बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उद्घाटन र शिलान्यासमा रमाउँदै प्रधानमन्त्री

झापा पुगेर पनि दोभान बजारवासीलाई सान्त्वना दिन किन ताप्लेजुङ पुगेनन् ओली ?
बुधबार, १९ फागुन २०७७, १६ : १८
बुधबार, १९ फागुन २०७७

काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न संरचना उद्घाटन तथा शिलान्यासको अवसर जुराएर विभिन्न क्षेत्रमा पुग्ने र आफ्ना राजनीतिक विरोधीमाथि निर्मम टिप्पणी गरेर राजनीतिक स्वार्थ पूरा गर्ने लक्ष्य बनाएको देखिन्छ । केही दिनअघि पोखरामा पुगेर उनले आफ्नो सुरक्षामा खतरा रहेको र ज्यान नै गए पनि आश्चर्य मानिरहन नपर्ने बताएका थिए । फागुन १६, १७ र १८ गते उनी झापा, मोरङ र कास्कीका कार्यक्रममा व्यस्त रहे । यी तीन दिनमै दुई पटकसम्म उनी गृहजिल्ला झापा पुगे ।

प्रधानमन्त्रीको देश दौडाहा ‘सरकारले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको’ सन्देश दिन केन्द्रित छ । देशमा दैनिकजसो विभिन्न आयोजना, विकास निर्माणका भौतिक संरचना निर्माण भइरहेको दावी गर्नका लागि प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका कार्यक्रममा सक्रियता देखाएका हुन् ।

प्रधानमन्त्रीको व्यस्तता 
प्रधानमन्त्री ओली गत आइतबारदेखि मंगलबारसम्म निकै व्यस्त रहे । फागुन १६ गते आइतबार प्रधानमन्त्री ओलीले गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाए । उनले झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गरे ।  सोही दिन उनले झापाका विभिन्न खोलामा निर्माण गरिएका पाँचवटा पुलको उद्घाटन तथा ३१ वटा पुल शिलान्यास गरे ।

फागुन १७ गते प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको राजधानी पोखरामा तीनवटा छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाए । उनले पार्टीको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरे भने नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास पनि गरे । उनले पोखरा रङ्गशालाको निरीक्षणसमेत गरेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’, बिर्तामोडमै निर्मित ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गरे । सोही दिन उनले मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्याससमेत गरे ।

यसअघि फागुन १२ गते प्रधानमन्त्री ओलीले काठमाडौंमै माटोको डिजिटल नक्सा उद्घाटन गरेका थिए । फागुन १० गते उनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुगेर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

दुई वर्षअघि शिलान्यास गरेका आयोजनाको प्रगति निराशाजनक
त्यसो त, कुनै पनि विकास निर्माणका काम शिलान्यास गर्दैमा देशको विकास भइहाल्यो भन्ने मानक आफैमा सही हुन सक्दैन । प्रधानमन्त्री ओलीले २०७५ चैत ८ गते लुम्बिनी प्रदेशमा दुई ठूला परियोजना शिलान्यास गरेका थिए ।
ठुलो तामझामका साथ शिलान्यास गरिएको बुटवल–नारायणगढ सडक स्तरोन्नति र रुपन्देहीमा बन्ने प्रदेशस्तरीय बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको काम दुई वर्ष बित्न लाग्दा पनि निराशाजनक छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतीको काम ४२ महिनामा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजना शिलान्यास भएको दुई वर्ष बित्न लाग्दा समेत अहिलेसम्म जम्मा ३ प्रतिशतमात्र काम भएको छ ।

मेडिकल कलेजसमेत फास्ट ट्रयाकमा निर्माण गर्ने घोषणा गरे पनि अझै डिपिआरको कामसमेत पूरा भएको छैन । डिपिआर प्रतिवेदन आगामी साउनमा मात्र आउने कलेजको आयोजना प्रमुख मानबहादुर घिमिरे बताउँछन् ।
यद्यपि यस्ता कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास निर्माणलाई उच्च प्राथमिकता दिएको, आफ्नो नेतृत्वको सरकार रहुञ्जेल विकास निर्माणको रफ्तार जारी रहनेजस्ता दावी गर्दै आएका छन् । उनले आफूलाई विकास प्रेमी नेताका रुपमा देखाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको भए पनि जनताका पीडा, प्रत्यक्ष सरोकारका विषयलाई भने पटक्कै ध्यान दिएको देखिँदैन ।

झापा पुगेका प्रधानमन्त्री दोभान बजार किन गएनन् ?
प्रधानमन्त्री ओली गत आइतबार, सोमबार र मंगलबार लगातार काठमाडौं बाहिरका कार्यक्रममा सहभागी भए । एक हिसाबले उनी वास बस्नका लागिमात्र काठमाडौं आएजस्तो गरी तीन दिन विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहे ।
तर गत मंगलबार झापा र मोरङका कार्यक्रममा व्यस्त रहेका प्रधानमन्त्री ओली ताप्लेजुङको दोभान बजारमा पुग्न सकेनन् । उनले झापाका दुर्गा प्रसाईँको अस्पताल उद्घाटन गरिरहँदा दोभान बजारमा दर्जनौं घरमा आगो दन्किरहेको थियो । त्यहाँका बासिन्दामा रूवाबासी चलिरहेको थियो । आगलागीमा ४९ घर नस्ट भए, लत्ता–कपडादेखि लिएर खाद्यान्न सबै जलेर नष्ट भएपछि दोभानवासी बिचल्लीमा परे । तर झापामै रहेका ओलीले ताप्लेजुङका आगलागी पीडित ती ४९ घर परिवारलाई सान्त्वना दिन, राहत सहयोगको आश्वासन दिन किन उचित ठानेनन् भन्ने प्रश्न स्वाभाविक रुपमा खडा भएको छ । जबकि उनी ताप्लेजुङ जान चाहेको भए नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न सक्थे । तर उनले ती ४९ घर पारिवारका लागि एक÷डेढ घण्टाको समय पनि छुट्याउन उचित ठानेनन् ।

ताप्लेजुङको दोभान बजार जलिरहेको समयमा प्रधानमन्त्री ओली गृहजिल्ला झापा मै रहे पनि आगलागी पीडितलाई भेट्न गएनन् । यतिमात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरे पनि प्रधानमन्त्री ओलीले सो औपचारिकता निर्वाहमा पनि चासो देखाएको पाइएन ।

जानकारहरु भन्छन्– प्रधानमन्त्री ओलीको चासो भनेकै वर्तमान सरकार विकास निर्माणको पथमा दैनिक लम्किरहेको देखाउन केन्द्रित छ । प्रधानमन्त्री ओली नेकपाभित्रको विवादका कारण एउटा गुटको नेतृत्वमा सीमित हुनु परेको यो अवस्थालाई आफ्नो अनुकुल राजनीतिक धरातल निर्माण गर्न आफूलाई विकासप्रेमी नेताका रुपमा उभ्याउन यसरी दौडधुप गर्न थालेको धेरैको टिप्पणी छ । हुन पनि ओलीले भौतिक संरचनाका उद्घाटन र शिलान्यासमा यस्तो सक्रियता यसअघि कहिल्यै देखाएका थिएनन् र उनलाई यस्ता अभियानमा सामेल हुन कसैले रोकतोक पनि गरेको थिएन ।

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले ‘पार्टीकै केही साथीहरुले आफूलाई काम गर्न नदिएको’ आरोप लगाएका थिए । नेकपा यतिबेला राजनीतिक रुपमा दुई भागमा विभाजित भएको छ । प्रधानमन्त्री ओली आफ्नो सोही आरोपलाई पुष्टि गर्ने र आगामी निर्वाचनमा आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई ‘विकास विरोधी’ देखाउने रणनीति अन्तर्गत पछिल्लो समय विकास निर्माणका योजनाहरुको शिलान्यास, उद्घाटन जस्ता कार्यक्रममा आफूलाई दैनिक व्यस्त राख्न थालेको जानकारहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप