बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ : प्रचण्ड

सोमबार, १७ फागुन २०७७, १६ : ३८
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । 

सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डको दावी छ । 
उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।  

उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गरेर नै दुई ठुला कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्दै पार्टी एकता गरेपनि ओलीका कारण त्यो दिशामा धक्का लागेको  बताए । उनले विचार र राजनीतिका कार्यक्रमका आधारमा नै गठबन्धन हुदै एकता गरिएपनि ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको दावी गरे । 

‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदोरहेछ । सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो’, प्रचण्डले भने,‘यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन । उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनुभयो’प्रचण्डको भनाइ छ । 

‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ ? राजीनामा दिनु त कता हो कता ? उल्टै उहाँ आफै पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ’ प्रचण्डले ओलीको कटाक्ष गरे । उनले छिटै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप