शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगमन्त्रीलाई वायुसेवा सञ्चालक संघले बुझायो ज्ञापनपत्र

बुधबार, १९ फागुन २०७७, १६ : ०९
बुधबार, १९ फागुन २०७७

काठमाडौं । वायुसेवा सञ्चालकहरूले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरूले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।

वायुसेवा सञ्चालकहरूले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत् रुपमा प्रचलित व्यवस्थाअनुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । हेलिकप्टरहरु निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरूले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका छन् । वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योगमा अनिश्चितता आएको बताए । हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परि आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारी समेत गुम्ने सचिव सुमन पाण्डेले बताए । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उनको भनाई छ ।

ज्ञापनपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ऐन, कानुनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उनले सबैलाई बोलाएर व्यवस्थित ढंगले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्नु पहल गर्ने मन्त्री भट्टले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण/होभारिंग नियमनको परिपत्रमा हेली अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङ्बोचे र नाम्चे स्थितका ३ स्थान वाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । यस निर्णयले हेलिकप्टर संचालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत् रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप