शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशसभाका सभामुख भन्छन्– दलहरुसँगको छलफलपछि प्रदेशसभा बैठक बोलाउँछु

बुधबार, १२ फागुन २०७७, १० : ०२
बुधबार, १२ फागुन २०७७

हेटौंडा । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताएका छन् । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताए । केही दलका नेताले आफुलाई बदनाम गराउन प्रचारबाजी गरेको आरोप लगाउँदै उनले बाहिर हल्ला चलाइए अनुसारको काम आफुले नगरेको बताए । दलहरूको माग अनुसार नै बैठकको मिति तय गर्ने उनको भनाइ छ ।

उनले रातोपाटीसँग भने, ‘अरुले आरोप लगाएजस्तो काम मबाट भएको छैन, म निष्पक्ष रुपमा काम गरिरहेको छु, दलहरुसँगको छलफल र माग अनुसार नै बैठकको मिति तय हुन्छ ।’

गत माघ १९ गतेका लागि बोलाइको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै माघ १८ गते राति सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।

फागुन ५ गते दिउँसो २ बजेसम्मका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सोही दिन बिहान ६ः३५ बजे सूचना टाँसेर पुनः अनिश्चितकालका लागि स्थगित गरे ।

सत्तापक्षकै दबाबका कारण सभामुख श्रेष्ठले बैठक स्थगित गरेको नेकपाको प्रचण्ड–माधव पक्षको आरोप छ ।

गत पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहका ४५ जना सदस्यको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

पुस १० गते दर्ता भएको मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव माघ ८ गते प्रदेशसभा बैठकमा टेबुल भए लगतै स्थगित भएको बैठक अझै अन्योलमा छ ।

के गर्दै छन् मुख्यमन्त्री पौडेल ?

आफुविरुद्धको अविश्वासको प्रस्ताव खेपिरहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हिजोआज विभिन्न सभा, सम्मेलन तथा आन्तरिक छलफलमा व्यस्त छन् ।

मुख्यमन्त्री पौडेलमाथि सभामुख श्रेष्ठलाई प्रदेशसभाको बैठक स्थगित गर्न दबाब र आफु नेतृत्वको सरकारको आयु बढाउनमै व्यस्त रहेको विपक्षी दलहरुको आरोप छ ।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार मुख्यमन्त्री पौडेल आजभोलि विभिन्न सभा, समारोह तथा आन्तरिक बैठकमा व्यस्त हुने गरेका छन् । ‘मुख्यमन्त्रीज्यू मंगलबार गृह जिल्लाकै कार्यक्रममा व्यस्त हुनुहुन्छ,’ स्वकीय पौडेलले भने, ‘सोमबार भने उहाँ चितवनको एक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।’

स्वकीय सचिव पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव र आगामी रणनीति निर्माणका लागि दलहरूसँगको आन्तरिक छलफलसमेत चलाइरहेका छन् ।

सभामुखसँग बैठक स्थगित गर्नुको विकल्प छैनः प्रमुख सचेतक पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षीय नेता तथा बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले प्रदेशसभा बैठक स्थगित गर्नुको विकल्प नरहेको बताएका छन् ।

मत विभाजन सम्बन्धी कार्यविधि मस्यौदा समितिका सदस्यसमेत रहेका पाण्डेले समितिले प्रतिवेदन पेश नगरेकै कारण प्रदेशसभा बैठक स्थगित भएको बताए । कार्यविधि मस्यौदा समितिले प्रतिवेदन तयार गरे पनि अझै पूर्णता नपाएका कारण सभामुख समक्ष नबुझाइएको उनले बताए ।

उनले भने, ‘केही छलफल अझै बाँकी छ, आवश्यक छलफलपछि प्रतिवेदनलाई पूर्णता दिएर चाँडै नै सभामुख श्रेष्ठलाई बुझाउने तयारी भइरहेको छ ।’

मतदान प्रकृयामा जानु अघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि केही समय माग गरेको र दलहरुबीच सहमति सहकार्यको वातावरण नबनेको कारण प्रदेशसभा स्थगित गर्नुपरेको पाण्डेको भनाइ छ ।

बागमती प्रदेशसभामा सत्तारुढ दल नेकपाको ८०, काँग्रेसको २२, राष्ट्रिय प्रजातन्त्र पार्टीको २, नेपाल मजदुर किसान पार्टीको २, विवेकशील साझा पार्टीको ३ र स्वतन्त्र एक गरी कूल ११० जना प्रदेशसभा सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप