शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको फैसला अवसरवादीलाई सच्चिएर पार्टीमा एकताबद्ध हुने अवसर : गृहमन्त्री थापा

सोमबार, १७ फागुन २०७७, १९ : १६
सोमबार, १७ फागुन २०७७

पोखरा । गृहमन्त्री रामबहादुर थापा (बादलले) अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिएर पार्टीमा एकताबद्ध हुने अवसर दिएको बताएका छन् । 

सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अदालतको फैसला सरकारविरुद्ध भएपनि आफ्नै पार्टीका अध्यक्ष विरुद्ध लागेका अवसरवादीहरुलाई पार्टीमा फर्केर एकताबद्ध हुने अवसर मिलेको बताएका हुन् । 

‘अदालतको फैसलाको सरकारले सम्मान गर्छ । तर, यो स्थायित्वको पक्षमा छैन । फैसलाले मुलुकलाई अस्थिरतातर्फ धकेलेको छ;’ उनले भने, ‘फैसलाले आफ्नै पार्टीका प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लागेर सरकार ढाल्ने अवसरवादीहरुलाई पार्टीमा फर्केर एकताबद्ध हुने अवसर दिएको छ ।’

गृहमन्त्री थापाले नेकपाका जिम्मेवार नेताहरुबाटै प्रधानमन्त्रीको राजीनामा माग्ने र १९ बुँदे अभियोग पत्र दर्ता गर्ने जस्ता गलत कार्य गरेकाले नै यो अवस्था आएको दावी गरे ।

उनले जनमत विपरित प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री विरुद्धका हर्कत गरेको आरोप लगाए । प्रचण्ड–नेपाल पक्ष र अन्य देशी विदेशी शक्तिलाई खुशी पार्न लागिपरेको उनले आरोप लगाए । आफूलाइ कम्युनिष्ट भन्न रुचाउनेहरुले काँग्रेससँग मिलेर विदेशीलाई कम्फर्टेबल​ हुने गरी सरकार बनाउने भने भनेर हिँडेको भन्दै उनले प्रचण्डप्रति कटाक्ष गरेका थिए ।

गृहमन्त्री थापाले अबको संघर्ष राष्ट्रवादी शक्ति र राष्ट्रघातीहरु बीचको भएको बताए । उनले सही विचारले क्रान्तिकारी परिवर्तन हुने बताउँदै गलत विचारले पश्चगामी दिशामा रुपान्तरण गर्ने बताए । 

उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई असफल बनाउन देशी–विदेशी शक्तिहरु लागि परेको आरोप लगाए । 

गृहमन्त्री थापाले जनताको विकास र समृद्धिको चाहनालाई ओली नेतृत्वको सरकारले पुरा गर्ने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप