नेपाली भाषा र गोर्खाल्यान्ड
मिनबहादुर पण्डित
भाषाकै कुरा गर्ने हो भने बङ्गाली भाषा बङ्गलादेशमा पनि बोलिन्छ, पश्चिम बङ्गालमा पनि बोलिन्छ । पश्चिम बङ्गालका हिन्दुले पनि बङ्गाली बोल्छन् र बङ्गलादेशका मुस्लिमले पनि बङ्गाली बोल्छन् । त्यसैले भाषा एउटा देश र एउटा समुदायको मात्र हुन् सक्दैन ।
अङ्ग्रेजी बेलायतबाहेक युरोपका अरु देशमा बोलिन्न तर अमेरिकामा बोलिन्छ । स्पेनिस भाषा स्पेन बाहेकका केही देशमा पनि राष्ट्रिय भाषाका रुपमा प्रयोग गरिन्छ । अरबिक भाषा अरब देशबाहेकका देशमा पनि राष्ट्रिय भाषाका रुपमा प्रयोग गरिन्छ । दक्षिण अफ्रिकामा अङ्ग्रेजी बोलिन्छ । भाषाको प्रयोग देश बन्नुभन्दा धेरै पहिलेदेखि भएको हुनाले विभिन्न देशमा अलग अलग खालका भाषा स्थापित भएका हुन् । भाषाको स्थापना कुन भाषा बोल्ने राजाले शासन गर्छन् त्यसमा पनि भर पर्दछ । अर्को कुरा दार्जिलिङ मात्र होइन, भुटान र बर्मासम्म नेपालीहरु पुगेका थिए । पृथ्वीनारायण साहले नेपाल एकीकरण गर्दा बर्माको सिमाना रक्षा गर्न, रेख देख र बसोबास गर्न केही नेपाली पठाएर जिम्मा लगाएका थिए भन्ने पाइन्छ । ती नेपालीले अहिले पनि यो कुरा सुनाउने गरेका छन् । त्यो बेलादेखि नै बर्मा सिक्किम र भुट्टानसम्म नेपालीहरु फैलिएका थिए ।
नेपाली, भाषा, साहित्य र गीत सङ्गीतमा दाजिलिङबासीको योगदान निकै छ । नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल र टोपी नेपालमा प्रधानमन्त्रीले समेत लगाउन छाडिसकेको अवस्थामा दार्जिलिङबासी भारतीय नागरिक दौरा सुरुवाल र ढाका टोपी लगाएको देख्दा गर्व लागेर आउँछ । नेपाली भाषा–संस्कृतिको जगेर्ना गर्दै नेपालीपनको पहिचानलाइ जीवन्त राखेको देख्दा आम नेपाली भाषीलाई खुसी लाग्नु स्वाभाविक नै हो । त्यसैले दार्जिलिङ नेपाली भाषा–संस्कृति बोल्ने नेपाली जातकै मानिस बसोबास भएको ठाउँ हो ।
अहिले पनि हाम्रो गाउँठाउँको र सिक्किमको नेपालीको बोलीचाली लवज ठ्याक्कै मिल्छ । नेपाली भाषाको उत्पत्ति हुम्ला जुम्लालाई मानिन्छ । तर सुदूर पश्चिमका नेपालीले बोल्ने नेपाली भाषा बुझन कठिन छ । गर्या हुन्, गया छम, भन्या छम जस्ता भाषाको प्रयोग हुन्छ । भाषा र जातियताको कुनै सीमा हुँदैन । किनकि देश देशको सीमा छुटिन्नुभन्दा पहिले जात धर्म सम्प्रदाय फैलिसकेको थियो । जीविकोपार्जनका लागि अवसरको खोजीमा कुन जाति कता–कता पुग्यो छुट्याउन गारो छ । दार्जिलिङका नेपाली र झापाका नेपालीका रहनसहन, व्यवहार उस्तै हुन् ।
भारतमा रहेका भारतीय गोर्खालीलाई आफ्नो भाषा–संस्कृति जोगाउन गोर्खाल्याण्ड माग्ने पुरा अधिकार छ । किनकि विभिन्न जाति र भाषाको सम्मिस्रणबाट नै सिङ्गो भारत बनेको हो र त्यस भूभागमा बस्ने सम्पूर्ण नागरिक र तिनको भाषा संस्कृतिमाथि दमन गर्नु कदापि न्यायोचित हुँदैन । नेपाली भाषा भए भन्दैमा नेपालको साइनो लगाएर भेदभाव गर्ने कार्यलाई सबैले घोर विरोध गर्नु पर्छ ।
यसर्थ कुनै पनि बहानामा आफ्नो भाषा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रयोग गर्ने अधिकार प्रत्येक जातिलाई भएजस्तै दार्जिलिङका नेपाली भाषीलाई अधिकारलाई कुण्ठित गर्नु हुँदैन ।
पश्चिम बङ्गालमा बोलिने बङ्गाली भाषा नेपाली भाषा बोलिने स्थान दार्जिलिङमा थोपरिँदा त्यहाँका जनताप्रति ठूलो अन्याय भएको छ । त्यसैले यो समस्याको समाधान भारतीय केन्द्रीय सरकारले नै निकाल्नु पर्छ ।