बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिसिटिभी फुटेजको क्लूले पत्ता लाग्यो कोटेश्वरको सहकारी ‘लुट’

बुधबार, १९ फागुन २०७७, १० : २२
बुधबार, १९ फागुन २०७७

काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगी नगर स्थित सौभाग्यशाली सहकारीका सञ्चालकले उक्त सहकारी लुटिएको भन्दै माघ २६ मा बिहान प्रहरीलाई खबर गरेका थिए । सहकारीको सेफमा राखेको १७ लाख ८५ हजार रुपैयाँ गायब थियो ।

सहकारीका सञ्चालकले दिएको प्रारम्भिक जानकारीका आधारमा प्रहरी अनुसन्धानमा जुट्यो । घटना अनुसन्धानमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको संयुक्त टोली खटिएको थियो । सहकारीकी लेखापाल सावित्री सुवेदीलाई प्रहरीले त्यही दिन नियन्त्रणमा लियो ।

सहकारीमा एकजना ऋणीले माघ २५ गते कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका फुटाइएको थिएन । सेफमा लक गरिएको पैसा नक्कली साँचो बनाएर निकालिएको थियो ।

माघ २५ मा साँझ अपत्यारिलो तरिकाले भएको लुटको ‘क्लू’ पत्ता लगाउन प्रहरीलाई समय लाग्यो । सहकारीको कार्यालय र सहयोगी नगरको सो गल्लीमा सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामेरा नभएका कारण प्रहरीका लागि अनुसन्धान चुनौतीपूर्ण थियो ।

त्यो क्लू

कार्यालय र गल्लीमा सिसिटिभी नभए पनि मुल सडकमा सिसिटिभी क्यामेरा राखिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले सो क्षेत्रको सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु गरे ।

उक्त सिसिटिभी फुटेजमा सहकारी लुटिएको दिन अफिसबाट निस्केको केही समयपछि साँझ ५ बजेतिर लेखापाल सावित्री सुवेदी फेरि कार्यालयमा गएको देखियो । अनुसन्धान अधिकृतले उनलाई सोधे– ‘कार्यालयबाट निस्किसकेपछि फेरि किन जानुभयो ?’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने, ‘शौचालय गएको उहाँको भनाइ थियो तर, हामीलाई पत्यार लागेन ।’

सिसिटिभी नियाल्दा अनुसन्धान अधिकृतका आँखा लेखापाल सावित्री सुवेदीको झोलामा अडियो । दोस्रो पटक सहकारीमा पस्दा हलुका झोला लिएर गएकी सुवेदी फर्किंदा गह्रौँ झोला लिएर निस्केको जस्तो दृश्य सिसिटिभीमा देखियो । त्यही ‘क्लू’बाट प्रहरीले सो ‘लुट’ पत्ता लगाउन सफल भएको हो । 

हार्डवेयरमा छुट्टै ५ लाख

सावित्रीका श्रीमान कपिल खड्का भुपू आर्मी हुन् । उनीहरुले सोही सहकारीबाट ऋण निकालेका थिए । माघ २५ मा कपिलले मध्यान्ह १ बजेतिर एनआइसी एसिया बैंकबाट १० लाख निकालेका थिए तर, साँझ साढे ४ तिर मात्रै सौभाग्यशाली सहकारीमा लगेर बुझाए । त्यही रकमसहित सेफमा बाँकी रहेको रकम सावित्रीले नक्कली साँचो बनाएर झिकेकी हुन् । 

सिंहदेवी ओखलढुङ्गा स्थायी घर भएका उनीहरुले चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा घर बनाउँदै छन् । कपिलले हार्डवेयरलाई तिनुपर्ने ४ लाख ५० हजारको चेक साटिएको थिएन । प्रहरी उक्त हार्डवेयरसम्म पुग्यो ।

‘सहकारी चोरी गरेर सो चेक बापतको रकमबाहेक थप ५ लाख रुपैयाँ हार्डवेयर सञ्चालकलाई राख्न दिएको थाहा भयो,’ अनुसन्धानमा संलग्न डिएसपी राजकुमार केसी भन्छन्, ‘सावित्रीका दम्पतीले सो पैसाको स्रोत खुलाउन नसकेपछि नक्कली साँचो बनाएर सहकारीबाट पैसा निकालेको स्वीकारेका छन् ।’

नक्कली साँचो

सेफमा दुईवटा चाबी लाग्छ । सहकारीका अध्यक्षलाई कोरानाभाईरस संक्रमण भएपछि दुईवटै चाबी सावित्रीको हातमा थियो । उनीहरुले योजना बनाएर त्यसबेला नै भक्तपुरमा नक्कली साँचो बनाएको अनुसन्धानबाट थाहा भएको छ ।

बित्तीय संस्थामा प्रयोग हुने सेफको साँचो बनाउन जाँदा साँचो मर्मत केन्द्रले संस्थाको पत्रबिना नै बनाएको थियो । बिना रेकर्ड साँचो बनाउँदा थप जोखिम आउने बताउँछन् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेत ।

सावित्रीको बयानका आधारमा फागुन १४ मा कपिललाई पनि प्रहरीले पक्राउ गरेको छ भने चोरीमा प्रयोग भएको स्कुटर पनि नियन्त्रणमा लिएको छ । दम्पतीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले चोरी मुद्दा चलाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप