बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

बिहीबार, १३ फागुन २०७७, १४ : ५२
बिहीबार, १३ फागुन २०७७

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । 

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका हुन् । युरोपेली युनियनका विदेश मन्त्रीहरुको बैठकले “लोकतन्त्रको अपमान” गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारी विरुद्ध प्रतिबन्धहरु घोषणा गरेको थियो । 

मन्त्री अरेजाले संवाददाताहरुसँग भने, “आज, राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न ७२ घण्टाको समयावधि राखेर आदेश दिएका छौं ।” उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुएलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ । 

इयूका प्रवक्ता नबिला मासरालीले भेनजुएलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुएला थप एक्लिने चेतावनी दिएका छन् ।  राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निस्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरुले बाध्य भएर यस्तो निर्णय गर्नु परेको बताए । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप