बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै (भिडियो सहित)

शुक्रबार, १४ फागुन २०७७, १६ : ००
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ । विहीबार राति मस्तिष्कघात भएका जोशीको यतिबेला नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशीलाई बिहीबार राति शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो । न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।

जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा.झाले भने, ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ। यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । हामी प्रयासरत छौं । डाक्टर झाले भने,‘यो एकदमै जटिल अवस्था हो। संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू बाँच्दैनन्। बाँचेका  ३० प्रतिशतलाई नराम्रो पक्षघात हुन्छ।'

डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ ।  ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिन साथ भन्न सकिन्न,’ डा.झाले भने ।

मस्तिष्कघात भएपछि जोशीले बान्ता गरेको र त्यो बान्ता फोक्सोमा पनि पुगेको थियो।

'पहिला हामीले उहाँको फोक्सोबाट  वान्ता निकाल्यौँ। पाइप हालेर सास फेर्न सहज बनायौं।  त्यही क्रममा मैले उहाँको आँखामा फुलो परेको देखेँ। त्यसको अर्थ आधा दिमागले काम गर्न  छोडेको छ भन्ने हो,’ डाक्टर झाले भने,‘त्यसपछि फेरि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको देखियो।’

झाले जोशीको अवस्था गम्भीर भएपछि आफूहरु आशावादी रहेको बताए । उनले भने,  ‘अवस्था स्थिर हो भन्न सकिँदैन । भेन्टिलेटरमा राखिएको छ ।  तर पहिलाभन्दा बिग्रेको पनि छैन। हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ। हामी त्यही आशामा काम गरिरहेका छौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप