बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

शुक्रबार, १४ फागुन २०७७, ०९ : २१
शुक्रबार, १४ फागुन २०७७

चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ । उत्पादित चिज तथा मखन अधिकांश काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको बताइन्छ ।

पहिला–पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पुर्याउने उद्देश्यले विसं २०२७ मा स्थापित चन्दनवारी चिज उत्पादन केन्द्रले दर्जनौँ किसानलाई आयआर्जनमा टेवा पुर्याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए । नेपालकै जेठो मानिएको विसं २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय छ÷सात वर्ष पहिला स्थापना भएको धुञ्चेलेक र गतलाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिएका छन् ।

वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताएका छन्। प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चौँरीपालक कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन् ।

लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौरीँगाईको शुद्ध दूधबाट बनेको ‘अग्र्यानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकहरूले बताएका छन् । चिज उत्पादनको समय भने वैशाखदेखि कात्तिक १५ गते पहिलादेखि निर्धारित समय यथावत रहेको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप