शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले सम्मानजनक बहिर्गमन रोज्ने कि अपमानजनक ?

प्रतिनिधिसभा र ओलीबीच द्वन्द्व अझै बाँकी
बिहीबार, १३ फागुन २०७७, १५ : ५३
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भइसकेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान लिएका कारण मुलुकको राजनीति यतिबेला अनिर्णयको बन्दी बनिरहेको छ । आफूलाई आफ्नै पार्टीका केही नेताले काम गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरे । संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भन्दै त्यसलाई बदर गरिदियो ।

संवैधानिक इजलासले प्रधानमन्त्रीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिनु ‘असंवैधानिक’ भएको फैसला गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले अब आफैले विघटनको सिफारिस गरेको प्रतिनिधिसभामा ‘फेस सेभिङ’ को प्रयास गर्नुपर्ने छ ।

राजीनामाको प्रतीक्षा

असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने राजनीतिक शास्त्रका ज्ञाता बताउँछन् । प्रधानमन्त्री ओलीका निकट सहयोगीहरुले प्रधानमन्त्रीको राजीनामा नआउने प्रष्ट पारिसकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले संसदीय प्रक्रिया सामना गर्ने मनसाय राखेको देखिन्छ ।

यद्यपि नेकपाको ओली पक्षका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजनीतिक दलहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री ओलीले निकास दिने बताएका छन् । यसको अर्थ दलहरुले सुझाव दिएका आधारमा ओलीले राजीनामा नै दिन्छन् कि भन्ने अनुमानसँग पनि जोड्न थालिएको छ ।

संवैधानिक इजलासले फागुन ११ गतेको फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । त्यतिन्जेलसम्म प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसदीय विधिअनुसार नै सरकारको विकल्प खोज्न अघि बढ्नुपर्ने अवस्था आउँछ । 

नेकपाको आधिकारिकता टुङ्गो नलाग्दा समस्या

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन भइसकेको छैन । तर राजनीतिक रुपमा सो पार्टी दुई भागमा विभाजित देखिन्छ । एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओली आफैले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै अब दलको आधिकारिकताको विषय पनि पेचिलो बन्ने देखिएको छ । विद्यमान कानुनअनुसार केन्द्रीय समिति र संसदीय दलमा ६० प्रतिशत बहुमत जुटाउने पक्षले सम्बन्धित दलको आधिकारिकता प्राप्त गर्दछ ।

यथास्थितिमा नेकपाको प्रचण्ड–माधव पक्षसँग ६० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य देखिए पनि संसदीय दलमा कुनै पनि पक्षले ६० प्रतिशत बहुमत जुटाउन सकेको अवस्था छैन । त्यसैले पनि निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवादको छिनोफानो गर्न समस्या देखिएको हो ।

आयोगले आधिकारिकता विवाद टुंगो लगाएको अवस्थामा पनि विवाद सहजै साम्य हुने अवस्था छैन । आयोगको निर्णयमा चित्त नबुझे कानुनी उपचारका लागि न्यायालयमा जानसक्ने विकल्प बाँकी नै रहन्छ । त्यसैले नेकपाको आधिकारिकताको विवाद त्यति सहजै र त्यति चाँडै समाधान हुने अवस्था छैन ।

नेकपाको आधिकारिकताको विवाद समाधान नभएसम्म प्रधानमन्त्री ओलीको विकल्प खोज्ने प्रक्रिया आरम्भ गर्न प्राविधिक कठिनाइ हुने देखिन्छ । यही बाध्यात्मक अवस्थामा टेकेर नै प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान राखेको जानकार स्रोतको भनाइ छ ।

केन्द्रीय समिति विभाजित, संसदीय दल एउटै

अहिलेको अवस्थामा सत्तारुढ नेकपाको केन्द्रीय समिति विभाजित भइसकेको छ । जबकि नेकपाको संसदीय दल अझै सिङ्गै छ । प्रधानमन्त्रीको विकल्प खोज्ने वा नयाँ प्रधानमन्त्री चयनका लागि केन्द्रीय समितिले नभई संसदीय दलले भूमिका निर्वाह गर्ने भएकाले पनि संसदीय दल विभाजित नभएको अवस्थामा नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीको विकल्प खोज्न प्राविधिक समस्या देखिने भएको हो । त्यो अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आफ्नो आयु केही महिना लम्ब्याउन सक्नेछ ।

प्रधानमन्त्री ओली नेकपाको संसदीय दलमा प्रचण्ड–माधव पक्षको ६० प्रतिशत बहुमत जुट्न नपाओस् भन्ने एकमात्र अभियानमा छन् । नेकपाको प्रचण्ड–माधव पक्षले पनि संसदीय दलमा ६० प्रतिशत नपुगेको अवस्थामा प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक रणनीति अपनाउन नसक्ने देखिन्छ ।

ओली सरकारको विकल्पका लागि नेपाली काँग्रेस, जनता समाजवादी पार्टीले चासो राखे पनि नेकपाभित्रको यही समस्याका कारण आफ्नो रणनीति लागू गर्न सकिरहेका छैनन् । किनकि संवैधानिक इजलासले नै वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा (१) अन्तर्गतको मानेको छ । एकल बहुमतको सरकारलाई सम्बन्धित दल औपचारिक रुपमा विभाजित नभइसकेको अवस्थामा विस्थापन गर्ने कानुनी बाटो रहँदैन ।

प्रचण्ड–माधव पक्षको प्राथमिकतामा सरकार कि पार्टी ?

नेकपाको प्रचण्ड–माधव पक्षले आफ्नो प्राथमिकतामा सरकार कि पार्टी भन्नेबारे प्रस्ट किटान गर्नुपर्ने अवस्था टड्कारो देखिएको छ । सो पक्षले ओली सरकारको विकल्प र पार्टीको आधिकारिकतामा एकसाथ दावी गर्ने कानुनी आधार कमजोर देखिएको छ । संसदीय दलमा नेकपाको कुनै पनि पक्षको ६० प्रतिशत बहुमत नजुटेको अवस्थामा यथास्थितिमै रहेर निर्वाचन आयोगको फैसला कुर्नु नै दुवै पक्षका लागि उचित बाटो देखिन्छ ।

आयोगले फैसला गरिसकेपछि असन्तुष्ट पक्षले स्वाभाविक रुपमा आयोगको फैसलाविरुद्ध अदालतमा चुनौती दिन सक्छ । केन्द्रीय समितिमा बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षले संसदीय दलमा सके ६० प्रतिशत, नभए पनि बहुमत सदस्यलाई आफ्नो पक्षमा राख्न सकेमा ओलीमाथि दबाब बनिरहने छ ।

प्रचण्ड–माधव पक्षले ओली सरकारलाई विस्थापित गर्ने विषयलाई नै प्राथमिकता दिने हो भने संसदीय दल विभाजनको प्रक्रिया सुरु गरेर काँग्रेस र जनता समाजवादी पार्टीसँगको सहकार्यमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्छ । त्यो अवस्थामा दलको आधिकारिकता माथिको दावी कमजोर हुन सक्ने वा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथिको दावी प्रचण्ड–माधव पक्षले गुमाउन पनि सक्ने जानकारहरु बताउँछन् । संसदीय दलमा ६० प्रतिशत बहुमत नजुटेको अवस्थामा ४० प्रतिशत सदस्य जुटाएर दल विभाजन गर्न सक्ने प्रावधान छ तर त्यस्तो दलले छुट्टै दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नुपर्ने हुन्छ । प्रचण्ड–माधव पक्षले आफूसँग बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको अवस्थामा नेकपामाथिको दावी त्यति सहजै छोड्ला भनेर कल्पना गर्न सकिँदैन ।

ओलीका लागि अपमानजनक बहिर्गमन स्वीकार्य ?

नेकपामा आधिकारिकताको विवाद न्यायालयसम्म लम्बिने सम्भावना प्रवल छ । त्यो अवस्थामा संसदीय दलमा बहुमत जुटाएर प्रचण्ड–माधव पक्षले आफ्नो अस्तित्व रक्षा गर्ने र ओलीमाथि आक्रामक रणनीति अपनाउने बाटो खुल्छ ।

सर्वोच्च अदालतमा आधिकारिकता मुद्दा विचाराधीन रहेको अवस्थामा पनि संसदीय गतिविधिहरु चलिरहने छन् । यसको अर्थ नेकपाका दुवै समूहले संसदमा फरक अस्तित्वका साथ गतिविधि सञ्चालन गर्न सक्छन् । त्यो चरणमा पुग्नु भनेको प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याएर सरकारको बहिर्गमन सुनिश्चित गर्नु नै हो ।

नेकपाको प्रचण्ड–माधव पक्षले काँग्रेसलाई अघि सारेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पहल गरेमा आश्चर्य मानिरहनु पर्दैन । किनकि काँग्रेस सभापति शेरबहादुर देउवा आफू प्रधानमन्त्री बन्ने शर्तमा ओली सरकारलाई विस्थापित गर्ने अभियानमा सामेल नहोलान् भन्न सकिँदैन । ओली सरकारको विकल्पका लागि जनता समाजवादी पार्टी पनि सकारात्मक नै छ ।

प्रधानमन्त्री ओलीको विकल्पमा काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टीबीच सहकार्य भएको अवस्थामा भने सत्ताबाट ओलीको बहिर्गमन अपमानजनक हुन सक्छ । भावी प्रधानमन्त्रीका रुपमा देउवाको नाम अघि सारेर तीनै दलले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा प्रधानमन्त्री ओलीका कुनै पनि दाउपेचले उनलाई सत्तामा टिकाउन सक्नेछैन । तर फेरि पनि नेकपाको आधिकारिकताको विवाद बाँकी नै रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप