बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल समूहका सांसददेखि केन्द्रीय सदस्यसम्मलाई हटाइदिने ओलीको चेतावनी

सोमबार, १७ फागुन २०७७, १५ : १४
सोमबार, १७ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने ओलीको चेतावनी छ । उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए ।

उनले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी गरे । तर एकीकरण गरिसक्ने बित्तिकै उनीहरुले आफ्नो धन्दा सुरु गरेका ओलीको आरोप छ ।  पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको भन्दै आक्रोश पोखे ।

ओलीले आफूहरु सही बाटो हिँडेको पनि बताएका छन् । ओलीले आन्दोलनमा उतारचढाव हुने भन्दै साना मसिना कुरामा नअल्झिई आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए ।

सोमबार पोखरामा आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गरे । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो?,’ ओलीले प्रश्न गर्दै भने, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको । तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’

प्रचण्ड–नेपाल समूहले कारबाहीको जेजति ‘तमासा’ गरेपनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रुपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौति दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप