बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक

शुक्रबार, १४ फागुन २०७७, १२ : ३८
शुक्रबार, १४ फागुन २०७७

दाङ । घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ  । ‘उहाँको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भने, ‘शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’

घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।

‘उहाँको शरीरमा अन्त कतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’

पोष्टमार्टम रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप