शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तङ्ग्रिँदै पोखराको पर्यटन, आन्तरिक पर्यटकले उत्साह बढ्यो

मङ्गलबार, १८ फागुन २०७७, ११ : ३२
मङ्गलबार, १८ फागुन २०७७

पोखरा । कोरोना सङ्क्रमण (कोभिड–१९) का कारण लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसाय तङ्ग्रिन थालेको छ । चीनको उहान प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि गत चैत ११ देखि लामो समयसम्म जारी गरिएको बन्दाबन्दीका कारण नाजुक अवस्थामा पुगेको पोखराको पर्यटन व्यवसायले बिस्तारै गति लिन थालेको छ ।

२०७२ को महाभूकम्पसँगै बीचमा भारतले लगाएको नाकाबन्दीले लामो समय पछि तङ्ग्रिँदै गरेको पर्यटन क्षेत्र अकस्मात फैलिएको कोभिडका कारण ठप्प बन्यो । बन्दाबन्दीपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्यप्रायः बने । पर्यटकीय स्तरका होटल तथा रेस्टुरेन्ट बन्दै भए । लामो समयको बन्दाबन्दी खुलेसँगै विस्तारै व्यावसायिक वाताबरण बन्न थाल्यो । होटल तथा रेस्टुरेन्ट खुल्दै गए । 

पोखराका पर्यटन व्यवसायीले हरेस् खाएनन् । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन पोखरासहित गण्डकी क्षेत्र पर्यटकका लागि खुला रहेको सन्देश दिन पर्यटन सम्बद्ध सङ्घ संस्थासहित नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा देशका विभिन्न स्थानमा प्रवर्द्धनात्मक भ्रमणका कार्यक्रमसमेत गरे । 

छुटको बहार जगाएको आस
सधैँभरी यस्तै अवस्था रहँदैन भन्दै अविचलित रूपमा पर्यटन क्षेत्रका होटल, प्याराग्लाइडिङ लगायतका व्यवसायीले विभिन्न छुटका प्याकेज बनाएर व्यावसायिक वातावरण बनाउनेतर्फ लागे । प्याराग्लाइडिङ उडानमा झण्डै ५० प्रतिशत छुटको प्याकेज ल्याएपछि पोखरामा प्याराग्लाइडिङ गर्नेको भीड नै लाग्यो । दैनिक ५/६ सयको सङ्ख्यामा आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गर्न थाले । होटल, रेस्टुरेन्ट लगायतका व्यवसायमा पनि विस्तारै चहलपहल बढ्न थाल्यो ।

रेस्टुरेन्ट एन्ड वार एसोसिएसन नेपाल (रवान)ले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको ‘सडक महोत्सव’ मा आन्तरिक पर्यटकको घुइँचो लाग्यो । तीन दिनसम्म आयोजना गरेको महोत्सवमा पोखराका होटल भरिभराउ भए । त्यसपछि पोखरा क्षेत्रमा बाह्य पर्यटकको आगमन नगन्य भए पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । 

पोखरा र आसपासका पर्यटकीय स्थलमा पनि आन्तरिक पर्यटक बढेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द अवस्थामा विताउन बाध्य भएका पर्यटक त्रास कम भएपछि घुमफिर र मनोरञ्जनका लागि पोखरा आउन थालेका छन् । 

 

लामो समयसम्म जारी बन्दाबन्दी खुला भएपछि पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्न विभिन्न ठाउँमा प्रवर्द्धनात्मक भ्रमण गरिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशिराज भण्डारीले बताए ।

‘आन्तरिक पर्यटक प्रवद्र्धन गर्नका लागि हामीले पहिलो चरणमा पर्यटन सम्बद्ध सङ्घ संस्थाको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम गरिसकेका छौँ’ उनले भने । ‘प्रवर्द्धनात्मक भ्रमणले पोखरासहित गण्डकी प्रदेशको पर्यटनलाई चलायमान बनाउन सहयोग पु¥याएको छ ।’ 

उनले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न आगामी दिनमा समेत विभिन्न प्रचारात्मक कार्यक्रम गर्ने बताए । बन्दाबन्दी हटाइएपछि क्रमशः आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको विगत २९ वर्षदेखि लेक साइडमा शिखर होटल सञ्चालन गर्दै आएका व्यवसायी गोविन्द शर्मा बताउँछन् ।

कोरोना सङ्क्रमणले ६, ७ महिनासम्म ठप्प भएको पर्यटन व्यवसायमा क्रमशः सुधार हँुदै गएको उनले बताए । पछिल्लो समय नेपालीहरुमा विकास भएको घुमघाम गर्ने संस्कृतिका कारण आन्तरिक पर्यटन क्रमशः चलायमान हुँदै गएको उनको ठम्याइ छ ।

छिमेकी देशसँगका सीमानाका खोल्न आग्रह
सरकारले बन्दाबन्दी खुलाएको लामो समय वितिसक्दा समेत अन्तर्राष्ट्रिय उडान र छिमेकी देशसँगको सीमानाका नखोलेका कारण बाह्य पर्यटक आगमन रोकिएको व्यवसायी शर्माले बताए । व्यवसायी शर्माले सरकारलाई तत्कालै अन्तर्राष्ट्रिय उडान र छिमेकी देशसँगको सीमा नाका खोलेर पर्यटकीय गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

कोभिडले लामो समयसम्म विश्वलाई नै तहसनहस बनाए पनि पछिल्लो समय भने आन्तरिक पर्यटक आगमन सुधार भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष विकल तुलाचनले बताउँछन् ।
‘कोभिड सङ्क्रमणपछिको लामो समय शून्यप्रायः भएको पर्यटन व्यवसाय पछिल्लो समयमा भने केही सुधार भएको छ । ‘बन्दाबन्दी खुलेको लामो समयसम्म घरबाट बाहिर निस्कनसमेत डराएका सर्वसाधारण नागरिक अब क्रमशः घुमफिरमा निस्कने गरेका छन्’ उनले भने । ‘तर व्यवसायीलाई सहज हुनेगरी पर्यटक आगमन हुन सकेको छैन । अब विस्तारै पर्यटक गतिविधि चलायमान हुने आश व्यवसायीमा बढेको छ ।’

उनले अन्तर्राष्ट्रिय उडान र छिमेकी मुलुकसँगका सीमा नाका खुलाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न सरकारलाई आग्रह गरे । तुलाचनले छिमेकी देश भारत र चीनका पर्यटक घुमघाममा विशेष रुचि राख्ने भएकाले लामो समय सरकारले सीमा नाका नखोल्दा पर्यटन क्षेत्रमा असर परेको बताए ।

उनले सरकारले प्रायजसो क्षेत्र खुला गरेर आमसभा, सम्मेलन जस्ता भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न दिएपछि छिमेकी देशका सीमानाका र अन्तर्राष्ट्रिय उडान तत्कालै खुला गर्नुपर्ने बताए । 
विश्वभर फैलिएको कोभिड सङ्क्रमणका कारण लामो समयसम्म पर्यटक आगमन शून्य भएको अवस्थामा आन्तरिक पर्यटकले केही राहत मिलेको तुलाचनले बताउँछन् । नेपालीहरूको बढ्दो घुम्ने संस्कृति र खर्च गर्ने प्रवृत्तिले आन्तरिक पर्यटक चलायमान भएकाले थोरै भए पनि व्यवसायमा राहत मिलेको उनले बताए । 

कोरोना सङ्क्रमणले लामो समयसम्म बन्दाबन्दी कायम रहेर आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि धेरै व्यवसायी व्यवसाय छाडेर पलायन भएको उनले बताए । बिस्तारै आन्तरिक पर्यटकको आगमनले थला परेको व्यवसायले गति लिन थालेको उनी बताउँछन् । 

विशेषगरी पोखराको पर्यटकीय चहलपहल हुने समय असोज, कात्तिक, मङ्सिर, फागुन, चैत र वैशाख महिना रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । विगतका वर्षहरुमा यस समयमा पोखरामा रहेका पर्यटकीय स्थलमा पर्यटकको घुइँचो नै लाग्ने गथ्र्यो ।

कात्तिक र मङ्सिर महिनामा दसैँ तिहार जस्ता महत्त्वपूर्ण चाडपर्व पर्ने भएका कारण लामो समयसम्म कार्यालय बन्द रहने हुँदा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गथ्र्यो । फागुन, चैत, वैशाखमा स्कुल र कलेजको समेत शैक्षिक सत्र सुरु हुने समय भएका कारण लामो बिदा हुने भएकाले शैक्षिक भ्रमण तथा पारिवारिक घुमफिर गर्नेको आगमन हुने गर्छ । 

आन्तरिक पर्यटकले राहत
पछिल्लो समयमा देशका विभिन्न ठाउँबाट शैक्षिक संस्था, वित्तीय संस्था लगायतको पोखरा भ्रमण बढेपछि आन्तरिक पर्यटक बढेको छ । दसैँ, तिहार र छठ पर्वपछि पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तुलाचनले बताए । सरकारले औपचारिक रूपमा छिमेकी मुलुकसँगका सीमा नाका नखोले पनि तेस्रो मुलक र भारतका पर्यटकसमेत फाट्टफुट्ट आएको उनले बताए । 

विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्षित गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् ।

नेपालमा पछिल्लो समयमा विकास भएका घुम्ने संस्कृति र खर्च गर्ने प्रवृत्तिले लामो समयसम्म बाह्य पर्यटकको आगमन ठप्प हुँदासमेत पोखराको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले केही हदसम्म राहत पु¥याएको पर्यटन व्यवसायी भोजराज शर्मा बताउँछन् । सरकारले बन्दाबन्दी खोलेपछि क्रमशः आन्तरिक पर्यटकहरुको वृद्धि भएसँगै व्यवसायीले केही राहतको महसुस गरेको उनले बताए । ‘आन्तरिक पर्यटकको आगमनमा क्रमश वृद्धि भएपछि थोरै भए पनि व्यवसायीले राहतको महसुस गरेका छन्’ उनले भने । ‘यदि बाह्य पर्यटक जस्तै आन्तरिक पर्यटक पनि ठप्प भएको भए धेरै व्यवसायी पलायन भइसक्ने थिए ।’ उनले आन्तरिक पर्यटकका कारण धेरै व्यवसायी पलायन हुनबाट रोकिएको बताए ।

पर्यटकको रोजाइ साहसिक पर्यटन र पदयात्रा 
पोखरा भित्रिने अधिकांश पर्यटकको रोजाइ आकर्षण र साहसिक पर्यटन तथा दृश्यावलोकनका लागि हुने गरेको सम्बद्ध व्यवसायीको भनाइ रहेको छ । यहाँ पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी पर्यटक आउने गर्छन् । पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा विश्वमै चर्चित अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ । 

पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेन्ट र घरबास (होमस्टे)मा बस्नेहरुको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको बताइन्छ । पोखराका काहुडाँडा, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक र फाटफुट रूपमा जान थालेको नेपाल पर्वतारोहण सङ्घ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले बताए । ‘बन्दाबन्दीले लामो समय ठप्प भएको पदयात्रा माघबाट खुलेपछि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ,’ उनले भने । ‘छिटफुट रूपमा आन्तरिक र भारतीय पर्यटक पदयात्रामा जानेक्रम बढेको छ ।’

अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीशहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीशहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् । यसको प्रवद्र्धन पर्यटन व्यवसायी, ट्रेकिङ गाइड र ट्रेकिङ व्यवसायीले गर्दै आएका छन् ।

त्यस्तै अर्को पदमार्गका रूपमा रहेको पोखरा हुँदै वीरेठाँटी, घान्द्रुक, घोरपानी हुँदै जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कने गर्छन् । पछिल्लो समयमा पदयात्रा, दृश्यावलोकन एवं साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको सङ्ख्या बढ्न थालेसँगै पर्यटन व्यवसायमा उत्साह थपिएको छ । 

धमाधम बन्दै पर्यटन पूर्वाधार 
यस क्षेत्रमा पछिल्लो समय पर्यटन क्षेत्रलाई लक्षित गर्दै ठूलाठूला स्तरीय होटल र पर्यटन पूर्वाधारहरू निर्माणले गति लिएको छ । राष्ट्रिय महत्त्वको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र रूपमा अगाडि बढेको छ । बन्दाबन्दीमा समेत नियमित रूपमा भौतिक निर्माणको काम गरिएको विमानस्थलको करिब ७० प्रतिशत निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

त्यसैगरी पोखराको फेवाताल किनारदेखि सराङ्कोटसम्म निर्माणाधीन केबलकार अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दीले जापानबाट प्राविधिक आउन रोकिएर निर्माणमा ढिलाइ भएको केबलकार २ महिना पहिले प्राविधिक आएपछि गोेन्डाला (डिब्बा) जाडानको काम तीव्र गतिमा अगाडि बढेको छ । केबलकार आगामी वैशाखभित्र सञ्चालमा आउने बताइएको छ । त्यसैगरी पोखराको रातोपैह्रोमा बन्जिजम्प अन्तिम चरणमा पुगेको छ । यसको सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने व्यवसायीको ठम्याइ छ । त्यस्तै पोखराबाट झण्डै १० किलो मिटर टाढा पुप्दीकोटमा समेत नयाँ पर्यटकीय गन्तव्य थपिन लागेको छ । त्यहाँ महादेवको विशाल मूर्ति र अन्य भौतिक निर्माणको काम द्रुतगतिमा अगाडि बढेको छ । दुई वर्ष पहिलेदेखि निर्माण थालिएको सो स्थानमा हाल महादेव शिवको विशाल मूर्ति जडानको काम सम्पन्न भएको छ । विशाल मूर्ति र भौतिक पूर्वाधारको कार्य चलिरहेको अवस्थामा अहिले दैनिक रूपमा सयौँ पर्यटक पुग्न थालेको स्थानीय गुरुदत्त बरालले बताए ।  

डाँडा चढ्दै पर्यटन
पर्यटकीय नगरी पोखरामा सञ्चालित होटल तथा रिसोर्टहरूमा अहिलेसम्म ९० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको छ । पोखरामा स्तरीय तारे होटलको अभाव महसुस भइरहेका बेलामा ठूला व्यावसायिक घरानाले समेत लगानी गरिरहेका छन् । 

सराङकोटमा कर्ण शाक्यको हिमालय फ्रन्ट रिसोर्ट, जलमाजल, पुम्दीभुम्दीमा दी प्याभिलियन हिमालयज रिसोर्ट, रूपाकोट रिसोर्टलगायत सञ्चालनमा आएका छन् । हिमालय फ्रन्ट रिसोर्ट, दी प्याभिलियन हिमालयज र रूपाकोट रिसोर्ट खर्चालु पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । यस वर्ष करिब एक दर्जनभन्दा बढी निर्माणाधीन अवस्थमा रहेका होटल सञ्चालनमा आउने छन् । 

पछिल्लो समय पोखरा भ्याली बाहिर पनि होटलहरू निर्माण गर्ने क्रम बढेको छ । पोखरा भ्यालीमा पर्याप्त जग्गाको अभाव र महँगो भएका कारण नयाँ लगानीकर्ताको आकर्षण भ्यालीका डाँडाकाँडातिर देखिएको छ । डाँडाकाँडा दृश्यावलोकनका लागि उत्तम हुने हुँदा पर्यटकसमेत त्यस्ता ठाउँमा बस्न रुचाउँछन् । सराङकोट डाँडामा दुईवटा तारे होटल बनिसकेका छन् । केही निर्माणको चरणमा छन् ।
त्यसैगरी पोखरासँग नजिकरहेको मट्टीखानमा समेत युवा व्यवसायीहरूको लगानीमा केही समय पहिले रिसोर्ट सञ्चालनमा आइसकेको छ । 

अहिले पोखरामा ४ सय पर्यटक स्तरीय होटलहरू सञ्चालनमा रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरत पराजुलीले बताए । यी होटलमा करिब ९ हजार वटा रुम छन् । अहिलेसम्म यहाँका होटलमा २० हजार पाहुना अटाउन सक्ने क्षमता रहेको अध्यक्ष पराजुलीले बताए ।

पोखराबाट मनोरम हिमशृङखला देख्न पाइनुको साथै फेवाताल, बेगनास ताल, रूपातालसहितका रामसारमा समेत सूचीकृत नौवटै ताल यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।
सराङकोट, महेन्द्र गुफा, चमेरे गुफा, पातले छाँगो, विन्दावासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा, सेती नदीका गल्छी, विश्व शान्ति स्तूपा आदि यहाँका यहाँका आकर्षक पर्यटकीय स्थल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप