बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

आइतबार, १६ फागुन २०७७, १८ : ४१
आइतबार, १६ फागुन २०७७

काठमाडौं । काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन् । 

ह्याम्स हस्पिटलले दुई साता अघि दरखास्त आव्हान गरेपछि आवेदन दिएका मध्ये लिखित परीक्षा तथा अन्तर्वार्तामा छानिएका ३१ जना नर्सहरु यस तालिम कार्यक्रममा सहभागी भएका छन् । 

ह्याम्स हस्पिटलले क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान)सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी यस ट्रेनिङ कार्यक्रम संचालन गर्न लागेको हो । देशमै विश्वस्तरीय ट्रेनिङ कार्यक्रम संचालन गरेर क्रिटिकल कियरको क्षेत्रमा दक्ष नर्सहरु तयार गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हस्पिटलले जनाएको छ । 

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले देशको क्रिटिकल केयर नर्सिङलाई अझ व्यवस्थित बनाउने अपेक्षाका साथ यस ट्रेनिङ कार्यक्रम संचालन गरिएको बताए । 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. भगवान कोइरालाले यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरूलाई उत्प्रेरणा मिल्नुका साथै देशको क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने जानकारी गराए । 

आईसीयू विज्ञ प्रा.डा. अर्जुन कार्कीले क्रिटिकल केयर नर्सिङलाई गुणस्तरीय बनाउन ह्याम्सले गरेको सहकार्यको सर्हाना गरे । उनले क्रिटिकल केयरको गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरे ।  

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि डा. लोचन कार्कीले कोभिड उपचारमा ह्याम्सले गरेको योगदानको प्रशंसा गर्दै बिरामी उपचारमा नर्सको जिम्मेवारी ठूलो भएको बताउनुभयो । उहाँले आफ्नो पेशामा अब्वल बन्न सीप, क्षमता र ज्ञानको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो । 

हस्पिटलका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले स्वागत मन्तव्य दिँदै क्रिटिकल केयर नर्सिङ सम्बन्धि विश्वस्तरीय तालिम उपलब्ध हुने बताए । 

सो अवसरमा सिसिनानकी अध्यक्ष लक्ष्मी केसीसहित, महासचिव कविता सिटौला, कोषाध्यक्ष बिमला केसी, हस्पिटलकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल सुवेदी लगायतले  नेपालको नर्सिङ क्षेत्रको विकासका लागि यो क्रिटिकल केयर नर्सिङ कार्यक्रम अत्यन्त सहयोगी हुने विश्वास व्यक्त गरे । दक्ष तथा अनुभवी विशेषज्ञ नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्न नीति निर्माता तथा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप