बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा  गर्‍यो : पूर्वराष्ट्रपति यादव

बिहीबार, १३ फागुन २०७७, १९ : ३०
बिहीबार, १३ फागुन २०७७

जनकपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका छन् ।

पूर्व राष्ट्रपति यादवले राजनीतिक पार्टीहरू आफैले बनाएको लोकतान्त्रिक विधि तथा पद्धति आत्मसात गर्दै सो अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात हुँदै आएको बताए ।

काँग्रेसका गान्धीवादी नेता महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउनका लागि विधि विधान अनुसार अगाडी बढ्न आग्रह समेत गरे ।

उनले स्वर्गीय महेन्द्रनारायण निधिलाई स्मरण गर्दै भने, 'जसरी निधिले एउटै विचारलाई समातेर जीवन पर्यन्त लडिरहे । त्यस्तै अगाडि बढी रहे भने पक्कै पनि नेपालको लोकतन्त्रले समृद्धि पाउनेछ ।' उनले अहिले लोकतन्त्रमाथि भएको प्रहारबाट सर्वोच्च अदालतले रक्षा गरेको भन्दै यो जिम्मेवारी राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको समेत रहेको बताए ।

उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई हृदयदेखि सम्मान गर्ने बताए । त्यस्तै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी कदम पछि मुलुक ३ वर्ष पछाडी धकेलिएको बताए ।

उनले मुलुकलाई ३ वर्ष पछाडि धकेलिएकाले नेपाली जनताले यसको क्षतिपुर्ति गराई छोड्ने ठोकुवा गरे । परिवर्तनशील संसारमा पनि एउटै विचारलाई समातेर जीवन पर्यन्त अगाडि बढी रहे जस कारण उनी नेपाली राजनीतिको शिखर पुरुष बन्न सफल भएको उनको भनाई थियो ।

निधि जनताको अधिकार, समानताका लागि जसरी संघर्ष  उदाहरणीय रहेको बताउँदै मन्त्री सोनलले उनको सपना अझै पनि पूरा हुन नसक्नुमा दुःखद भएको बताए । '२०५१ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा विकल्पको रुपमा महेन्द्रनारायण निधिलाई किन खोजिएन यो यक्ष प्रश्न अझै हामी सामु रहेको छ.' मन्त्री सोनलको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप