मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानकर्ता दुई प्रहरीको बढुवा

अनुसन्धानमा यसरी मिल्यो सफलता (उनीहरुकै शब्दमा)
बिहीबार, १३ फागुन २०७७, १६ : ३०
बिहीबार, १३ फागुन २०७७

कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।

प्रहरी नायव निरीक्षकमा बढुवा भएका पदमबहादुरले गत कार्तिक पहिलो साता अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या प्रकरणमा पनि सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । परिणामस्वरुप प्रहरीले हत्यामा संलग्नहरुलाई केही दिनमै पक्राउ गर्न सफलता पाएको थियो ।

यस्तै, प्रहरी हवल्दारमा बढुवा भएका नरबहादुर थापाले माघ ११ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्यामा समेत अनुसन्धानको पाटोमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । भुललाई भाइ नाता पर्ने दलबहादुर विकले रातिको समयमा हत्या गरी गहना लुटेका थिए । घटना लगत्तै सो स्थानमा भएका कागज, पैतालाको डोब पहिचान गरी प्रहरीले अनुसन्धानमा सफलता पाएको थियो । अनुसन्धानकै क्रममा दलबहादुरमाथि शंका लागि खानतलासी गर्दा लुटिएको सुन र हत्यामा प्रयोग गरिएका हतियार फेला परेपछि निजलाई पक्राउ गरिएको थियो ।

बुधबार बढुवा भएका दुवैलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । भागरथीको हत्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भनाइ छ । उनीहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताए ।

प्रहरी नायव निरीक्षकमा बढुवा भएका थापा २०५६ साल भदौ २० गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी जवानका रुपमा सेवामा प्रवेश गरेका उनी २०६५ सालमा हवल्दारमा बढुवा भएका थिए भने २०७३ मा प्रहरी सहायक निरीक्षकमा बढुवा भए ।  हवल्दारमा बढुवा भएका थापा भने २०६३ चैत ३ गते प्रहरी जवानका रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । 

अनुसन्धानमा यसरी मिल्यो सफलता

पदमबहादुर थापा: भागरथीको हत्यापछि सूचना संकलनमा मेरो मुख्य भूमिका रह्यो । घटनाको सुक्ष्म विश्लेषण, घटना कहाँ र कसरी भयो भन्नेबारे सुक्ष्म अध्ययन गरिनुका साथै चडेपानीबाट विद्यालय खोचलेकसम्म जाने–आउने मानिसहरुको तथ्यांक संकलन गरियो ।

समयको क्याल्कुलेसन, घटनास्थलको विश्लेषण र हिँड्न लाग्ने समय, त्यसको फिड ब्याक लिने काम गरियो । मृतक स्कुलबाट कतिखेर घरतर्फ हिँडिन्, कुन बेला कहाँ पुगेको हुनुपर्छ भन्नेबारे एउटा आधार तयार पारियो । शंकाको घेरामा रहेका मानिसहरुलाई केलाउँदै गयौँ र सो दिन भागरथीलाई कसले कहाँ देख्यो भन्नेबारे हाम्रो नेतृत्वलाई सूचना दिँदै गयौँ ।

आएका सूचनालाई सुक्ष्म तरिकाले केलाउँदै थप अनुसन्धान कसरी गर्ने भन्नेबारे सधैँ नेतृत्वसँग बसेर छलफल गरिन्थ्यो । शंकाको घेरामा रहेका व्यक्तिसँग सोधखोज गर्दा उसले हामीसँग झुट बोल्यो कि बोलेन भनेर क्रस भेरिफिकेशन गरिन्थ्यो । अभियुक्तलाई हामीले सुरुमै निगरानीमा राखेका थियौँ । अन्ततः हाम्रो अनुसन्धान सफल भयो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी साव स्वयं भागरथी हत्या घटनामा फिल्डमै खटिनुभएको थियो, उहाँले नजिकबाट अनुसन्धानलाई नियालेर आवश्यक नेतृत्व दिइरहनुभएको थियो । त्यसले पनि हाम्रो मनोबल उच्च भएको थियो । घटना अनुसन्धानको क्रममा हामी दुई जनालाई उच्च मूल्याङ्कन गरी बढुवाका लागि संगठन प्रमुखलाई सिफारिस गरियो । जसका कारण हामीलाई मात्र होइन, सबै प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने जोस, जाँगर बढेको छ । यो बढुवाले आफ्नो कर्तव्यप्रति निष्ठावान भई काम गर्ने जागर र ऊर्जा मिलेको छ ।

नरबहादुर थापा: भागरथी भट्टको हत्यासम्बन्धी घटनामा सूचना संकलन, ब्यक्तिको पहिचान, सबुत प्रमाण, संकलनमा मैले भूमिका निर्वाह गरेको थिएँ । भागरथीले अध्ययन गर्दै आएको सनातन धर्म माध्यमिक विद्यालय खोचलेकबाट आउने–जाने विद्यार्थी र गाउँलेलाई सोधपुछ, घटना पश्चात सो बाटो हुँदै निस्किएका व्यक्तिलाई निगरानीमा राखियो । घटनासँग सम्बन्धित सबै सूचना संकलन गरी नेतृत्वलाई दियौँ र सूचनाको विश्लेषण गरी नेतृत्वले हामीलाई दिएको निर्देशनअनुसार मैले आफ्नो भूमिका निर्वाह गरेँ । सोही अनुसार सुक्ष्म अध्ययन पश्चात  १४ दिनपछि हत्यारा पत्ता लगाउन सफल भइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप