बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले ‘कोभिशिल्ड’ छाडेर ‘कोभ्याक्सिन’ किन रोजे ?

सोमबार, १७ फागुन २०७७, १२ : २५
सोमबार, १७ फागुन २०७७

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा कोरोनाविरुद्धको खोपको पहिलो डोज लिए ।

भारतमा कोरोनाविरुद्ध दुईवटा खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ । प्रयोगका लागि अनुमति पाएका ‘कोभिशिल्ड’ र ‘कोभ्याक्सिन’मध्ये मोदीले ‘कोभ्याक्सिन’ खोप लगाएका हुन् ।

कोभिशिल्ड खोपलाई अक्सफोर्ड युनभर्सिटी र एस्ट्राजेनेका रिसर्चर्सले उत्पादन गरेका हुन् भने कोभ्याक्सिनलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र भारत बायोटेकले उत्पादन गरेका हुन् ।

यी दुई खोपमध्ये मोदीले कोभ्याक्सिन नै किन रोजे भन्नेबारे स्वाभाविक रुपमा प्रश्न उठेको छ ।

भारतमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएपछि विपक्षी दलहरुले मोदी तथा सरकारका मन्त्रीहरुले किन खोप लगाइरहेका छैनन् भन्ने प्रश्न गर्दै खोपको विश्वसनीयतामाथि आशंका गरेका थिए । काँग्रेस नेता मनिष तिवारीले खोप विश्वसनीय हो भने भारतीय जनता पार्टीका नेताहरुले किन लगाइरहेका छैनन् भन्ने प्रश्नसमेत गरेका थिए ।

काँग्रेस प्रवक्ता रणदीप सुरजेवालाले त विभिन्न राष्ट्रप्रमुखहरुको उदाहरण दिँदै भारतमा पनि प्रधानमन्त्री मोदीले खोप लगाएर उदाहरण प्रस्तुत गर्नुपर्ने तर्क गरेका थिए ।

काँग्रेसका लोकसभा सदस्य शशी थरुरले कोभ्याक्सिनमाथि नै प्रश्न उठाएका थिए । सरकारले विचार नै नगरी कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको उनको भनाइ थियो ।

समाजवादी पार्टीका अध्यक्ष तथा उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले कोरोनाविरुद्धको खोपलाई ‘बीजेपी भ्याक्सिन’ संज्ञा दिएका थिए । उनले उक्त खोपमाथि आफूलाई विश्वास नभएको टिप्पणीसमेत गरेका थिए ।

यिनै परिस्थितिमा मोदीले सोमबार कोरोनाविरुद्ध खोप लगाएका हुन् । उनले स्वदेशमा निर्मित खोपमाथि धेरैले प्रश्न उठाएको अवस्थामा सोही खोप लगाएर विपक्षीहरुको मुख बन्द गराएको बताइन्छ ।

भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ । ७० वर्षीय मोदीले आफ्नो उमेरसमूहको पालो आएका कारण रोलक्रममै रहेर आफूले खोप लगाएको सन्देश पनि दिएका छन् । कोभ्याक्सिन खोप लगाउन कयौं स्वास्थ्यकर्मीले अस्वीकार गरेको समाचार प्रकाशमा आइरहेको सन्दर्भमा मोदीले सोही खोपलाई रोजेर विभिन्न शंकाहरुलाई निवारण गर्ने प्रयास गरेको बताइन्छ ।

मोदीले खोप लगाएर केही चुनावी सन्देश पनि दिएका छन् । खोप लगाउने क्रममा उनको काँधमा देखिएको गम्छा असमी हो । उनले पुडुचेरीकी नर्स पी निभेदाबाट खोप लगाएका हुन् । उनीसँग केरलकी नर्स रोजम्मा अनिल पनि देखिएकी छन् । उल्लेखनीय छ, २७ मार्चदेखि २९ अप्रिलका बीच पश्चिम बंगाल, असम, केरल, तमिलनाडु र पुडुचेरीमा निर्वाचन हुँदैछ ।

स्रोत : नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप