बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रम ओलीलाई प्रचण्डको चेतावनीः राजीनामा नदिएर अर्को मूर्खता नगर्नुहोला

सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता
मङ्गलबार, ११ फागुन २०७७, २० : ५१
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले अर्को मूर्खतापूर्ण कदम नचाल्न प्रम ओलीलाई चेतावनी दिएका हुन् ।

‘तपाईंको चालेको कदमले दुई महिनादेखि जनतामा ठूलो आवेग थियो । अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्,’ प्रचण्डले भने, ‘अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो ।’

उनले सर्वोच्चको सही ऐतिहासिक र साहसिक फैसलापछि आफूले गौरवको अनुभूति गरेको बताउँदै उनले यसलाई नेपाली जनताको जीत भएको जिकिर गरे । उनले देशभर विजयी र्याली मनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले अब आफूहरु सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरे । ‘हाम्रो लडाईं कुर्सीको निम्ति होइन । हामीले जनताको अगाडि जे भनेका थियौँ, त्यही गर्छौं,’ उनले भने ।

उनले केपी ओलीको पक्षमा पुनःस्थापित सांसदहरुलाई ओलीको गफ र धोकाधडीबाट भ्रममुक्त हुन अपिल गरे । ‘अब तपाईंहरु फेरि माननीय हुनुभएको छ । सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने माननीय सांसदहरुलाई अब मूल पार्टीमा आउनुहोस् भन्न चाहन्छु । तपाईंहरूलाई स्वागत छ । अब केपीको भूल भुलैयामा बस्न पर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप