शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खानेपानीको संकट चुलिरहेका बेला सुर्खेत उपत्यका खानेपानी संस्थामा भाँडभैलो

बुधबार, १९ फागुन २०७७, १२ : २५
बुधबार, १९ फागुन २०७७

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा भाँडभैलो शुरु भएको छ । कहिले उपभोक्ता समितिबाट विज्ञप्ति सार्वजनिक हुने गरेका छन् त कहिले कर्मचारीबाट । गर्मी समय शुरु भएसँगै सुर्खेत उपत्यकामा खानेपानीको संकट चुलिरहेकै बेलामा संस्थाभित्रै आन्तरिक कलह सुरु भएको हो ।   एकातिर उपभोक्ता समितिका एकतिहाई सदस्यहरुले विशेष साधारणसभा बोलाउन माग गरेका छन् भने अर्कोतिर सँस्थामा आवद्ध कर्मचारीहरुले विगत चार महिनादेखि तलव नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । 

संस्थाका उपाध्यक्ष दिपे सार्की, सचिब चन्द्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमले मंगलबार पत्रकार सम्मेलन गर्दै विशेष साधारण सभा बोलाउन माग गरे।
चार बर्षे कार्यकाल सकिएको डेढ बर्ष पुगिसक्दा पनि सधारण सभा हुनसकेको भन्दै तत्काल साधारण सभा बोलाउन उनीहरुले माग गरेका हुन्  । 
उनीहरुले सधारणसभाको लागि संस्थाका अध्यक्षलाई पटक–पटक आग्रह गर्दा समेत व्यवास्था गरेको आरोप लगाए । 

यसअघि संस्थामा उत्पन्न विवादलाई समाधान गर्न २०७६ कार्तिक ५ गते संवाद समूहको समन्वयमा जिल्लास्थित सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेर संस्थाको कामलाई प्रभावकारी बनाउने निर्णय गरिएको थियो ।
संवाद समुहले तिन महिनाभित्र प्रदेश सरकारलाई संस्था हस्तान्तरण गर्ने निर्णय गरेपनि अहिले सम्मपनि कार्यान्यवन हुन सकिरहेको छैन । 
कूल १५४ जना सदस्य रहेको संस्थामा एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष साधारणसभा बोलाउन माग गरेमा बोलाउनुपर्ने हुन्छ ।

उनीहरुले आफुहरुसँग  ६४ जना सदस्यहरुले सही गरेकोले विशेष साधारणसभा बोलाउन माग गरिएको बताएका छन् । 
संस्थाका उपाध्यक्ष दिपे सार्कीले यसअघि भएका निर्णय कार्यान्यवयन नभएको भन्दै संस्थाका जिम्मेवार निकायबाटै संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाए । 
संस्थाका कर्मचारीहरुले संस्थाका पदाधिकारीहरुको आपसी द्वन्द्वले मंसिर महिना यता तलव नपाएको भन्दै आन्दोलनको तयारीमा छन् । 

कोषाध्यक्ष रामबहादुर गौतमले चेकमा हस्ताक्षर नगरेका कारण कर्मचारीहरुले तलव खान नपाएको आरोप कर्मचारीहरुले लगाएका छन् । 
चार महिनासम्म तलब नपाएकोले घर खर्च चलाउन गाह्रो भएको हुँदा आफूहरु आन्दोलनमा उत्रने  कर्मचारीहरुले बताएका छन् । 

खानेपानी उपभोक्ता श्रमिक ट्रेढ युनियनले मंगलबार बेलुकी प्रेस विज्ञप्ति नै निकालेर बुधबारदेखि फागुन २२ गतृे सम्म संस्थामा तालाबन्दी गरि खानेपानी सञ्चालन बाहेक अन्य सम्पुर्ण सेवा प्रवाह बन्द गर्ने जानकारी गराएको छ।  २३ गतेसम्म तलव नपाएकोखण्डमा खानेपानी सञ्चालनको काम रोकेर घर बस्न बाध्य हुने विज्ञप्तीमा जनाइएको छ । 

गएको शुक्रबार संस्थाका अध्यक्ष कुलमणी देवकोटाले एक विज्ञप्ति जारी गर्दै उपत्यकावासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा संचालन गर्ने उद्देश्यले नागरिकस्तरबाट २०५७ सालमा स्थापना भएको सेवामुलक संस्था भएको उल्लेख गर्दै संस्था संचालनका लागि लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट आवधिक निर्वाचन गराई संस्थाको स्किम र मूल उपभोक्ता समिति गठन गर्ने बैधानिक व्यवस्था रहेको बताएका थिए । 
उनले  संस्थामा रहेका केही जिम्मेवार व्यक्तिहरुले गत फाल्गुन ७ गते अपिल सार्वजनिक गर्दै आम उपभोक्ताहरु र सरोकारवाला निकायहरुमा भ्रम सृजना गर्ने कार्य गरेको समेत बताएका थिए  । 

उनले जारी गरेको विज्ञप्तिमा दैनिक कार्यालय व्यवस्थापन र सेवा संचालनका लागि कार्यालयमा कर्मचारीहरुको व्यवस्था गरिएको र खानेपानी समस्या समाधान गर्नका लागि संस्थाले दुन्दुरे खोला आयोजना, वृहत भेरी पम्पिङ्ग आयोजना, वितरण पाईपलाइन सुधार विस्तार जस्ता आयोजनाहरु स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि कार्य अगाडि बढाईरहेको कुरा पनि विज्ञप्ती मार्फत  जानकारी गराएका छन् ।

अध्यक्ष देवकोटाले संस्थाको स्किम समितिको २०७२ श्रावण २३ गते र मुल उपभोक्ता समितिको २०७२ भाद्र १७ गते निर्वाचन सम्पन्न गरि वर्तमान नेतृत्वले कार्यभार सम्हालेको र उपत्यकाको खानेपानी सेवाको स्तरवृद्दि गर्न लागिपरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा संस्थाको विधान अनुसार स्किम र मूल उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु ४ वर्षे कार्यकालका लागि चयन भएर आएकोमा, संस्थाले मिति २०७६ असोज १० गते साधारणसभा बोलाएको र उक्त साधारण सभाबाट मिति २०७६ पौष ५ गते दश वटै स्किम समितिहरुको र मिति २०७६ पौष १९ गते मूल उपभोक्ता समितिको निर्वाचन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप