शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चम्पादेवी माविको पुनर्निर्माण सुरु

बुधबार, १२ फागुन २०७७, २२ : ५२
बुधबार, १२ फागुन २०७७

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति विभागका प्रमुख नवीनकुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले संयुक्त रुपमा भूमि पूजन कार्यक्रम गर्दै पुनर्निर्माणको शुभारम्भ गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय हो । नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्ने हेतुले भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यो बाहेक स्वास्थ्य, साँस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ ।  ६ करोड ८५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण हुन लागेको यस विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ ।

नवनिर्मित संरचनामा दुईवटा ब्लकहरु रहनेछन्, जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् । यी विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप