बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी आउनेछ ३ महिनामा काठमाडौँबासीको धारामा मेलम्चीको पानी (भिडियो)

बुधबार, १२ फागुन २०७७, १२ : २५
बुधबार, १२ फागुन २०७७

सोमबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणका लागि पानी पठाएसँगै अब छिट्टै काठमाडौँमा पानी आइपुग्ने सरकारले जनाएको छ । सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा मेलम्ची खोलाको मुख्य बाँधस्थलबाट काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा परीक्षणका लागि पानी पठाइएको छ । खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर महर्जनले संयुक्त रुपमा सुरुङमा पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिचेर उद्घाटन गरेका थिए । गत असारमा परीक्षणका लागि सुरुङमा पानी पठाउँदा सुरुङको गेट भत्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो । सुरुङको गेट राखी प्राविधिक परीक्षण गरेर ८ महिनापछि पुनः पानी पठाएर परीक्षण थालिएको हो ।

सुरुङमा पानी भरिनका लागि २ साता लाग्ने र २ महिनाभित्र पानी परीक्षण सम्पन्न गरी ३ महिनापछि उपत्यकामा खानेपानी वितरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले रातोपाटीलाई जानकारी दिए । आयोजनाको बाँधस्थल हेडवक्र्सको कामपनि अन्तिम चरणमा पुगेको र डेढ महिनाभित्र सम्पन्न हुने उल्लेख गरे ।

अहिले सुरुङको क्षमताको ५ प्रतिशतमात्र पानी हालेर परीक्षण गरिएको कार्यकारी निर्देशक खत्रीले बताए । अहिले २ सय ५० लिटर प्रति सेकेन्डदेखि ३०० लिटर प्रतिसेकेण्ड पानी पठाएको छ । उनले भने–‘सुन्दरीजल पानी पुग्न २ हप्ता जति लाग्छ, त्यसपछि सुरुङमा आठ दश दिन पानी राखेर, फेरि सुरुङ खाली गरेर, फेरी पानी पठाउँछौँ । त्यसका केही प्राविधिक नियमहरु छन्, त्यसलाई पूरा गरेर पानी पठाउँछौँ ।’

परीक्षणका लागि सुरुङमा हालिएको पानी सुरुङ भरिँदा १३ करोड लिटर पानी हुन्छ । जमाएको पानी सुन्दरीजलका साथै अन्य ३ वटा निकास भाग (अडिट पोइन्ट)बाट खसालिन्छ । 

आयोजना प्रमुख खत्रीले आगामी वैशाख दोश्रो साताबाट पानी वितरण गर्न सकिने जानकारी दिए । काठमाडौँमा पानी वितरण प्रणालीको निर्माणकार्य ७० प्रतिशत सकिएको र तत्काल पुरानै प्रणालीबाट पानी वितरण हुने उनको भनाई छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खानेपानी वितरण सञ्जालमा मेलम्चीको पानी पुग्नेछ ।

खानेपानी मन्त्री मणि थापाले पहिलो चरणमा मेलम्चीको पानी परीक्षण गरिने र दोश्रो चरणमा पानी वितरण थालिने योजना अनुसार अहिले पानी परीक्षण गरिएको जानकारी दिएका छन् । उनले भने, ‘परीक्षण सफल भयो भने ३ महिनाभित्रमा काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन् । परीक्षण सफल हुन्छ भन्ने हाम्रो विश्वास छ, त्यसपछि हामी यो दिनदेखि काठमाडौँबासीले पानी पिउन पाउछन् भनेर समय तोक्छौँ । तर परीक्षण नसक्दै मिति तोक्ने अवस्था छैन् ।’

उनले पानी परीक्षणका क्रममा अघिल्लो पटक भएजस्तो दुर्घटना नहुनेगरी प्रातक परीक्षण गरेर सुरुङमा पानी पठाइको बताएका छन् । साथै उनले स्थानीयका समस्या समाधानका लागि सरकार गम्भीर रहेको र प्राथमिकताका आधारमा स्थानीयको समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

आयोजनास्थलमा कृष्णप्रसाद भट्टराईको सम्झना

मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथानमा सोमबार पानी परीक्षणको औपचारिक कार्यक्रममा खानेपानी मन्त्रीदेखि विभिन्न पदाधिकारीहरुले स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण गरेका थिए । २०४६ सालको प्रजातन्त्र पुनर्बहालीपछि प्रधानमन्त्री बनेका भट्टराईले मेलम्चीको पानी काठमाडाैं ल्याउने योजना सार्वजनिक गरेका थिए । आयोजना स्थलमा बोल्ने बक्ताहरुले भट्टराईको सपना पूरा हुन लागेको उल्लेख गर्दै काठमाडौँ बासीको मेलम्चीको पानी पिउने सपना पूरा हुन अब धेरै समय नलाग्ने बताए ।

मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ । निर्माण सुरु गरेयता विभिन्न निर्माण कम्पनीहरुले बीचमै काम छोडेर जाने गरेका कारण आयोजनाको काम पछि धकेलिएको थियो । तर, समग्रमा मेलम्ची आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची आयोजना संक्षिप्त विवरण

मेलम्ची खानेपानी आयोजना विश्व बैङ्कको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको थियो । यो आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा आयोजनाको बिस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको  प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४ सय ६४ मिलियन अमेरिकन डलर रहेको छ ।

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास वैङ्कद्वारा १ सय २० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । कुल लागत अनुमान तत्कालीन अवस्थामा ४ सय ६४ मिलियन अमेरिकी डलर रहेको छ । सन् २००५ मा नोराड, सिडा र विश्व बैङ्कले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो ।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गहरुको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको थियो भने सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स एवम् सुरुङ निर्माणका कार्य सुरु भएको थियो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैङ्कको ऋण सम्झौताका शर्तहरु अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी महसुल निर्धारण आयोग तथा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

सन् २००७ मा एसियाली विकास बैङ्कको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन्  २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा विभाजन गरिएको छ । साथै, लागत अनुमान ३ सय १७ मिलियन अमेरिकी डलर कायम हुन गएको छ । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २ सय ४९ (संशोधित ३ सय १२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।

सन् २००८ बाट सुरुङ निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चिनियाँ निर्माण व्यवसायीसँग सम्झौता भइ अप्रिल २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८ दशमलव ६५ समय व्यतित हुँदासम्म जम्मा १५ दशमलव ३५ मात्र भौतिक प्रगति गर्न सकेको)  निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्बर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु.७ अर्ब ७२ करोड ९ भ्याट बाहेक मा ठेक्का सम्झौता भएका थियो ।

तर, २०७५ पुसमा सिएमसीसँग सरकारले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । २०७६ साल असोज २६ गतेदेखि काम सुरु गर्नेगरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई बाँकी काम पूरा गर्नेगरी सम्झौता भएको थियो । सो कम्पनीलाई सुरुङतर्फ रहेको बाँकी काम गर्न ८५ करोड र मुख्य बाँधस्थलको काम पूरा गर्नका लागि ९० करोड हाराहारी बजेटमा सम्झौता भएको थियो । अब डेढ महिनाभित्र कम्पनीले बाँकी रहेको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप