शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

बिहीबार, १३ फागुन २०७७, १० : ५९
बिहीबार, १३ फागुन २०७७

अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो । पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरे । 

कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने बताएका थिए तर शिलान्यास भएको २१ महिनाभन्दा बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ । उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकूद विकास समितिले जनाएको छ । 

आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकूद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिनुभयो । डेढ वर्षभित्र उक्त कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भए पनि आर्थिक अभावले थप काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ । 

पिलर निर्माण 
    
राष्ट्रिय खेलकूद परिषद् ९राखेप०बाट उक्त कभर्ड हलका लागि तत्काल रु १० लाख निकासा गरिएको थियो तर उक्त रकमले कभर्ड हल निर्माणका लागि आठ वटा पिलर मात्रै ठडिएका छन् । राष्ट्रिय खेलकूद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलको सामग्री सार्न र पिलर मात्रै ठडिएको खेलकूद विकास समिति डडेल्धुराले जनाएको छ । 

पुनः निर्माण शुरु गर्न क्रमागतरूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । “राखेपबाट बजेट निकासा भएको छैन । गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो तर अहिले निकासा भएको छैन । त्यसैले भएर निर्माण अलपत्र छ”, उनले भने, “दुई रोपनी जग्गामा आठ पिलरसहितको फाउन्डेसन भएको छ । बजेट नभएर निर्माण ठप्प छ ।”

के गर्दै छ नगरपालिका ?
    
देश सङ्घीयतामा गएपश्चात् स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकूद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ तर कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन । नगरपालिकाले खेलकूद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रेमी युवाको गुनासो छ तर उता नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जनाएको छ । कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको नगरप्रमुख ओझाको भनाइ छ । पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनले बताए ।
  
“जनताका आवश्यकता असीमित छन् । स्रोत साधनको कमी छ । सङ्घीय सरकाले केही बजेट विनियोजन गरेको थियो र हामीले काम अगाडि बढाएका थियौँ”, उनले भने, “यो वर्ष पनि कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ ।”

जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका ‘इनडोर’ खेलकूदका कार्यक्रमसमेत प्रभावित बनेका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा हाल जिल्लामा खेलकूद गतिविधि शून्य प्रायः बनेको छ । ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कर्भड हलको आवश्यकता पर्ने गरेको कराँते सङ्घ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप