बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बाह्रबिसेबाट भोजपुरका पुजन राई बेपत्ता, खोजीदिन बुवा-आमाको आग्रह

शनिबार, १५ फागुन २०७७, १९ : ३६
शनिबार, १५ फागुन २०७७

२५ वर्षका पुजन राई सिन्धुपाल्चोकको बाह्रबिसेस्थित नगरपालिकाको कर्मचारीको रुपमा त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्थे । भोजपुर हतुवागढी गाउँपालिका वडा नंबर ६ उनी विगत १० महिनादेखि नेत्र सहायका रुपमा काम गर्दै आएका थिए । 

गएको कार्तिक २७ गते रातको साढे ८ बजेदेखि वेपत्ता भए । साढे ३ महिनादेखि बेपत्ता भएका राई कुन अवस्थामा रहेका छन् हालसम्म पत्ता लाग्न सकेको छैन । बुवा लालकुमार राईका अनुसार बेपत्ता भएको दिन राती साढे ८ बजे दिदीसँग अन्तिम कुराकानी भएको, त्यसपछि परिवारका अन्य सदस्यले फोन गर्दा घण्टी त गयो तर उठेन् । 

भोलिपल्ट पनि फोन लाग्ने तर उठेन त्यसपछि फोन हालसम्म पनि बन्द अवस्थामा छ । भोलिपल्ट सोही कार्यालयमा काम गर्ने कर्मचारी सृष्‍टि श्रेष्ठ र प्रविन तामाङलाई फोन गर्दा उनीहरुले कार्यालय नआइपुगेको बताए । मंसिर २ गतेसम्म पनि कार्यालय नगएको थाहा पाएपछि परिवारका सदस्यहरुले सबै ठाँउमा खोजी गर्दा पनि नभेटेको उनका बुवा लालकुमारले बताए । 

उनको खोजीका लागि परिवारले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी सृष्‍टि श्रेष्ठ र पुजन एउटै कार्यालयमा काम गर्ने र उनीहरु केही महिनादेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको पुजनका बुवा लालकुमार राईले बताए । 

कसरी हराए पुजन ?

कार्तिक २७ गते कार्यालय बिदा भएपछि पुजनले सृष्‍टिलाई बाह्रबिसे पुलवारी प्रहरी बिट छेउमा छाडी  साथी भेट्न चाकु भन्ने स्थानतिर गएका थिए । चाकुमा पुगेपछि उनको राकेश श्रेष्ठसँग भेट भयो । त्यसपछि राकेशले पुजनको को २१ प ५७९९ नम्बरको चकलेटी रंगको बुलेट मोटरसाइकल कुदाई हिन्दी भन्ने ठाउँमा लगेका थिए 

हिन्दीको एक पसलमा राकेश श्रेष्ठले दुध, एक क्वाटर खुकुरी रम र चुरोट मागेको र दुबैले खाएको राकेश श्रेष्ठ र पसलेले बताएको उनका बुवा लाल कुमार राईले बताए । 

उनले भने, ‘हिन्दी भन्ने ठाउँमा चिनजान नभएको अरु व्यक्तिहरु सविन कार्की, रवि पौडेल, र डन गणेश खड्कासँग पहिलो पटक भेट भएको बुझियो । त्यसपछि राकेशले को २१ प ५७९९ चकलेटी रंगको बुलेट मोटरसाइकल कुदाएर दुबै जना चाकु फर्केको भन्ने कुरा राकेश श्रेष्ठबाट जानकारी भएको छ ।’

भोटेकोसी गाउँपालिका चाकुमा मोटर साइकल बनाउनका लागि वर्कसप खोजेको कुरा त्यहाँका पुल हाउस तथा होटल संचालक शिव खड्काबाट परिवारले थाहा पाए । वर्कसप बन्द भएपछि पुजन राईले बिना राईलाई फोन गरेका थिए । त्यतिबेला उनी एक्लै रहेको खड्काले बताएका थिए । कल डिटेल्सका आधारमा पनि बिना राईलाई नै फोन गरेको थाहा लागेको थियो ।

पुजन राई सुरुदेखि अन्तिम समयसम्म राकेश श्रेष्ठसँग र अन्तिम समयमा शिव खड्का पनि भएको र पछि बुझ्दा चाकु पुलवारी मोटरसाईकल दायाँ साइड तर्फ लडेको र चाकु निवासी श्याम श्रेष्ठले उठाएको भन्ने थाहा पाएको र त्यसपछि उनको अवस्था अज्ञात रहेको पुजनको परिवारका सदस्यहरुको भनाई छ । उनले चढेको को २१ प ५७९९ नम्बरको चकलेटी रंगको बुलेट मोटरसाइकल समेत हालसम्म फेला परेको छैन ।

खोजविनका लागि साढे ३ महिनादेखि परिवारजनको सास्ती 

उनी हराएपछि परिवारजनले आफै खोजविन गरिरहेको, प्रहरी तथा राष्ट्रिय मानव अधिकार गुहारेका छन् । परिवारजनले गत मंसिर २ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा खोजविनका लागि निवेदन दिएका थिए । मंसिर ४ र ५ गते बाह्रबिसे नगरपालिकाका उपमेयर तथा प्रहरी निरिक्षक देवेन्द्र बहादुर शाहलाई भेटन गएका थिए ।

मंसिर १० गते मोबाइल ट्रेसिङका आधारमा दोलालघाट ज्याम्दी र साठीघर पलाञ्चोक पुगे, मंसिर १२ गते सिसिटिभी फुटेज हेर्न दोलालघाट र पाँचखाल गए, पौष ५ र ६ गते पाँचौ पटक बाह्रबिसेमा सिसिटिभी फुटेज हेर्न गएको र त्यो दिन बाह्रबिसेका मेयर गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै परिवारले दुःख ब्यक्त गरेका छन् ।

पुजनको खोजीका लागि पौष २९ गते परिवारका सदस्यले राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ मा निवेदन दिएका थिए भने पौष २७ गते अपराध अनुसन्धान महाशाखाका तत्कालीन डिआइजी सहकुल थापालाई भेटेर आग्रह गरेका थिए । 

माघ २ गते  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र जिल्ला प्रहरी प्रमुख एस.पी राजन अधिकारीलाई सम्पूर्ण जानकारी दिई खोजिविनका लागि आग्रह गरेको बेपत्ता पुजनका बाबु लालकुमार राईले सञ्चारकर्मीहरूलाई बताए ।

पुजन हराएपछि बाह्रबिसे आसपास  २ पटक बेवारिसे शव फेला परेको र पहिचालनका लागि पुग्दा त्यी व्यक्तिहरु फरक रहेको परिवारका सदस्यले बताए ।

आफ्ना छोरा रहस्यमय ढंगले बेपत्ता भएपछि परिवारका सम्पूर्ण सदस्य ठूलो चिन्ता र पीडामा रहेकोले खोजविनका लागि सरकारी निकायलाई गम्भीर हुन बुवा लालकुमार राईले आग्रह  गरेका छन् ।               


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप