प्रधानमन्त्रीज्यू ! सुरक्षामा खतरा नै छ भने अपजसको भागी नहुनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आफुपक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलामा आफ्नो सुरक्षामा खतरा रहेको बताउनु भएको छ । उहाँले आफ्नो ज्यानकै खतरा रहेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमण भए वा ज्यान नै तलमाथि भए अनौठो नमान्न भन्नुभयो ।
नेपालको राजनीतिक अवस्था केही समय पहिलादेखि नै अत्यन्त तरल रहँदै आएको छ । देश एक किसिमको भीषण शल्यक्रियाकै चरणमा पुगेको अस्वीकार गर्न सकिन्न । समवेदनशील राजनीतिक जटिलताको उच्चतम् बिन्दुमा देश पुग्नै लागेको पनि विस्मृत गर्न सकिन्न ।
गत निर्वाचनमा झण्डै दुई तिहाईको बहुमत पाएर सत्तासीन भएको कम्युनिस्ट दलभित्रबाट उठेको चिया कपको तूफानले भीषण आँधीको स्वरुप धारण गरी देशमा यो जटिल परिस्थिति निर्माण भएको विश्लेषण गर्न कुनै किसिमको योग्यता अथवा डिग्री चाहिन्न । दलको विग्रह देशकै संक्रमणअवस्थामा रूपान्तरित भएको छ । परिवर्तन प्रकृतिको शास्वत नियम हो, यसको आफ्नै गति, मति र प्रक्रिया हुन्छ । प्रत्येक आरोहणको अन्तिम परिणति अवतरण नै हुन्छ । सगरमाथा आरोहणमा गएको व्यक्तिका आरोहण पश्चात् जुनसुकै दिशामा उठेका पाइलाले उसलाई अवतरणकै मार्गमा ल्याउँछ । ठिक यसैगरी देशभित्रको संक्रमण अवस्था पनि ग्राफको उच्चतम बिन्दुमा पुगे पश्चात् क्रमशः उठानबाट बैठानतर्फ उन्मुख हुने गणितीय नियमप्रति कसैको विमति नहोला ।
नेकपा नफुटेसम्म निकासको कुनै बाटो निस्किन सक्दैन । नेकपा नफुटेसम्म सत्ताबाट प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन हुने सम्भावना पनि अत्यन्त क्षीण छ । नेकपाको दलीय दलदलमा एक आपसमा असन्तुष्ट रहेका दुवै पक्षमध्ये ओलीलाई अपदस्थ गर्न इच्छुक प्रचण्ड–माधव पक्षलाई कुनै ठूलै सञ्जीवनी हात नलागे यस पक्षले ब्यूँतिन गइरहेको संसदमा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सम्भावनाका पखेटा पनि वेगरहित–स्खलित हुँदै गइरहेका छन् ।
आज देश जुन अवस्थाबाट गुज्रिरहेको छ, केही समयभित्रै यसको समाधानको मानचित्र फेला पर्नेमा पनि कसैको विमति नहोला । कम्युनिस्ट दलभित्र उठेको चिया कपको तूफान कसरी साम्य हुन्छ, कुन दिशा र कुन स्वरूपले शान्त हुन्छ, त्यो नेकपाको नितान्त निजी र जातीय कुरा हो । जुनसुकै समीकरणले जुनसुकै पक्षको हक संवर्द्धित हुँदै यो छद्म तूफान बैठानमा पुगोस्, यसको नेकपाबाहेक अन्य कसैलाई चासो हुँदैन अथवा हुनु हुँदैन । अन्यका मनमा यसबारे चासो जगाउने काम नेकपाकै दुवै पक्षबाट भइरहेको कटु यथार्थ नजरअन्दाज गर्न सकिँदैन ।
नेपाली काँग्रेसका जिम्मेवार एक नेताले संसदमा दल विभाजन सम्बन्धी विधेयक आए समर्थन गर्ने आशययुक्त टिप्पणी गरेको समाचार प्रकाशमा आइसकेको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन, तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धक बनाइराख्न मिल्दैन’ ती नेतालाई उद्धृत गर्दै एउटा दैनिक अखबारले छर्लङ्ग हुने भाषामै नेपाली काँग्रेसको चाहना सार्वजनिक गरेको छ ।
सबैलाई थाहा छ, नेकपा नफुटेसम्म निकासको कुनै बाटो निस्किन सक्दैन । नेकपा नफुटेसम्म सत्ताबाट प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन हुने सम्भावना पनि अत्यन्त क्षीण छ । नेकपाको दलीय दलदलमा एक आपसमा असन्तुष्ट रहेका दुवै पक्षमध्ये ओलीलाई अपदस्थ गर्न इच्छुक प्रचण्ड–माधव पक्षलाई कुनै ठूलै सञ्जीवनी हात नलागे यस पक्षले ब्यूँतिन गइरहेको संसदमा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सम्भावनाका पखेटा पनि वेगरहित–स्खलित हुँदै गइरहेका छन् । यस पक्षलाई थाहा छ, अविश्वास प्रस्ताव निरस्त भएको खण्डमा ओलीविरुद्ध अर्को निर्वाचनसम्म यस्तो गतिविधि दोहो¥याउन सकिन्न र, कथम् कदाचित् प्रस्ताव पास भएको खण्डमा पनि नयाँ सरकार बन्न सकेन भने ओली कामचलाउ प्रधानमन्त्रीकै हैसियतले अर्को निर्वाचनसम्म सत्तासीन भइरहन सक्छन् । माधव नेपालभन्दा बढी यस कुराको अनुभव अरु कोसँग नै होला ? उहाँको पालामा ओली र प्रचण्डले यस्तो प्रयास गर्न खोज्नुभएको थियो । समयले कोल्टे फेर्छ भनेको यही हो, अहिले प्रचण्डजीले माधव नेपालको साथ लिई अविश्वास प्रस्ताव ल्याएको खण्डमा ओलीलाई त्यही सुअवसर प्राप्त हुने ‘हिस्ट्री रिपीट इटसेल्फ’ प्रमाणित हुन के बेर ?
जसपा होस् अथवा नेपाली काँग्रेस, दुवै दल सत्ताका लागि लालायित नभएका होइनन् । यी दुवै दललाई नेकपाको विवाद कायम नै रहेर यथाशक्य चाँडै चुनावमा जाने हतारो पनि छ । जति छिटै निर्वाचन हुन्छ, त्यसको प्रत्यक्ष लाभ यी दुवैलाई हुने सम्भावना पनि राजनीतिका पण्डितहरूले ठम्याइरहेका छन् । त्यो चुनाव चाहे अविश्वास प्रस्ताव फेल भएर बहुमतकै प्रधानमन्त्री ओलीले गराउन् अथवा प्रस्ताव पास भएर कार्यवाहक बनेका ओलीले गराउन्, यी दुवै दललाई यसबारे खासै चासो छैन । यी दुवैलाई चाँडोभन्दा चाँडो निर्वाचन चाहिएको छ ।
नेकपाका दुवै पक्ष ‘विन विन’ र ‘लस्ट लस्ट’ कै संघारमा छन् । दुवै पक्षका अहिलेसम्मका अभिव्यक्ति र गतिविधिले एकता हुन सक्ने कुनै लक्षण देखिएको छैन । दल विभाजित हुने सारा प्रबन्ध जुटिसकेकै अवस्था छ । नेकपाभित्रको आन्तरिक कलह कुन रूपले साम्य हुन्छ, तत्काल हुन्छ वा हुन्न, यसबारे कुनै भविष्यवाणी गर्न सकिन्न । तर सोमबार पोखरामा प्रधानमन्त्री ओलीले संकेत गरेको सम्भावनालाई भने खारिज गर्न सकिन्न, खारिज गर्नु हुन्न ।
प्रधानमन्त्री ओलीमाथि मात्रै यस्ता प्रयास हुन सक्छन्, प्रधानमन्त्रीमात्रै तारो बन्न सक्छन् भन्ने होइन । कुनै पनि शीर्ष नेतृत्वगण विरुद्ध यस्तो दुर्घटना घटित हुन सक्छ । कुनै पनि शीर्षगणमाथि भएको षड्यन्त्रमूलक साङ्घातिक आक्रमणले देशकै दिशा अवरुद्ध अथवा कुमार्गमा जाने सम्भावना रहन्छ । यस्ता गतिविधि देशभित्रबाट मात्रै होइन, विदेशबाट पनि सञ्चालित हुने सम्भावनालाई कदापि हलुका रूपमा लिनु हुन्न ।
राजनीति र यसमा संलग्न प्राणी वर्ग भावशून्य, निष्ठुर र निर्मोही हुन्छन् । यस मामलामा उनीहरु साच्चै नै भागवत गीताका सच्चा अनुयायी हुन्छन् । व्यक्ति हत्याबाट समाधान खोज्ने प्रयास पहिला पनि नभएका होइनन् र पुनः हुन सक्दैनन् भन्ने ग्यारेन्टी कसैले लिन सक्दैन ।
अहिले केपीसँग असन्तुष्ट रहेको पक्षले यसलाई उनको राजनीतिक दाउपेच, सहानुभूति बटुल्ने हतियारमात्र भएको सम्झिने भूल नगरोस् । असन्तुष्ट पक्षमात्र होइन, सबै दलले प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
प्रधानमन्त्री ओलीमाथि मात्रै यस्ता प्रयास हुन सक्छन्, प्रधानमन्त्रीमात्रै तारो बन्न सक्छन् भन्ने होइन । कुनै पनि शीर्ष नेतृत्वगण विरुद्ध यस्तो दुर्घटना घटित हुन सक्छ । कुनै पनि शीर्षगणमाथि भएको षड्यन्त्रमूलक साङ्घातिक आक्रमणले देशकै दिशा अवरुद्ध अथवा कुमार्गमा जाने सम्भावना रहन्छ । यस्ता गतिविधि देशभित्रबाट मात्रै होइन, विदेशबाट पनि सञ्चालित हुने सम्भावनालाई कदापि हलुका रूपमा लिनु हुन्न ।
केही समय पहिला ओली सरकारले शीर्षगणका सुरक्षा प्रणालीमा कटौती गरेको थियो । अब प्रधानमन्त्री ओलीले बुझ्नुपर्ने आवश्यकता छ, उनलाई यो परामर्श कताबाट प्राप्त भएको थियो ? राजनीतिमा षड्यन्त्रकारीले एउटा पाशा फालेर सिकार अर्कै गर्ने नौलो कुरा होइन । षड्यन्त्रकारीले अरुलाई बुनेको जालमा केपी ओली स्वयं फस्दैनन् भन्ने विश्वास अथवा हठधर्मिता देखाउनु पनि फगत मूर्खता हुन्छ ।
प्रधानमन्त्रीज्यू ! यदि तपाईले आफूमाथि हुन सक्ने आक्रमणको गन्ध पाउनु भएको छ भने मान्नुस्, निश्चित पनि यो खतरा अन्य राजनीतिक दलका नेताज्यूहरुलाई पनि छ । सबैको सुरक्षा गर्ने गहन जिम्मेवारी तपाईंकै हो । अबिलम्ब सबै नेतागणको सुरक्षा चक्र बलियो बनाउन निर्देशन दिनुस्, अन्यथा कुनै पनि किसिमको भवितव्य घटित हुन गएमा त्यसको उत्तरदायित्व तपाईंले नै लिनुपर्ने हुन्छ किनकी सुरक्षा कटौती गर्ने निर्णय तपाईंले नै गर्नु भएको हो । अपजसको भागी नहुनुस्, अविलम्ब सबै नेतालाई सुरक्षा दिने व्यवस्था मिलाउनुस् ।
नेपालका सबै सुरक्षा एजेन्सीले ‘हाई अलर्ट’मा रहेर काम गर्नुपर्ने देखियो । सबै एजेन्सीले आपसी तालमेल गरेर निशाना हुन सक्ने सबै महत्त्वपूर्ण व्यक्तिको नामावली तयार गरी भरपर्दो र विश्वसनीय सुरक्षा दिने वातावरण निर्माण गर्ने दिशामा एक सेकेण्डको पनि ढिला सुस्ती नगरियोस् ।
अग्रिम सूचना पाउँदा पनि सुरक्षा एजेन्सीले दुर्घटना रोक्न सकेनन् भने यो अति नै दुर्भाग्यजनक हुनेछ । मलाई विश्वास छ, नेपालका सबै सुरक्षा एजेन्सी सबल र सक्षम छन् । उनीहरुले स्वतः संज्ञान लिएपछि मुलुकले यस्तो कुनै दुर्घटना व्यहोर्नु पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक