शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाइड्रोमा लगानी गर्ने ह्वातै बढे, ७ महिनामा १९ कम्पनीले पाए स्वीकृति

मङ्गलबार, ११ फागुन २०७७, १७ : १९
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । पछिल्लो समय हाइड्रोपावरमा ह्वात्तै लगानी बढेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा मात्र डेढ दर्जन माथि हाइड्रोपावर कम्पनीहरुले उद्योग विभागबाट स्वीकृति पाएका छन् ।  विभागको तथ्याङ्कअनुसार गत साउन यता मात्र विभिन्न समयमा गरि १९ वटा हाइड्रोपावर कम्पनीहरुले विभागबाट स्वीकृति पाएका छन् । जसमध्ये ६ वटा कम्पनीले करिब २ साताको अन्तरालमै विभागबाट स्वीकृति पाएको विभागका निर्देशक भक्तराज जोशीले रातोपाटीसँग बताए । 

‘मौसम अनुसार एक खालको लहर चल्ने रहेछ । अहिले विभागमा हाइड्रो पावरको लहर चलेको छ ।’ निर्देशक जोशीले भने, ‘चालू आर्थिक वर्षको ७ महिनामा मात्र १९ वटा हाइड्रोले विभागबाट स्वीकृति पाएका छन् । ती मध्य ६ वटा कम्पनीले त पछिल्लो २० दिन भित्र मात्र विभागबाट स्वीकृति पाएका छन् ।’

जोशीका अनुसार गत माघ १८ गतेदेखि फागुन ७ गतेभित्र कालिका कन्सट्रक्सन प्रालिको नाममा दुई वटा हाइड्रो पावर कम्पनीले विभागबाट स्वीकृति पाएको छ ।  त्यस्तै, कावेली हाईड्रोपावर कम्पनी, झापा इनर्जी लिमिटेड र बलेफी इनर्जी प्रालिले समेत सोही समयमा विभागबाट विद्युत उत्पादनको स्वीकृति पाएका छन् ।

कालिका कन्सट्रक्सनको नाममा दर्ता भएको कम्पनीले गोर्खा जिल्लाको दुई वटा गाउँपालिका अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकालाई मुख्य उत्पादन केन्द्र बनाई ८.३ मेगावाट र ९.८२ मेगावाटको दुईवटा विद्युत उत्पादन केन्द्र सञ्चालनको स्वीकृति पाएको छ ।

छुट्टाछुट्टै उत्पादन केन्द्रको रुपमा स्वीकृति पाएको कम्पनीको ८.३ मेगावाटका लागि कुल चुक्ता पुँजी १ अर्ब ६५ करोड ५७ लाख ७४ हजार ७ सय ८४ रुपैयाँ र ९.८२ मेगावाटका लागि कुल १ अर्ब ९२ करोड ७७ लाख ६५ हजार ८ सय १८ रुपैयाँ रहने कम्पनीले जनाएको छ । 

त्यस्तै, २१.९३ मेगावाट विद्युत उत्पादनका लागि विभागबाट अनुमति पाएको कावेली हाइड्रोपावरको कुल चुक्ता पुँजी ४ अर्ब २७ करोड ४१ लाख ९३ हजार ४ सय ७३ रहेको छ भने, कम्पनीको उत्पादन केन्द्र ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नम्बर ५ र ६ रहेको छ ।

यता, झापा इनर्जी प्रा.लि. (झापा शिवसताक्षी नगरपालिका ४) मा उत्पादन हुने १० मेगावाटका लागि कुल ८१ करोड ५० लाख ६९ हजार ५ सय ३४ रुपैयाँ चुक्ता पुँजी रहने गरि कम्पनीले उत्पादनको स्वीकृति पाएको छ ।  त्यस्तै, बलेफी इनर्जी प्रा.लि सिन्धुपाल्चोक ४० मेगावाटका लागि ५ अर्ब ९६ करोड १७ लाख ७८ हजार ६ सय ६४ र रेमिट हाइड्रो लिमिटेड ताप्लेजुङ ७७.५ मेगावाटले कुल १७ अर्ब ६२ करोड ४० लाख ६१ हजार ५ सय ८६ रुपैयाँ चुक्ता पुँजी रहने गरि विभागबाट विद्युत उत्पादनको स्वीकृति पाएको छ ।

तुलनात्मक रुपमा गत वर्ष र चालू वर्षउस्तै

उद्योगी विभागको तथ्याङ्कअनुसार हाइड्रोपावर कम्पनीको दर्ता मागलाई तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ लगभग उस्तै देखिएको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको ७–८ महिनाको तथ्याङ्क हेर्दा उस्ता उस्तै हाइड्रो कम्पनीकोहरु विभागमा दर्ता स्वीकृति पाएका छन् । 

विभागको तथ्याङ्कअनुसार गत वर्ष १८ वटा कम्पनीहरु दर्ता हुँदा यस वर्ष १९ वटा कम्पनी दर्ता भएका छन् । यद्यपि यो ७ महिनाको मात्र तथ्याङ्क हो । पुरै आर्थिक वर्षलाई हेर्ने हो भने गत वर्ष अधिकतम ३६ वटा हाइड्रो कम्पनीहरुले विभागबाट स्वीकृति पाएका छन् ।  योसँगै हालसम्म विभागबाट विद्युत उत्पादनका लागि स्वीकृति लिने हाइड्रोपावर कम्पनीहरुको संख्या ४ सय ४० पुगेको छ ।

छैन विदेशी लगानी
उद्योग विभागका अनुसार पछिल्लो समय औद्योगिक क्षेत्रमा वैदेशिक लगानी घटेको छ । विगत २–३ महिना यता विभागमा विदेशी लगानीकसहितको उद्योग सञ्चालनका लागि कमै स्वीकृति माग भएका छन् ।  उद्योग विभागका निर्देशक भक्तराज जोशीका अनुसार यस्तो संख्या प्रायः शून्य नै छ । 

‘अहिलेकै समयमा भन्ने हो भने औद्योगिक क्षेत्रमा वैदेशिक लगानी प्रायः शून्य नै छ । कुनै पनि विदेशी लगानीकर्ताले अहिले विभागमा स्वीकृतिका लागि माग गरेका छैनन् । विशेषतः चिनियाँ लगानीकर्ताहरु विदामा हुँदा अहिलेको अवस्था आएको हो’ जोशीले भने ।

त्यसो त कोभिड–१९ का कारण घर फर्किएका चियाहरु नेपाल नफर्किदा यस्तो अवस्था आएको हो । साथै, जनवरी, फेब्रुअरी र मार्च अन्तसम्मै चिनियाँहरुले विदा रहने हुँदा पनि यस्तो अवस्था आएको जोशीको भनाई छ ।  हाल नेपाली औद्योगिक क्षेत्रमा चियाँ लगानीकर्ताहरुको बाहुल्यता रहने गरेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप