बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट नेतृत्वको सरकारमा जान हुँदैनः महत

बुधबार, १९ फागुन २०७७, १८ : ५८
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन् । नेपाली काँग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्य तिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा काँग्रेस सरकारमा जान नहुने बताएका हुन् । तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए काँग्रेसले लिनुपर्ने तर्क उनले गरे  । उनले काँग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने– ‘अहिले नेपाली काँग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपि धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होइन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली काँग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसिएर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओली जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहरु संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ । नेपाली काँग्रेस सरकार निर्माणमा नेपाली काँग्रेसको भूमिकाको आवश्यकता पर्यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली काँग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली काँग्रेस सक्षम छ ।

नेपाली काँग्रेसको भूमिकाको आवश्यकता देखियो भने हामीले कुनै पनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली काँग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली काँग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता पर्यो भने त्यो हामीले लिनुपर्छ । फलानो सँग चाहिँ गर्नुपर्छ फलानोसँग चाहिँ हुँदैन भन्ने बहस छ । नेपाली काँग्रेसको नेतृत्व जसले स्वीकार गर्छ, त्यसमा हामीले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । नेपाली काँग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’

नेपाली काँग्रेस कम्युनिष्ट कुन पक्षतिर लाग्नेभन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उनको भनाई छ । आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालीन सोच राख्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप