बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्त गर्ने तयारी

बुधबार, १२ फागुन २०७७, ११ : ४७
बुधबार, १२ फागुन २०७७

 काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ ।

संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ््यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ ।  आगामी शैशिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ ।

नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकारले बताए । 
पछिल्लो समय काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप