मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता सहकार्यबारे नेकपा विभाजनको प्रष्टताको प्रतीक्षा गर्ने काँग्रेसको निष्कर्ष

बिहीबार, १३ फागुन २०७७, १८ : ५४
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो । 

सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए । महतले भने, 'संसद्को बैठक बसोस् । अनि परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यसलाई मध्यनजर गरेर नेपाली काँग्रेसले निर्णय लिन्छ ।'

अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ । 'अहिले यो गर्छु, त्यो गर्छु, यसलाई समर्थन गर्छु वा उसलाई समर्थन गर्छु भन्ने अवस्था अहिलेको अवस्था होइन । यो नै हाम्रो समग्र सर्वसम्मत छलफलको निष्कर्ष हो,' उनले भने ।

बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए । नेता अर्जुननरसिंह केसीले भने, 'बैठकमा आफ्नो दृष्टिकोण भन्दा पनि दुवै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ । यो अवस्थामा हामीले लिने दृष्टिकोण के हुन्छ ? भन्ने धारणा राख्नु भयो ।'

संसद पुनःस्थापनापछिको घटनाक्रमको विश्लेषणसँग पार्टीको आगामी रणनीति कसरी तय गर्ने भन्न विषयमा छलफल भएको केसीले बताए ।

'सबैभन्दा पहिला सत्तासीन दल बीचको वर्तमान अवस्था अन्तिम निष्कर्षमा नपुगी हामीले तत्काल खेल्नुपर्ने भूमिका भन्दा पनि त्यसलाई प्रतिपक्ष गर्ने विषय महत्वपूर्ण कुरा हो । त्यसपछि हामी संसदमा गर्नुपर्ने रणनीतिक अथवा कार्यनीतिका सम्बन्धमा पछि बसेर छलफल गर्ने भन्ने हाम्रो सामुहिक निष्कर्ष हो,' केसीले भने,'हामीले व्यक्ति व्यक्ति भन्दा पनि पार्टीसँग सहकार्य गर्ने हो । अहिले नेकपा एउटै छ । दुई ढंगले प्रस्ट भएर भएर आएपछि सहकार्यबारे सोच्ने अवस्था आउछ ।'

उनले थपे, 'राजनीतिक घटनाक्रमको विश्लेषण र समीक्षा गर्दै सबै पक्षसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढौं । अन्तिम स्थितिमा के गर्नुपर्छ फेरि बसेर सल्लाह गरौं भन्ने कुरा हो ।' 

यस्तै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडी बढ्छ त्यसै अनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताए । संसदीय प्रक्रिया अगाडी नबढी काँग्रेसको भूमिका नहुने पौडेलले भनाइ छ । उनले भने, ‘संसदीय प्रक्रिया केही शुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडी नबढीकन नेपाली काँग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडी बढोस् कसरी आउँछ, त्यही अनुसार हामीले हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौ ।’

पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप