शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको पक्षमा उभिएर सांसदहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गर्ने छैनन् : योगेश भट्टराई

आइतबार, १६ फागुन २०७७, १९ : ५६
आइतबार, १६ फागुन २०७७

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ गर्न छाडेर पद त्याग्नु पर्ने बताएका छन् । आइतवार जनकपुरधाममा प्रेस संगठन नेपालको प्रदेश नम्बर २ को प्रदेश भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको वरिपरी रहेकाहरुले उचाल्ने गरेकाले उनी अहिले पनि भ्रममा रहेको स्पष्ट पारे ।

उनले प्रधानमन्त्री ओलीको हठको कारणले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी समानुपातिक समेत व्यवहारमा कार्यान्वयन रहेको अवस्थामा पनि जुनसुकै बेला समाप्त पार्न सक्ने सम्भावना प्रबल रहेको बताए ।


उनले प्रदेश नम्बर २ का जनताले ओली सरकारलाई जतिबेला पनि खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संघीयता मधेसी जनताको देन रहेकोले प्रतिगामी सरकारले वर्तमान संविधान र प्राप्त उपलब्धि खारेज गर्न सक्ने भएकोले यसप्रति सजग रही आन्दोलित रहनुपर्ने बताए ।

उनले भने,  ‘सम्मानित सर्वोच्च अदालतको फैसलाबाट आज संविधान बाँचेको छ, यदि संविधानको मृत्यु भएको हाम्रो बाटो सडक मात्रै हुन्थ्यो । सडकबाटै फेरी संविधानलाई पुनर्जागरण गर्थ्यो । तर संविधान बाँचेकाले हाम्रा लागि अनेक विकल्प छन् । अब विषय प्रतिनिधिसभासम्म पुगेको छ ।’

सर्वोच्च अदालतका न्यायाधीशहरूले संविधान जोगाउन विवेक पुर्याएको बताउँदै अब सांसदहरुले त्यस्तै विवेक देखाउने बेला आएको प्रेस सङ्गठन नेपालका इन्चार्ज समेत रहेका नेता भट्टराईले बताए । ’न्यायाधीशहरूले संविधान जोगाउन विवेक पु-याएका छन्, उनले भने, ’प्रतिनिधिसभाका सदस्यहरुले संसदको इज्जत–प्रतिष्ठा जोगाउने काममा गल्ती गर्छन् जस्तो लाग्दैन, मलाई ।’

उनले संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएर प्रतिनिधिसभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर नगर्ने पनि दाबी गरे ।  ’प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्ने छैनन्’, उनले भने, ’संविधानमाथि गलत हस्तक्षेप गरी प्रतिगमनमा लैजाने काम भएको थियो । तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्छ ।’

उनले दोहोर्याउँदै प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्ने काम नगर्नेमा विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले आगामी फागु २३ गते संसद बस्नुअघि नै प्रधानमन्त्रीले पद त्यागिसक्ने विश्वास व्यक्त गरे । ’प्रधानमन्त्रीले त्यसअघि नै पद त्याग गरिसक्नेछन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक छ भनिसक्दा पनि प्रधानमन्त्री पदमा बसिरहनु त्यो भन्दा लज्जास्पद अरु हुने छैन’, उनले भने, ’प्रतिनिधिसभाको फैसला कुर्नु पहिले नै उहाँले पद त्याग्नु उचित हुन्छ ।’


यदि प्रधानमन्त्रीले नैतिक रुपमा पद नत्यागे उनको अन्त्य दर्दनाक हुने पनि जिकिर गरे । ’उहाँले नैतिक रुपमा पद त्याग्नुपर्छ । प्रधानमन्त्रीले हठ लिनुभयो भने व्यक्तिगत रुपमा पनि उहाँका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुनेछ’, उनले भने, ’उहाँले मार्ग प्रशस्त गरेर पार्टी एकताको विकल्प दिनुपर्छ । यदि संसदमा टसल गर्न आउनुभयो भने उहाँका निम्ति त्यो वियोगान्त हुनेछ । मुलुकका लागि पनि ठूलो दुर्भाग्य हुनेछ । तर त्यसपछि पनि हामी निराश भएर बस्ने छैनौँ, संविधानलाई पुनर्जागृत गर्नेछौँ ।’

त्यस्तै नेता रामचन्द्र झाले मिथिला भूमि संघीयता र अधिकार र पहिचानका लागि आन्दोलनको अभियान थालनी गर्ने थलो रहेको बताए । उनले प्रधानमन्त्री ओलीको कारणले मुलुक अनिर्णयको भुमरीमा फसेकोले तत्काल राजीनामा गरि आफ्नो नैतिकता, इमान र प्रतिष्ठा जोगाउन सुझाए ।

त्यस्तै प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहालले मुलुक, संघीयता, लोकतन्त्र गणतन्त्र, समावेशी समानुपातिक, वाक तथा अभिव्यक्ति स्वतन्त्रता र सकारात्मक रुपमा सामाजिक परिवर्तनका लागि समेत पत्रकारले अग्रगमनका पक्षमा सशक्त ढङ्गले कलम चलाउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारको मुलुकलाई भद्रगोल बनाउने अराजक प्रवृत्ति बिरुद्ध बोल्नु लेख्नु पर्ने टड्कारो अवस्था रहेको बताए ।

त्यस्तै प्रेस सङ्गठन नेपालका सह-इन्चार्ज ओम शर्माले मधेश र मधेशी जनताले सिङ्गो मुलुकको नेतृत्व गरेको हुनाले अझै पनि मधेश सहित उत्पीडित उपेक्षित,अपहेलित जनताहरूले सङ्घीयता समावेशिता र आंशिकरुपमा प्राप्त गरेका अधिकार र पहिचानका लागि अग्रसर हुनु पर्ने बताए ।

उनले ओली नेतृत्वको सरकारले मुलुकलाई नै गोजी सम्झे जस्तै जतिबेला नि मुलुकलाई तहसनहस पार्ने भएकाले अग्रगमनको पक्षमा लाग्न आग्रह गरे ।

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ को प्रदेश संयोजक किरण कर्णको अध्यक्षतामा भएको भेलामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला गरि करिब १ सय ४० जना प्रतिनिधिहरू सहभागिता रहेको थियो । भेलाको क्रममा प्रदेश पदाधिकारी र सदस्यहरुले सपथग्रहण समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप