बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू

बुधबार, १२ फागुन २०७७, ११ : ५३
बुधबार, १२ फागुन २०७७

टीकापुर । कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन् । तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी थिइन् । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा कम्लहरी बन्नुपर्‍यो । “बुवाको मृत्युपछि घरमा अर्थाभाव शुरु भयो । हामीलाई पढाउनभन्दा आमालाई हाम्रा लागि खानाको जोहो गर्न नै समस्या हुन थाल्यो”, अस्मिताले भनिन्, “पेट पाल्नकै लागि भए पनि कम्लहरी बस्नुपर्ने अवस्था आयो । आमाले कम्लहरी बसे पढाइमा पनि सघाउने घर खोज्नुभयो ।”

आमाले कम्लहरी बसे पढ्न पनि पाइन्छ भनेपछि कम्लहरी बस्न सहमत भएकी अस्मितालाई निराशा नै हात लाग्यो । कम्लहरी बसे पनि पढाइ छुट्यो । डेढ वर्षपछि अस्मितालाई कम्लहरी विकास मञ्च नामक संस्थाले उद्धार गरेर पुनः विद्यालय पढ्ने वातावरण मिलाइदियो । विसं २०६९ मा कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाँउमा छात्रवृत्तिमै पढ्ने अवसर पाइन्  । तर लामो समयसम्म पढाइ छाड्नुपरेकाले ५ कक्षा पढिसकेकी अस्मिताले फेरि कक्षा ३ मा भर्ना हुनुप¥यो । “मैले पहिले पढेका कुरा बिर्सिसकेकी थिएँँ । मलाई तल्लो कक्षा अर्थात् ३ कक्षामा भर्ना गरियो । मैले फेरि पढ्ने चाहना पूरा गर्ने अवसर पाएँ”, उनले भनिन्, “पढाइमा लगन भए बाधा अप्ठेरा आए पनि विद्यार्थीलाई अघि बढ्नबाट रोक्न सक्दैन भनेजस्तै अवसर मेरो जीवनमा मिल्यो । म विस्तारै पढाइमा राम्रो बन्दै गएँ ।” अस्मिताले विसं २०७६ मा राम्रो अङ्क ल्याइ एसइई उत्तीर्ण गरिन्। अहिले टीकापुरमा विज्ञान विषय लिएर पढ्दै छिन् ।

अस्मिताजस्तै १५ वर्षीया करुणा बादी पनि सङ्घर्ष गर्दै पढाइलाई अगाडि बढाउँदै छिन् । कक्षा १० मा अध्ययनरत उनका बुवा पेशाले डकर्मी र आमा गृहणी हुन् । आठ जनाको संयुक्त परिवार । त्यसमा पनि चार जना विद्यालय जाने उमेरका । बुवाआमाकै काँधमा परिवारको पालनपोषणको जिम्मा भएकाले करुणालाई घरको कामको बोझ बढी छ । घरको काम गर्नुपर्ने, भाइ बहिनी स्याहार्नुपर्ने भएकाले करुणालाई पढाइका लागि समय निकाल्न हम्मेहम्मे पर्छ । “साँझ बिहान घरको काम गर्छु । आमाबुवा काम गर्न जान्छन्, मभन्दा पछिका भाइबहिनी पनि स्याहार्नुपर्छ”, करुणाले भनिन्, “कामको व्यस्तताले कहिलेकाहीँ गृहकार्य पूरा गर्न कठिन हुन्छ । यस्तो गरिबीमा पनि बुवाआमाले हामीलाई पढाइरहनुभएको छ ।”
    
अभाव, समस्या झेलेर भए पनि अस्मिता र करुणाहरू पढ्दैछन् अघि बढ्दैछन् । घरमा कामको जिम्मेवारी, अर्थाभाव झेलेर पनि अध्ययन गरिरहेका छोरीका अभिभावकले छोरीको शिक्षाका लागि कठिन सङ्घर्ष गरेर भए पनि पढ्ने वातावरण मिलाइरहेका छन् । “कहिलेकाहीँ कापी किताब, कलम हुँदैन, बुवाआमाले ऋण गरेर भए पनि जोहो गरिदिनुहुन्छ”, करुणा भन्छिन्, “मलाई घरको काम गराउनु अभिभावकको पनि बाध्यता बनेको छ । उनीहरूले काम नगरे हाम्रो पेट नै भरिदैन ।”

नेपालको संविधानले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने व्यवस्था गरेको छ । अझ आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । तर विभिन्न समस्याले विद्यालय जान नसक्ने छोरीहरूलाई पढ्ने वातावरण बनाउने जिम्मा अभिभावक र सरकारले लिनुपर्ने कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माको भनाइ छ ।
विभिन्न संस्कार र घरको कामको बोझ थुपारेर छोरीहरू शिक्षा लिनबाट बञ्चित भइरहेका छन् । छोरीलाई घरको काम बढी लगाइँदा वा पढ्ने उमेरका छोरीहरूको श्रमलाई आम्दानीसँग जोड्दा छोरीको शिक्षामा असर परेको छ । यसरी काममा लगाइँदा छोरीलाई परिवारबाटै शिक्षा आर्जनमा बाधा पुग्ने अधिकारकर्मी कल्पना उपाध्यायले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप