ad
केन्द्रीय संस्करण

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

person explore access_timeफागुन १९, २०७७ chat_bubble_outline0
सांकेतिक तस्बिर

सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पुर्याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताए ।

“नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि  वडा नं ४, ५, ६ र ७ गरी चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए”, नगरप्रमुख मन्सुरले भने । स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उनको भनाइ छ । उनका अनुसार  केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरूमा भवन निर्माणको काम अन्तिम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुनेछ । 

नगरपालिकाका नौवटा वडा मध्य १, २, ३, ६ र ९ नं वडामा  पुरानै स्वास्थ्य संस्था रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ श्ययाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले राससलाई बताए । नगरकै मुटु हरिपुर नगरपालिका–२ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उपप्रमुख रेणुका काफ्लेले बताइन् । उनका अनुसार हरिपुर नगरपालिका–३ मा फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा सञ्चालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको भए पनि ठेकेदारको लापर्वाहीका कारण भवन निर्माण सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महतोले बताए ।

उनका अनुसार हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरू अन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायत सेवा सञ्चालन भइरहेको छ ।

नगरका नौवटै वडामा रहेको स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाहरूको आफ्नै भवन नभएको भए पनि अन्य सरकारी कार्यालयहरूका भवनको प्रयोग गरी सेवा दिने काम भइरहेको नगरपालिकाले जनाएको छ । आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरूको पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.