शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजीनामा लेख्दिन, अरु नै बाटा छन् : प्रधानमन्त्री ओली

आइतबार, १६ फागुन २०७७, २२ : २०
आइतबार, १६ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए ।  यदि अविश्वास प्रस्ताव ल्याए असफल पार्ने सामर्थ्य आफुसँग रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे । 

अविश्वास प्रस्ताव असफल पार्ने अंक गणित छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘नेपाली काँग्रेस, वा मधेसवादी दलले राजनीति गरेको कुनै अमुक र पद नपाएर छट्पटाएका व्यक्तिका लागि पार्टी खोलेको वा राजनीति गरेको हो ?’ भनेर प्रश्न गरे । 

उनले काँग्रेस सभापति शेरबहादुर देउवा वा रामचन्द्र पौडेलसँग ३१ सालदेखिको सम्बन्ध र मित्रता रहेको भन्दै आफु प्रजातन्त्र बचाउन लागि परेको बताए । राजीनामा गोजीमै राख्नुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले राजीनामा नलेख्ने र लेख्न नपर्ने दावी समेत गरे । 

‘राजीनामा लेख्दिनँ । राजीनामा लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरु पनि बाटा समाउन सक्छु । त्यो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने बाटो पनि छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।  उनले संसदीय दलमा पनि आफनै बहुमत रहेको भन्दै पोहोर गरेका हस्ताक्षर प्रचण्ड माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको आरोप लगाए । ‘बहुमत छ भनेर छाति पिट्नु बेग्लै हो । पोहोर गरेका हस्ताक्षर अहिले बिक्री गर्नु बेग्लै कुरा हो’, प्रधानमन्त्री ओलीको भनाई छ । उनले प्रतिनिधिसभा विघटन बदर भएपनि अदालतले राजीनामा देउ नभनेको दावी गरे । ‘मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ’ ओलीको भनाई छ ।  

प्रचण्ड संसदीय दलको नेता माइतीघर मण्डलाबाट छानिएको भन्दै ‘बहुमत उहाँसँग छ भने पार्लियामेन्टबाट प्रधानमन्त्री फेरे भैगो नि’भनेर उनले चेतावनी दिए ।  प्रधानमन्त्रीले आफु उत्तेजनामा गएर कुनै निर्णय नगर्ने पनि बताए । ‘मैले आवेश उत्तेजनामा जानु हुँदैन । उपयुक्त विकल्प भेटियो भने स्थिरतातर्फको प्रयास खासै नखज्मजिने र नबिग्रने देखियो भने राजीनामा गर्न सकिन्छ । विश्वासको मत लिन सकिन्छ । अविश्वासको प्रस्ताव राखेर हटाउन सकिन्छ । यो त प्रकृया छ’ ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आफुलाई ग्लानी नभएको भन्दै अस्थिरता मच्चाउन लागेकाले देश बचाउन उक्त कदम चाल्नुपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप