बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिको सपथ ग्रहण

बुधबार, १९ फागुन २०७७, ११ : ४९
बुधबार, १९ फागुन २०७७

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहितका सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।पोखरा महानगरपालिकाले स्थापना गरेको प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सपथ गराएका हुन्।
प्रमुख जिसीबाट सपथ लिएपछि कुलपति ढकालले प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन,कवयत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायकलाई सपथ गराएका छन् । 

प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती पदमा पछि  नियुक्त गरिने महानगरले जनाएको छ । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् ।
महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले पोखरा महानगर भित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वर्द्धन गर्न प्रतिष्ठान स्थापना गरिएको बताए । उनले पोखराको कला, साहित्य, संस्कृति लगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालासँग छलफल गरेर गुरुयोजना निर्माण गर्न आग्रह गरे । 

नेपालका ७ सय ५३ स्थानीय तह मध्य प्रतिष्ठान गठन गर्ने पहिलो बनेको भन्दै प्रमुख जिसीले सुरुवाती चरणमा केही कमजोरी हुन सक्ने भन्दै त्यसलाई सच्याउँदै जाने बताए । उनले नव नियुक्त कुलपतिसहित सदस्यहरुलाई पोखरा प्रज्ञा प्रतिष्ठानलाई उदाहरणीय बनाउन आग्रह गरे । 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताइन् । 
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले विशेष गरी गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताए । 

नव नियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए । उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठान गठन पोखरा महानगरपालिकाको ऐतिहासिक कदम भएको बताए । उनले पोखराको कला, साहित्य, संगीत र संस्कृति संरक्षणमा  प्रज्ञा प्रतिष्ठान कोशेढुंगा सावित हुने बताए । 

पोखरा महानगरपालिका प्रमुख जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सिफारिस समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल, सदस्य मनकुमार श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठानको बारेमा बोलेका थिए । 
सिफारिस समितिमा वडा नम्बर ७ का अध्यक्ष बराल संयोजक, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल र विज्ञका रुपमा मनकुमार श्रेष्ठ सदस्य थिए । 

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा ढकाल कुलपति अन्य ६ जना सदस्यमा नियुक्त भएका हुन् । समितिले ११ जनाको नाम सिफारिस गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप