शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२१ को सुरुवाती महिनामा पर्यटक आगमन निराशाजनक

फेब्रुअरीमा ९ हजार पर्यटकमात्रै भित्रिए
बुधबार, १९ फागुन २०७७, ०८ : ०१
बुधबार, १९ फागुन २०७७

काठमाडौं । सन् २०२१ को सुरुवाती महिनामा विदेशी पर्यटक आगमनमा ठुलो संकुचन आएको छ । त्रिभुवन विमानस्थल अध्यागमन विभाग र नेपाल पर्यटनको बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटकको आगमनमा अधिकतम ८७ दशमलब ६ प्रतिशतले कमी आएको हो ।

विभागको तथ्याङ्क अनुसार सन् २०२१ को पहिलो महिना अर्थात् जनवरीमा अधिकतम् ८ हजार विदेशी पर्यटक नेपाल भित्रिँदा फेब्रुअरीमा जम्मा ९ हजार १ सय ४६ जना पर्यटक भित्रिएका छन् ।

जबकि गत वर्षको सोही महिना अधिकतम् ७३ हजार ८ सय ७१ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डका अनुसार फेब्रुअरी महिनामा दक्षिण एसियाली मुलुकबाट जम्मा ४ हजार ९ सय ९२ जना पर्यटकमात्र नेपाल भित्रिएका छन् ।

त्यस्तै, अन्य एसियाली देशहरुबाट जम्मा ९०५ जना, युरोपेली मुलुकहरूबाट १ हजार १ सय ४२ जना, ओसियन अर्थात् सामुद्रिक मुलुकहरूबाट ४७ जना र अमेरिकन मुलुकबाट १ हजार २ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

यीबाहेक ८२५ जना पर्यटक अन्य मुलुकबाट आएको विभागको तथ्याङ्कले देखाएको छ । यद्यपि यो तथ्याङ्क हवाई मार्ग प्रयोग गरेर आउने पर्यटकहरुको मात्र हो ।

त्यसो त स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने ठूलो पर्यटन बजार भारत नै हो, जुन कोभिड–१९ पछि प्रायः ठप्प नै छ । कोरोनाको जोखिमका कारण दुवैतर्फका सरकारले सीमा क्षेत्रमा कडाइ गर्दा अहिले भारतीय पर्यटक नेपाल प्रवेश गर्न पाएका छैनन् ।

कुन देशबाट कति आए पर्यटक ?

सन् २०२१ को फेब्रुअरीमा नेपाल आउने पर्यटकको संख्यामा भारत नै अगाडि छ । भारतपछि अमेरिकी पर्यटक अधिक भित्रिएका छन् । तुलनात्मक रुपमा सबैजसो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी आएको छ । अमेरिकाबाट फेब्रुअरीमा १ हजार १ सय २० जना पर्यटक नेपाल आएका छन् । गत वर्ष सोही महिनामा अमेरिकाबाट ६ हजार २ सय ९९ जना नेपाल आएका थिए ।

तुलनात्मक रुपमा यो वर्ष गत वर्षको तुलनामा झण्डै ८३ प्रतिशतको संकुचन हो ।

यता, सबैभन्दा बढी पर्यटक आगमन हुने भारतबाट भने सो समयमा कुल ४ हजार ७ सय ६३ जना पर्यटक नेपाल आएका छन् । जुन गत वर्षको तुलनामा ६७.९ प्रतिशतले कम हो । गत वर्ष हवाई मार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकको संख्या नै १४ हजार ८ सय ४० रहेको अध्यागमन विभागले जनाएको छ ।

त्यस्तै, यो समयमा चीनबाट ७०८ जना, बेलायतबाट ५२४ जना, बंगलादेशबाट १५६ जना, जर्मनीबाट १२६ जना, फ्रान्सबाट ९१ जना, दक्षिण कोरियाबाट ७४ जना, नेदरल्याण्डबाट ७२ जना, बेल्जियमबाट ६७ जना, रसियाबाट ६३ जना, स्वीजरल्याण्डबाट ३७ जना, अस्ट्रेलियाबाट ३६ जना लगायत अन्य मुलुकहरुबाट १५–२० जनाका दरले पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।

दोषी सरकार नै !

पर्यटक आगमनको संख्यामा कमी आउनुमा भने सरकार नै मुख्य दोषी रहेको सरोकारवालाहरूले बताएका छन् । कोभिड–१९को जोखिमसँगै सरकारले व्यवस्था गरेको स्वास्थ्य सम्बन्धी अनावश्यक प्रोटोकलका कारणले पनि विदेशी पर्यटक आगमनमा कमी आएको उनीहरुको भनाइ छ ।

‘विदेशीहरुलाई स्वास्थ्य सम्बन्धी अनावश्यक प्रोटोकल अनिवार्य गर्नुनै पहिलो हाम्रो कमजोरी हो । यसले चाहेर पनि विदेशीहरु नेपाल आउँन चाहदैनन् । ५–७ दिनको भ्रमणमा अधिकतम ५ दिनको अनिवार्य होटल क्वारिन्टिनको प्रावधान कतिको व्यवहारिक होला र ?,’ ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले भने, ‘यो सरासर आत्मघाती नीति हो ।’

यस्तो नीतिले हामी आफैलाई नोक्सान गर्ने उनको भनाइ छ । पर्यटन आगमनको संख्या घट्नुले पनि यो तथ्यलाई पुष्टि गरिरहेको उनले बताए ।

अब बंगलादेश, मलेसिया, दुबईले जस्तै पर्यटकलाई खुला नगर्ने हो भने नेपालको पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी डुब्ने निश्चित जस्तै रहेको उनको भनाइ छ । उनले भने, ‘पहिलो कुरा कोभिड प्रोटोकलको नाममा विदेशी पर्यटकलाई बाध्य गरिएको अनावश्यक ५ दिने क्वारिन्टिन लगायत ७२ घण्टाको पीसीआर रिपोर्ट, ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा लगायतका प्रावधान खारेज गर्नुपर्छ । त्यसपछि जतिसक्दो छिटो उत्तर–दक्षिण पर्यटक आगमनमा खुला गर्नुपर्छ ।’

त्यसो त पर्यटन बोर्डले समेत अनावश्यक प्रावधानहरु खारेज गरी विदेशी पर्यटक आगमनमा खुला गर्न सरकारसँग माग गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनन्जय रेग्मीले मुलुकको पर्यटन व्यवसायको उत्थानका लागि सरकारले दुवैतर्फको सीमा नाका खोल्नु पर्ने र अनावश्यक झन्झटिलो प्रोटोकल हटाउनुपर्ने बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप