बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुनःस्थापना भए प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री खोज्न हल बाँधेर हिँड्छन् : प्रधानमन्त्री ओली

मङ्गलबार, ११ फागुन २०७७, १७ : १६
मङ्गलबार, ११ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वास्तविक राजनीतिक पार्टी भनेको आफूले नेतृत्व गरेको नेकपामात्रै भएको भएको दावी गरेका छन् ।आफू निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । 

‘पार्टी भन्न लायक पार्टी नै हाम्रो पार्टी हो । अढाई महिना अघिसम्म हाम्रो पार्टी पनि अरु पार्टीजस्तै थियो । मारामार, अहिले अर्को पार्टीको कुरा सुन्दै हुनुहुन्छ होला के खोल्दै हुनुहुन्छ रे’, ओलीले प्रचण्ड माधवलाई लक्षित गर्दै भने, ‘२५ प्रतिशत हैसियत छैन । ५० प्रतिशत चाहियो रे । उधारो हुँदैन फेरि नगदा नगदी ।’ उनले आफ्नो पार्टी यस्तो रोगबाट मुक्त रहेको पनि बताए । 

उनले संसद पुनःस्थापना हुन नसक्ने भन्दै सूर्य चिन्ह पनि आफ्नै नेतृत्वको नेकपाले पाउने दावी पनि गरे ।  ‘अदालतलाई राम्ररी थाहा छ । पुनःस्थापना भयो भने के हुन्छ ?’ कथमंकदाचित पुनःस्थापना भयो भने के हुन्छ भन्दा प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’ ओलीको भनाइ छ । 

प्रचण्ड र नेपालको प्रधानमन्त्री हुने कुनै चान्स नरहेको पनि बताए । ‘यदि उहाँहरुले जित्नुभयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नुहुन्छ, त्यसका लागि पनि मकहाँ आउनुहुन्छ’, ओलीले संसद पुनःस्थापना भएपनि प्रधानमन्त्री आफै हुने संकेत गरे । नेकपा अहिले एकढिक्का भएको भन्दै कुनै प्रकारको समस्या नभएको र बाटो विराउनेलाई फर्कन आग्रह गरे । 

‘बिचरा मलाई प्रचण्डजीको माया लाग्छ । के खान गएको कहाँ डुबेर मर्यो भनेजस्तो भएको छ...’ आलीको भनाइ छ । उनले केपी ओली पराजित मानसिकतामा गइसक्यो, डिफेन्सिभ भइसक्यो भनेर आएका समाचारहरुमा सत्यता नभएको टिप्पणी गरे । 

उनले आफू गोलघरमा बस्दा पनि यसैगरी बोल्ने र यस्तै आत्मविश्वास भएको र अहिले पनि उस्तै रहेको बताए । ‘उतारचढावसँग, छालसँग डराएर समुन्द्रमा पस्न सकिँदैन । हामी छालहरू पार गरेर अगाडि बढ्छौँ । जस्तोसुकै परिस्थितिको सामना गर्छौँ’, ओलीको दावी छ । 

ओलीले प्रचण्ड–माधव पक्षलाई झिँगा र आफूलाई मौरीसँग तुलना गर्दै युवाहरुले झिँगा र मौरी छुट्याएकोमा आफूलाई खुसी लागेको बताए । 
‘मौरीले मह जम्मा गर्छ, घार बनाउँछ । आफू पनि खान्छ अरुलाई पनि वितरण गर्छ । झिँगाका पछाडि लाग्यो भने फोहोरको डुंगुरमा पुग्छ । त्यहाँ पुगेपछि आफू पनि रोगी बन्छ र अरुलाई पनि बिरामी पार्छ’, ओलीको भनाइ थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप