शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरस डान्सरदेखि सफल निर्देशकसम्म

मङ्गलबार, ११ फागुन २०७७, १२ : २७
मङ्गलबार, ११ फागुन २०७७

‘मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही...’

लोकगायक पशुपति शर्माको चर्चित यो गीत कतिको जीवनसँग मेल खायो, त्यो अहिले भन्न सकिन्न । भिडियो तथा चलचित्र निर्देशक देवेन्द्र पाण्डेको जीवनसँग भने यो गीतले ठ्याक्कै मेल खाएको छ । गीतले भनेझैँ कमाइको हिसाबले पाण्डेलाई अहिले अमेरिका, जापान, बेलायत लगायत देश यही भएको छ । म्युजिक भिडियो निर्देशनबाट पाण्डेले पछिल्लो समय मासिक ४ देखि ५ लाखसम्म घरमा भित्र्याउन सफल छन् ।

हातमा डिग्रीको सर्टिफिकेट भए पनि काम नपाएर लाखौँ युवा दुबई, कतारतिर प्रस्थान गर्न लाइनमा बसिरहेको यो समयमा पाण्डेलाई भने म्युजिक भिडियो निर्देशनले सास फेर्ने फुर्सदसमेत छैन ।

‘दैनिक त नभनौँ, अहिले महिनामा ७ देखि १२ वटासम्म भिडियो निर्देशन गरिरहेको छु,’ पाण्डेले भने, ‘कमाइ पनि अहिले मेरो राम्रो छ ।’ दाम मात्र नभएर नाम र चर्चासमेत आफ्नो राम्रो भएको पाण्डेले सुनाए । उनले थपे, ‘कति समयका लागि हो कुन्नि, अहिले भने मेरो अमेरिका, जापान, बेलायत यही भएको छ ।’

पाण्डे पछिल्लो समय चलेका म्युजिक भिडियो निर्देशकमध्ये उत्कृष्ट ५ भित्र पर्छन् । राम्रो कलाकार लिएर, गीतको भावअनुसार भिडियो निर्माण गर्ने क्षमता उनी राख्छन् ।

‘गीतले जे माग्छ भिडियोमा सकभर त्यही दिने गर्छु । त्यसैले पनि मलाई कामको कमी नभएको होला’ पाण्डेले अनुमान लगाए ।

पाण्डेको वेइटिङ लिस्टमा अहिले दुई, तीनवटा भिडियो सधैँ हुने गर्छ । हालै मात्र उनको ‘हँसाउने उही छ’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । त्यसले बिस्तारै चर्चा पाउँदैछ । केही दिन पहिले पनि उनको ‘पुरानो घाउ’ बोलको म्युजिक भिडियो बाहिर आएको थियो । जसले युट्युब ट्रेन्डिङ कब्जा गर्नेदेखि सबैतिर राम्रो प्रतिक्रिया पाउनसमेत सफल भएको थियो ।

अञ्जु पन्तको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत र चन्द्रप्रसाईं ‘परिस्कृत’को शब्द रहेको यो गीतको भिडियो उनले अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ माथि फिचरिङ गरेका थिए ।

कोरसबाट निर्देशक

पाण्डे कोरस डान्सर हँुदै भिडियो निर्देशक भएका हुन् । २०५८, ०५९ सालमा उनी नवयुग माध्यमिक विद्यालय जाबाहालमा पढ्दै थिए । त्यो समय एउटा भिडियोमा डान्स गर्ने अवसर पाए । त्यो गीतमा नाचेपछि उनको नृत्यतिर रुचि बढ्यो । त्यसपछि २०६० मा नृत्य सिक्नका लागि उनी साधना कला केन्द्रमा भर्ना भए ।

सुरुको समय नृत्य सिक्दै गर्दा फिल्म तथा म्युजिक भिडियोमा कोरस नाच्न थाले । यसै क्रममा उनले करिब तीन दर्जन फिल्म तथा ७ सयभन्दा बढी म्युजिक भिडियोमा उनले कोरस नृत्य गरिसकेका थिए । तर पनि कहिलेकाहीँ उनी खाली बस्नुपथ्र्यो ।

‘धेरै काम गरिसक्दा पनि नियमित काम नहुने भएकाले अर्काे क्षेत्र रोज्ने कि भन्ने सोच बनाएको थिएँ’ उनले ती दिन सम्झिए, ‘परिवारले आफ्नो इच्छा जेमा छ त्यसमा लाग्नुपर्छ । छोरा मान्छे भएर हरेश खानु हँुदैन । एक दिन सफल भइन्छ भनेर सम्झाए ।’ परिवारको हौसलापछि यसमै लाग्न आफूलाई ऊर्जा मिलेको पाण्डेले सुनाए ।

२०६३ मा उनले जब साधना कला केन्द्रबाट तीन वर्षे नृत्यको कोर्ष पूरा गरे त्यसपछि म्युजिक भिडियो र फिल्ममा नृत्य निर्देशकको असिटेन्टको रूपमा काम पाए । काम गर्दैजाँदा २०६५ मा उनको हातमा खेमराज तिवारी र कमलराज न्यौपानेको ‘छुट्टिँदैमा माया मर्दैन’ बोलको लोकगीतको भिडियो निर्देशन जिम्मेवारी पर्यो ।

आफू नयाँ निर्देशक भएकाले नयाँ कलाकार नै लिएर उनले त्यसको भिडियो बनाए । भिडियो हिट भयो । भिडियोसँगै उनले पनि चर्चा पाए । त्यसपछि उनका हातमा एकसाथ केही भिडियो निर्देशन जिम्मेवारी पर्यो । अहिलेसम्म पनि उनले पछि फर्किएर हेर्नुपरेको छैन । अहिलेसम्म करिब ३५० को हाराहारीमा म्युजिक भिडियो निर्देशन गरिसकेको पाण्डेले बताए ।

पाण्डेले निर्देशन गरेको भिडियो प्रायः सबै चर्चित छन् । तीमध्ये ‘कुन धाराको पानी’, ‘तिमी फूल बन’, ‘सुखमा तिमीसँगै’, ‘बग्ने खोला’, ‘मूलको पानी’, ‘चाइनाको रेल’, ‘प्रेम प्रस्ताव’, ‘पुरानो घाउ’ लगायतका भिडियो बढी चर्चित छन् ।

चलेकै नचाउँदा फाइदा

कतिपयले लोक र आधुनिक गीतको भिडियो मात्र निर्देशन गर्ने गरेका छन् । पाण्डेले भने लोक, आधुनिक, पप होस् या भजन सबै प्रकारका भिडियो गर्छन् । गीतको प्रकारले भिडियो निर्देशनमा आफूलाई खासै फरक नपर्ने उनी बताउँछन् । धेरै म्युजिक भिडियो भने उनले लोक दोहोरी र आधुनिक नै गरेका छन् ।

केही फिल्म निर्देशनसमेत गरेका पाण्डेको अहिले पनि उनको पहिलो प्रथामिकता म्युजिक भिडियो पर्ने गरेको छ । ‘एक दिनमा काम गर्न सकिने, तुरुन्तै रिजल्ट आउने’ उनले भिडियो प्रथामिकता पर्नुको कारण खोले, ‘पैसा पनि तुरुन्तै आउँछ । आम्दानी पनि राम्रो छ ।’

उनी भिडियोबाट महिनामा ४–५ लाख सजिलै कमाउँछन् । त्योभन्दा पनि बढी आम्दानी गर्न सक्थे उनले । भिडियो राम्रो बनाउने उनको पहिलो प्रथामिकता हुने भएकाले धेरै भिडियोमा खर्च गर्छन् उनी । ‘भिडियो राम्रो बनाउन पुराना कलाकारदेखि टेक्निसियनसम्म म कम्प्रमाइज गर्दिनँ,’ उनले थपे । पैसाका लागि भिडियोमा कम्प्रमाइज गर्दा भिडियो बिग्रिने र भिडियो बिग्रिए काम पाउन गाह्रो हुने उनको बुझाइ छ ।

राजेश हमाल, करिष्मादेखि पछिल्लो समयका पल शाहसम्म प्रायः सबै कलाकारलाई भिडियोमा नचाउन सफल छन् उनी । उनका धेरै भिडियोमा प्रायः चलेका अनुहार नै देख्न सकिन्छ ।

चलेका कलाकारसँग काम गर्न सजिलो, भिडियो क्वालिटीसमेत देखिने बताउने उनी मार्केटको डिमान्ड, युट्युबको भ्युज आदिका कारणले पनि यस्ता कलाकार भिडियोको प्रथामिकतामा पर्ने गरेको बताउँछन् ।

भिडियो निर्देशन सजिलो छ, धेरै भन्ने गरेका छन् । अरूको यो विचारसँग सहमत छैनन् उनी । ‘५ मिनेटको कथावस्तुमा सबैथोक अटाएर एक दिनमा काम सक्नुपर्ने र त्यहीअनुसार दर्शकलाई बुझाउनुपर्ने बाध्याता भिडियोमा छ,’ उनले अगाडि भने, ‘गीत सुनेर कन्सेप्ट बनाउन गाह्रो हुन्छ ।’ गीत दिएको ३–४ दिन त आफूलाई त्यसको कन्सेप्ट बनाउन लाग्ने उनले सुनाए । म्युजिक भिडियो निर्देशनबाट पाण्डेले बेलाबेलामा अवार्डसमेत थाप्दै आएका छन् ।

फिल्ममा डेब्यु

कलाक्षेत्रमा करिब दुई दशक बिताउन लागेका पाण्डे म्युजिक भिडियोमा मात्र रुमल्लिएका छैनन् । उनले दुईवटा फिल्मसमेत निर्देशन गरिसकेका छन् । उनको निर्देशन रहेको पहिलो फिल्म ‘वान साइड लभ’ २०७२ मा रिलिज भएको थियो । भिडियो गर्दैगर्दा यो फिल्मको उनलाई अफर मिलेको थियो । राम्रो होला भनेर उनले फिल्ममा निर्देशनमा यसैबाट डेब्यु गरेका थिए । सुशील क्षेत्री, सविना कार्की, कपिल खत्री, राज सुनाम लगायतका कलाकारको अभिनय रहेको फिल्मले हल्काफुल्का मात्र चर्चा पायो ।

त्यसपछि उनले २०७५ मा ‘भिलेन’ नामक फिल्म निर्देशन गरे । निखिल उप्रेती, शिल्पा पोखरेल, नीशा अधिकारीलगायत कलाकार लिएर बनाएको यो फिल्मले उनलाई ठूलो पर्दाको निर्देशकको रूपमा समेत स्थापित गर्यो ।

अहिले उनी फेरि अर्काे फिल्म ‘जन्तीबाख्रो’ निर्देशनको तयारी गर्दैछन् । केही अगाडि सुरु गर्ने तयारी भएको फिल्म कोरोनाका कारण रोकिएको थियो । कथासमेत उनले नै तयार गरेको फिल्मको अहिले कलाकार छनोट गर्ने कार्य भइरहेको छ । अब छिट्टै छायाङ्कन सुरु हुने जानकारी उनले दिए ।

फिल्मको अलवा पाण्डेले केही सर्ट फिल्मसमेत निर्देशन गरेका छन् । ‘राष्ट्रको पहरेदार’ भन्ने सर्ट फिल्मबाट नेपाली सेनाको सर्ट फिल्म प्रतिस्पर्धा २०७२ मा उनले उत्कृष्ट फिल्म, कथा र निर्देशकको अवार्डसमेत हात परेका थिए  ।

सानोको सपना गायक

धादिङ, धुनीबेँसी नगरपालिका स्थायी घर भएका पाण्डेको बलापनमा ठूलो भएपछि गायक बन्ने सपना थियो । त्यसैले सो समय उनी लोकदोहोरीदेखि आधुनिक गीतसम्म गाउँथे । विभिन्न गीतसङ्गीतका कार्यक्रममा भाग लिने गर्थे । गायनबाट उनले साना हुँदा थुप्रै पुरस्कार पाएका छन् ।

ठूलो भएपछि नृत्य रोज्नुअगाडि उनी गीत रेकर्डिङका लागि विभिन्न म्युजिक कम्पनीसमेत धाएका थिए । तर रेकर्डिङको अवसर भने जुरेन । ‘गीत रेकर्डिङ अवसर खोज्दाखोज्दै नृत्य सिक्न रहर जाग्यो,’ उनले भने, ‘नृत्यमा आएपछि गाउने रहर त्यसै हरायो ।’ मेरो गायक बन्ने मात्र होइन नृत्यका कारण परिवारको म सरकारी जागिरे भएको हेर्ने इच्छासमेत अधुरो रहेको उनले खुलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप