शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचवटा एम्बुलेन्स हस्तान्तरण गर्दै मुख्यमन्त्रीले भने– गुणस्तरीय स्वास्थ्यका लागि सरकारले ब्यापक काम गरेको छ

आइतबार, १६ फागुन २०७७, १९ : ५२
आइतबार, १६ फागुन २०७७

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश अन्तर्गतका सबै अस्पताललाई व्यवस्थित गरी स्तरीय बनाउने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले प्रदेशका सबै अस्पताललाई स्तरोन्नति गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने नीति अनुसार व्यापक काम गरेको उनको दावी छ ।

मुख्यमन्त्री पौडेलले आइतबार हेटौंडामा आयोजित कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाको अस्पतालमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउन दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापनामा प्रदेश सरकार लागिपरेको बताए ।

‘हामीले प्रदेश मातहतका अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन दक्ष जनशक्ति र यन्त्रसहित सुविधा सम्पन्न प्रयोगशाला निर्माणको नीति लिएर काम गरिरहेका छौं,’ उनले भने । उनले मुटु रोगीलाई तत्काल उपचार सेवा पु¥याउने उद्देश्यका साथ सहिद गंगालाल अस्पतालसँगको सहकार्यमा प्रदेशका १३ वटै जिल्लाका बिरामीलाई उपचार गर्ने विषयमा प्रदेश सरकारले सम्झौता गरिसकेको बताए ।

उनले प्रदेशको एम्बुलेन्स नभएका विभिन्न जिल्ला अस्पताललाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्र स्रोतसाधन परिचालन गरी एम्बुलेन्स उपलब्ध गराउने र अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अनुगमन भइरहेको बताए ।

सो अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका ५ वटा जिल्ला अस्पताललाई ‘ख वर्ग’को एम्बुलेन्स हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १ करोड ८६ लाख ७५ हजार रुपैयाँ लागतमा एम्बुलेन्स खरिद गरी प्रदेशका ५ जिल्लाका अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको हो ।

जिपिएस सिस्टम जडान गरिएको उक्त एम्बुलेन्समा विभिन्न स्वास्थ्य साम्रग्रीहरु जडान गरी प्रत्येक एम्बुलेन्सको २९ लाख २० हजार रुपैयाँ लागतमा खरिद गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुरको हेटौंडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालका अस्पताल विकास समितिको अध्यक्ष र मेडिकल सुपेरिटेन्डेण्टलाई मुख्यमन्त्री पौडेलले एम्बुलेन्सको साँचो र आवश्यक कागजपत्र हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप