कैलालीमा व्यापारी हत्या: चार दिनसम्म हत्याराको पहिचान खुलेन
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृत फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे । तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना अनुसन्धान गरिरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले रातोपाटीलाई बताएका छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो ।
मृतकका परिवारले हत्यामा संलग्न पत्ता नलगाएसम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । हत्यामा संलग्नताको आशंकामा १२ जनाभन्दा बढीलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानको दायरमा ल्याइएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । डिएसपी विष्टकाअनुसार ६ जनामा केन्द्रीत रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।