मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

बिहीबार, १३ फागुन २०७७, १४ : २३
बिहीबार, १३ फागुन २०७७

कर्णाली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।  हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित ग्रास रुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो । जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् ।

कर्णाली प्रदेश फुटबल सङ्घका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए । उनकाअनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो । 

सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आपूm २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्म दर्ताको प्रमाण पेश गर्नुपर्नेछ । जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ । 

बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब तीन वर्षदेखि ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रास रुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप