउँछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप