शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान चलाउने

सोमबार, १७ फागुन २०७७, १९ : ४०
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले मेक इन नेपाल–स्वदेशी अभियान चलाउने भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ परिसंघले मेक इन नेपाल–स्वदेशी अभियानलाई प्राथमिकताका साथ अगाडी बढाउने भएको हो । 

सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेट गरी मेक इन नेपाल–स्वदेशी अभियान बारे जानकारी गराएको छ । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको जानकारी दिए । 

यस अभियानमा नेपाल सरकारको समेत साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने उनले धारणा व्यक्त गरे ।  यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

साथै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको मन्त्री भट्टराईलाई जानकारी दिए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने लक्ष्य रहेको बताए ।

सो अवसरमा उद्योगमन्त्री लेखराज भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए ।  स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप