स्तनपान गराउने आमाको सङ्ख्या घट्यो
पछिल्लो समय नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको छ । आमाहरूले आफ्ना बच्चालाई किन स्तनपान कम गराउन थाले ? स्तनपान नगराउँदा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर पर्छ ? के बजारमा सहज रूपमा उपलब्ध फर्मुला मिल्कले आमाको दूधलाई प्रतिस्थापन गर्न सक्छ ? बजारको दूधले बच्चाको शरीरिक मानसिक वृद्धि विकासमा कस्तो असर पु-याउँछ ? फर्मुला मिल्क र स्तनपान गर्ने बच्चाबीच शारीरिक तथा मानसिक विकासमा केकस्ता भिन्नता देखिन्छ ? यिनै विषयमा केन्द्रित रहेर परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख केदारराज पराजुलीसँग माया श्रेष्ठले गरेको कुराकानी :
नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको हो ?
आजभन्दा २० वर्षअगाडि ८८ प्रतिशत आमाहरूले आफ्ना सन्तानलाई स्तनपान गराउँथे । अहिले त्यो सङ्ख्या घटिरहेको छ । जस्तै २०१६ को सर्वेक्षणमा ६६ प्रतिशत आमाले स्तनपान गराउने गरेको तथ्याङ्क पाइन्छ । २०१९ मा गरिएको एउटा मिक्स सर्वेले स्तनपान गराउनेको सङ्ख्या घटेर ५५ प्रतिशतमा झरेको छ । एकतिर आधुनिकीकरण अर्कोतिर साक्षरता दर पनि बढिरहेको छ । एसएलसी, प्लस टु गर्ने, ब्याचलर, मास्टर्स गर्ने पनि बढेको छन् । महिलाहरूको साक्षरता दर बढेसँगै घरबाहिरको काममा व्यस्त हुन थाले । महिलाहरू काममा यति व्यस्त भए आफ्ना बालबालिकालाई समय दिन सकेका छैनन् । आधुनिकीकरणसँगै आएको एउटा अभ्यास के हो भने हाम्रो फास्टफुड खाने प्रवृत्ति बढ्दै गएको छ । व्यस्त हुने ठाउँमा प्रायः तयारी खाना सजिलै उपलब्ध हुन्छ । यस्ता फास्टफुड खाने प्रवृत्तिले आमा र बच्चा बीचको दूरी बढाउन थाल्यो । बच्चालाई बजारमा तयारी फर्मुला मिल्क उपलब्ध हुन थाल्यो । आमालाई जुन ठाउँमा काम गर्न जान्छिन्, त्यही ठाउँ तयारी खानाको व्यवस्था हुन थाल्यो । त्यसले गर्दा आमा काममा व्यस्त हुने, बच्चालाई स्याहार गर्ने विकल्पहरू खोज्ने यो अहिले एउटा ठूलो समस्या हो । स्तनपानको महत्त्व नै मान्छेहरूले बुझेनन् । राम्रोसँग स्तनपान गराएको खण्डमा ६ महिनासम्म अरू खाना आवश्यक पर्दैन । त्यसैले बच्चा जन्मेको १ घण्टाभित्र आमाको बिगौते दूध खुवाउनुपर्छ । आमाको बिगौते दूध भनेको बालबालिकाका लागि पहिलो प्राकृतिक खोप हो । त्योभन्दा प्रभावकारी खोप अरू हुनै सक्दैन ।
बिगौते दूध पहिलो महत्त्वपूर्ण खोप हो भन्नुभयो तर आमाको पहिलो बिगौते दूध खुवाउन हुँदैन भन्ने समुदायमा अन्धविश्वास पनि छ नि ?
त्यो भनेको बुझाइमा समस्या हो । अहिले पनि हामी पुरातनवादी सोचबाट ग्रसित छौँ । बिगौते दूधमा बच्चाको शरीरलाई फाइदा हुने, रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने तत्त्व सबैभन्दा बढी हुन्छ । बच्चा जन्मेको पहिलो दिन पेट नै सानो हुन्छ । प्रकृतिले नै जन्मिएकै दिन आमाको बिगौते दूध खाए पुग्ने बनाइदिएको छ । बच्चाको पेट पनि सानो गुच्चाको जस्तो हुन्छ । त्यसपछि हरेक दिन बढ्दै जान्छ । तर जुन चिजलाई हामीले अन्जानमा अथवा बाक्लो हुन्छ, चुस्न सक्दैन भनेर बिगौते दूध फालिन्छ त्यो एकदमै गलत हो । अध्ययनले पनि के देखाएको छ भने जुन बच्चाले सुरुको बिगौते दूध खाएको हुन्छ त्यसलाई अरू बच्चालाई भन्दा रोग लाग्ने सम्भावना धेरै कम हुन्छ । साथै त्यस बच्चालाई पछि गएर लाग्ने रोगहरू सुगर, मिर्गौला, मुटु तथा अन्य सरुवा रोग पनि कम लाग्छ । त्यस्ता बच्चाको मृत्युदर पनि कम हुन्छ । बिगौते दूध मात्रै होइन त्यसपछि पनि लगातार ६ महिनासम्म आमाको मात्रै दूध खुवाउनुपर्छ । त्यो समय बच्चालाई पानी पनि ख्वाइराख्न आवश्यक छैन । तराईतिर बच्चा जन्मने वित्तिकै थोरै मह वा सखर चटाइदिने चलन छ । बच्चालाई केही पनि चटाउन पर्दैन । किनभने बच्चाका लागि अमृत बराबर काम गर्ने आमाको बिगौते दूध हो । यति कुरा बुझ्न सक्ने हो भने हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्न सक्छौँ । किनभने बिगौते दूधले बच्चाको शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ, उसको शरीर बलियो हुन्छ । ६ महिनासम्म बालबालिकालाई दूध खुवाउन सक्यौँ भने ती बालकालिका वृद्धि विकास राम्रो हुन्छ । जस्तै नेपालको सन्दर्भमा एउटा बालबालिका जन्मिँदा साढे २ केजीदेखि साढे ३ केजीसम्मको जन्मन्छ । बच्चाको उचाइ पनि ४५ देखि ५० सेन्टिमिटरसम्म हुन्छ । ५ महिनामा आमाको दूध खाएको बच्चाको तौल जन्मिदाको भन्दा डबल हुन्छ । बच्चाको उचाइ पनि एक वर्षमा झण्डै ५० प्रतिशतले बढ्नुपर्छ । साथै मासिक रूपमा बच्चा तौल आधा किलो दरले बढ्यो कि बढेन भनेर थाहा पाउनुपर्छ । शारीरिक मानसिक रूपमा बच्चाको वृद्धि विकासका लागि आमाको दूधले सहयोग गर्छ ।
शारीरिक र मानसिक रूपमा बच्चाको विकास हुन आमाको दुध अति आवश्यक पर्छ भन्नुभयो, आमाहरूले पनि खानपान कस्तो हुनुपर्छ ?
बच्चाले दुध खाने त आमा हो । तर, आमो खानपान र स्वास्थ्यमा ख्याल गर्न जरुरी छ । बच्चालाई दुध खुवाउने आमाले दिनमा ६ पटकसम्म खाना खानुपर्छ । सुत्केरी आमा,बच्चा काखमा भएका आमाहरूले कम्तीमा ६ पटक खानुपर्छ । सामान्यतया अन्य मानिस हरेक दिन ४ पटक खान्छन् । चारपटकसम्म खाइने खानामा एक पटक गेठागुडी, अनाज जस्तै दात, रोटी ढिडो आदि, फलफुल सागपात, सुत्केरीमा सागपात खान हुँदैन, फलफुल खान हुँदैन चिसो लाग्छ भनिन्छ त्यो गलत कुरा हो । दही, दुध, ध्यु, माछा, मासु खानुपर्छ । अन्य बेलामा भन्दापनि सुत्केरीमा माछामासु, ध्यु बढि ख्वाउने चलन छ । तर, सुत्केरी भनेर चाहिए भन्दा बढि घ्यु खुवाउन हुँदैन । सामान्यतया ४ पटक अरुले खाने र त्यसमा दुई पटकसम्म त्यही खाना थप गरेर बच्चाको आमालाई खुवाउनुपर्छ । दिनमा ६ पटकसम्म आमाले खाना खाएपछि बच्चालाई पुग्ने प्रशस्त मात्रामा पुग्ने दुध आउँछ ।
बच्चा ६ महिना पुगेपछि आमाको दूधसँगै कसरी खाना खुवाउन पर्छ ?
राम्रो पक्ष बच्चा ६ महिना पुगेपछि आमाका दूधले मात्रै पुग्दै थप खानेकुरा खुवाउन पर्छ । नेपालमा बच्चा जन्मेको ६ महिना पछि पास्नी गर्ने कस्नो राम्रो चलन छ । त्यो चलन भनेको अब बच्चाले आमाको दूधबाहेक अन्य आहर ६ पनि खान सुरु गर्ने बेला भयो भनेको हो । महिनापछि आमाको दुध लगातार ख्याइराख्ने तर पथ खाना ६ महिना पुगेको पछि सुरुमा एक चम्चा दुई चम्चाबाट ख्वाउन सुरु गर्ने । मज्जाले पाकेको सेमिसोलिड म गर्ने बच्चाले खान सक्ने खाना खुवाउन पर्छ । ६ देखि ९ महिनाको विचमा १२५ एमएल एकपटकमा खानेकुरा खुवाउन पर्छ । यसरी दिनमा ३ पटक ख्वाउन पछ । बच्चा ९ देखि १२ महिनाको भएपछि दिनमा चार पटक खुवाउने, १२ महिना काटिसकेपछि एकपटकमा २५० एमल खाना ख्वाउनुपर्छ । त्यसपछि दुई पटक खाना ३ पटक खाजा बच्चालाई ख्वाउन पर्छ । तर, आमाको दुध चाहिँ दुई वर्ष नपुगुञ्जेल चाहिँ नियमित रूपमा ख्वाउन पर्छ । यसरी बच्चालाई नियमित रूपमा आमाको दूध र खाना ख्वाएमा पुड्केको सङ्ख्या घट्छ । नेपालमा एडल्टहरूमा पुड्केको सङ्ख्या झण्डै ८० प्रतिशत छ । ५ वर्षभन्दा मुनिका बच्चामा ३६ प्रतिशत पुड्केपन रहेको छ । यो भनेको विकराल अवस्था हो । नेपालीहरू अग्ला हुन सक्छ । तर हाम्रो दिमागमा नेपाली होचै हुन्छन् भन्ने छ । जन्मेको दुई वर्षभित्र बच्चाका लागि गरिने लगानी पुगेन, आमाको गर्भमा रहेदेखि दुई वर्षको अवधिमा जति मिहिनेत गर्नु पर्ने हो पुगेन भने त्यो समस्या आउँछ । त्यही हजार दिनमा यी सबै कार्य गर्नुपर्छ । किनभने त्यस हजार दिनमा बच्चाको मानसिक विकास ८० प्रतिशतले हुन्छ । हजार दिनमा बच्चा अग्लो वा होचो कस्तो हुन्छ भन्ने कुरा त्यही समयमा निर्धारण हुन्छ । नेपालमा दुई वर्षसम्म बच्चालाई खासै वास्ता गर्ने चलन छैन । दुई वर्षको अवधिमा गरी बच्चामा माथि गरेको लगानी खेर जाँदैन । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन्छ ।
त्यसो भए बजारमा सहज रूपमा उपलब्ध हुने फर्मुला मिल्क आवश्यकता हो वा बाध्यता हो ?
कहीँकहीँ आमाहरूको बाध्यता हुनसक्छ । तर फर्मुला मिल्क सहज रुपमा उपलब्धता पनि हो । विभिन्न नाममा बजारभरि पाइन्छ । फर्मुला मिल्क कुनै न कुनै रूपले उद्योग हो । उद्योगीहरु फाइदाका लागि मात्र काम गर्छन् । व्यापार हुने भएपछि त्यहाँभित्र केही कुरा लुकेका पनि होलान् । त्यसैले यसलाई रोक्न आवश्यक छ । प्रयोग नगरी नहुने अवस्थामा मात्र यसको उपयोग गर्नु पर्छ । तर बजारमा उपलब्ध भएका गुणस्तरहीन फर्मुला मिल्क रोक्नुपर्छ । आमाको दूध आउँछ भने बच्चालाई सेवन गराउनु हुँदैन ।
फर्मुला मिल्कले बच्चाको शारीरिक र मानसिक विकास गर्दैन वा हानि गर्छ भने राज्यले किन प्रतिस्थापन नगरेको होला ?
२०४९ सालमा स्तनपानलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्री वितरण तथा नियन्त्रण ऐन जारी गरेको रहेछ । तर वास्तविक कार्यान्यवन राम्रोसँग भएको छैन । त्यसलाई कार्यावन्यन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने थियो । तर राम्रोसँग लिएको देखिएन । त्यसकारण बजारमा यस्ता सामग्रीको सहज रूपमा पहुँच बढ्यो । त्यति मात्रै होइन अस्पतालमा बच्चा जन्मनासाथ आमाको दूध आएन भने फर्मुला मिल्क दिने चलन छ । त्यो दूधको बट्टा बोकेर घरमा ल्याउने र आमाको दूधको सट्टा बट्टाको दूधमा जोड दिइन्छ । किनभने सबैलाई हतार छ, एक पटक त हो भन्दै ख्वाउन सुरु गर्ने गरिन्छ । यसले गर्दा बच्चाले पनि आमाको दूधभन्दा बट्टाको दूध खान मन पराउन थाल्छ । आमाको दूध चुस्न मान्दैन । बच्चा ६ महिना नपुग्दै फर्मुला मिल्क विशेष अवस्थामा सम्बन्धित चिकित्सकको सल्लाहमा अपवादमा ख्वाउनुपर्ने कुरा छुट्टै कुरा हो । अन्यथा बट्टाको दूध ख्वाउनु भनेको आफ्नै बालबालिकालाई विष ख्वाउनु हो । आमाको दूध पूर्ण रूपले खाएका बालबालिका र बट्टाको दूध खाएका बालबालिकाबीच तुलनात्मक अध्ययन गर्दा मृत्यु दर नै १० गुणा बढी देखिएको छ । बट्टाको दूध खाएका बालबालिकामा पछि गएर मोटोपन, पाचन प्रणालीमा समस्या, मधुमेह, मुटु, मिर्गौला जस्ता रोग लाग्ने दर बढी देखिएको छ । बट्टाको दुध सेवन गर्नेहरूमा शरीरमा क्रमशः समस्या देखिँदै गएको पाइन्छ । यसरी हाम्रा सन्तानलाई क्रमशः विष ख्वाउँदैछौँ भन्दा पनि हुन्छ ।
बच्चालाई स्तनपन गराउँदा आमाको स्वास्थ्यमा असर वा आमाको स्तनको आकार प्रकार केही बिग्रिने हुन्छ कि हुँदैन ?
बच्चालाई दूधमा चुसाउने आमाको स्वास्थ्य बजारको दूध मात्र खुवाउने आमाको स्वास्थ्यभन्दा राम्रो हुन्छ । आमाको दूध चाहिँ परिवार योजना कुरा प्रयोग गर्छौं । त्यसले फाइदा गर्छ भनेर कुरा गर्छौं । तर आमाको दूध जब बच्चाले चुस्छ त्यसबेला आमा र बच्चाबीच माया, प्रेम, स्नेह झन् बढेर जान्छ । त्यसले जीवनलाई नयाँ गति दिन सहयोग पु-याउँछ । आमालाई हुने स्तन क्यान्सरको सम्भावना पनि कम हुन्छ । यो रोग दूध चुसाउने आमामा भन्दा नचुसाउनेमा धेरै गुण बढी पाइएको छ । स्तनपान गराउँदा आमाको स्तनको आकार विग्रिन्छ भन्ने धारणा विलकुल गतल हो । स्तनपान गराउँदा कुनै आमाको आकार प्रकारमा परिर्वतन ल्याउँदैन । दूध चुसाउन छाडेपछि क्रमशः स्तनको आकार पहिलाकै लयमा विस्तारै देखिन्छ । त्यसपछि स्तन पहिलेकै प्राकृतिक आकारमा आउँछ । दूध नचुसाउने आमाको दूध गानिने, पाक्ने, बाहिर ननिस्कन समस्या भएपछि डल्लो भएर बस्छ । गिर्खा बन्दै गयो भने त्यसैले स्तन क्यान्सरको रूप लिन सक्छ ।
अप्रेसनपछि केही दिन आमामा समस्या हुने हुँदा आमाले २, ३ दिनपछि बच्चाले दूध चुसेन भनेर बट्टाको दूध ख्वाएको देखिन्छ । यसले पनि बट्टाको दूधमा पहुँच बढेको भन्न सकिन्छ ?
वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ । आज अप्रेसन गरेर बच्चा निकाल्दै छु, बच्चालाई दूध खुवाउन सक्दिनँ, दूध आउँदैन जस्ता कुरा दिमागमा खेलाइन्छ । स्वास्थ्यकर्मीको मनमा पनि त्यस्तै हुन्छ । भर्खर अप्रेसन गरेको छ । अब आमालाई कता दुःख दिइराख्नु भन्ने पनि हुन्छ । तर यस विषयमा स्वास्थ्यकर्मीलाई पहिल्यै तालिम दिइसकेको हुन्छ । तर पनि किन दुःख दिनु भन्ने गरिन्छ । आमालाई दुःख भएन, स्वास्थ्यकर्मी पनि त्यहाँ खटिरहनु परेन । त्यसैले आमालाई परामर्श दिएर मानसिक रूपमा सहज बनाएर बच्चालाई स्तनपान गराउन स्वास्थ्यकर्मीले उत्प्रेरणा दिनैपर्छ । स्वास्थ्य समस्याका कारण आमाले दूध खुवाउन नखोज्ने, स्वास्थ्यकर्मीले ध्यान नदिँदा पनि बट्टाको दूध घरमा नयाँ बच्चासँगै पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी