खगोल जानकारी

नासाले कसरी खिच्यो रोवरल्यान्डिङ्गका तस्वीर ?

person explore access_timeफागुन ११, २०७७ chat_bubble_outline0

 

'अमेरिकी मार्स रोवर पर्सिभरेन्स'ले जेजेरो क्रेटरमा ल्यान्डिङ्ग गरेको  आज पाँचौ दिन हो। गएको बिहीबार फेब्रुअरी १८ सन २०२१ मा यस यन्त्रमानवले मंगल ग्रहलाई आफ्नो नयाँ ठेगाना बनाएको थियो। यसले ओर्लिनासाथ  काम प्रारम्भ  गरेर मंगल ग्रहका तस्वीर आफू ओर्लेको केही घण्टा पछि नै पठाएको थियो।  रोवरले पठाएको तस्वीर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले 'प्रोसेस' गर्नसाथ सार्वजनिक गरेको थियो।

संसारभरिका मीडियाले रोवरले पठाएको तस्वीर प्रकाशित गरे। यस क्रममा रातोपाटीले पनि शुक्रवार  नै मंगल ग्रहबाट प्राप्त तस्वीर प्रकाशित गरेको थियो। रोवरले मंगल  ग्रहका नयाँ नयाँ तस्वीर पठाउने क्रम जारी छ।  नासाले तस्वीर प्राप्त हुनसाथ आफ्ना विभिन्न ट्विटर अकाउन्टबाट ती तस्वीर विश्व सामु सार्वजनिक गर्छ। संसारभरिका  मीडियाकर्मी अहिले आफ्ना पाठकलाई यसबारे अपडेट गराउन नासाको नयाँ ट्वीटको प्रतीक्षा गरिरहेका हुन्छन् ।

रोवर पर्सिभरेन्सले हिजो सोमवार २२ फेब्रुअरीमा मंगल ग्रहका नयाँ तस्वीर पठाएको छ। यस तस्वीरलाई 'इमेज अफ द वीक' भनिएको छ।

 रातोपाटीले मंगल ग्रहबाट पृथ्वीमा आइपुगेका तस्वीर यथाशक्य शीघ्र प्रकाशित गर्दै आएको छ। त्यसो त शुक्रवार बिहान रोवरले ल्यान्डिङ्ग गरेको केही घण्टाभित्र नै (रोवरले नेपाली समयअनुसार बिहीबार राति २ बजेर ४० मिनटमा ल्यान्डिङ्ग गरेको थियो ) शुक्रवार बिहान ल्यान्डिङ्ग गर्दै गरेका तस्वीरका साथै जेट प्रपोल्सन लेबोरेट्रीमा खुशियाली मनाइरहेका तस्वीरका साथै विस्तृत समाचार प्रकाशित गरेको थियो।

तस्वीर हेरेर र समाचार पढेर एकजना पाठकले प्रतिक्रियामा लेख्नु भयो -होइन यो ल्यान्डिङ्ग गर्नुभन्दा पहिला त्यहाँ क्यामेरा लिएर को पुगेको थियो ? कसरी खिचियो यो तस्वीर ?

विषयसँग सम्बन्धित प्रश्न–जिज्ञासा कहिल्यै पनि  बाहियात अथवा स्तरहीन हुँदैनन् ।  सबै कुरा सबै मानिसलाई थाहा हुने सम्भावना पनि हुन सक्दैन। तसर्थ विषयबारे स्पष्टता नहुँदा जिज्ञासा, आशंका र थप जान्ने /बुझ्ने चाहना हुनु स्वाभाविक नै हुन्छ।  विषय प्रस्तोताले प्रस्तुति विषयकाबारेमा उठेका प्रश्नलाई सकेसम्म सम्बोधित  गर्नुपर्छ। रातोपाटीको विज्ञान डेस्क यसलाई लिएर सचेत छ, विज्ञान पढ्ने पाठकसँग सधैँ सम्पर्कमा रही भर्चुअल संवाद गर्न उत्सुक र प्रेरित रहन्छ।

हाम्रा पाठकले राख्नु भएको जिज्ञासाको तस्बिर कम्युटर निर्मित त्रिआयामिक चित्रका बारेमा रहेछन् । त्यो नासाले खिचेको रोवरल्यान्डिङ्गको वास्तविक तस्बिर नभई वस्तुस्थितिको कल्पनामा आधारित भएर चित्रकारले तयार गरेको चित्र मात्रै हो । यसको अर्थ त्यो तस्विर वास्तविक नै हो भन्ने हैन । तर यसको अर्थ कि त्यो तस्विरले प्रदर्शित गर्न खोजेको कुरा वास्तविकताभन्दा भिन्न वा पर नै छ भन्ने पनि होइन । वैज्ञानिकहरुले गरेको गणना, कोरेको खाका र कल्पना गरेको वस्तुस्थितिको आधारमा त्यो चित्र तयार गरिएको हुन्छ, जुन वास्तविकतासँग निक्कै मेलखाने खालका हुन्छन् ।

अहिलेको अमेरिकी मंगल अभियान मार्स रोवर पर्सिभरेन्स मंगलमा पुगेको पहिलो रोवर होइन।  हो अत्याधुनिक पुस्ताको न्यूक्लियर एनर्जीबाट सञ्चालित हुने तमाम वैज्ञानिक प्रयोग गर्नसक्ने उत्कृष्ट इन्जीनियरिङ्गको नमूना भने अवश्य हो। यसभन्दा पहिला पठाइएको रोवर अझै मंगल ग्रहमा सक्रिय छ।  मंगलमा पठाइएका सबै रोवरबारे छुट्टै लेख्नुपर्ने हुन्छ। पर्सिभरेन्स रोवरभन्दा पहिला अमेरिकाले  ६ अगस्त  २०१२ मा क्यूरोसिटी ( Curiosity ) नामक रोवर  पठाएको थियो। क्यूरोसिटी अझै पनि मंगल ग्रहमा विचरण गर्दै आफ्नो काम गरिरहेको छ। पर्खिनुस्,  पर्खिनुस्– हतार नगर्नुस्, क्यूरोसिटी  रोवरले नयाँ अमेरिकी रोवर पर्सिभरेन्सको स्वागत गर्दै 'ल्यान्डिङ्ग' को तस्वीर खिचेको होइन। चाहेर पनि खिच्न सक्दैन।

 ल अलिक गफ्फिऔं।  तपाईं पेरिसमा हुनुहुन्छ।  नेपालमा तपाईंको कुनै साथीभाइले हेलिकोप्टर किनेछ। तपाईंसँग अत्याधुनिक क्यामेरा छ, यसले जति टाढाको पनि स्पष्ट फोटो खिच्न सक्छ। तपाईंको साथीले हेलिकोप्टर उडाउँदै माछापुछ्रे अवलोकन गर्दैछ। उसले तपाईंलाई आफ्नो क्यामेराबाट हेलिकोप्टर उडदै  गरेको फोटो खिच्ने अनुरोध गर्यो।  तपाईं के गर्नु हुन्छ ? के फोटो खिच्न सक्नु हुन्छ ? तपाईंका आँखा अथवा क्यामेराका आँखाले अब्जेक्टलाई हेर्न सकेको भए फोटो खिच्न मुश्किल हुने थिएन। तपाईंले 'भाइ हेलिकोप्टर किनेको शान न देखा, म पेरिसबाट नेपालको आकाशमा उडिरहेको फोटो खिच्न सक्छु र' भनी झर्को मेट्नु भयो  ?

गफमा अलिकति ट्विस्ट ल्याऊ।  तपाईं पेरिस होइन, पृथ्वीबाट ४०० किमी माथिको अन्तरिक्षमा उडिरहेको अन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन (iss  )मा हुनुहुन्छ।  साथीले फोटो खिचिदिन अनुरोध पठायो।  तपाईं  ओके भाइ भनी तस्वीर खिचेर उसलाई फेसबुक, म्यासेन्जर अथवा ईमेल गरी दिनु हुन्छ।

रोवर पर्सिभरेन्सको ल्यान्डिङ्गका तस्वीर र  भिडियो क्यूरोसिटी रोवरले खीचेको होइन, मंगल ग्रह माथिको आकाशमा स्याटेलाइटझैँ (पृथ्वीको आकाशमा स्याटेलाइट रहेझैँ )  रहेको अमेरिकी स्याटेलाइट   मार्स  रेकनाइसेन्स अर्बिटर   (Mars   Reconnaissance Orbiter) ले खिचेको हो। अमेरिकाले यस अर्बिटरलाई  अगस्त  १२ सन २००५ मा पृथ्वीबाट मंगल ग्रहको अर्बिटमा स्थापित हुने गरी पठाएको थियो। मार्च  १० सन  २००६ मा मंगल ग्रहको अर्बिटमा पुगी यसले काम गरिरहेको छ।  यसका लागि मंगलको धरातलमा,  मंगल ग्रहको धरातलदेखि माथिको आकाशमा भइरहेका कुनै पनि गतिविधि - घटना -परिघटनाको छायाङ्कन- फिल्माङ्कन गर्नु बूढी औँला  र मध्यम औँलाको परस्पर संयोजनले  चुटकी बजाउनु सरहको रमाइलो, चाखलाग्दो, मनोरञ्जक कुरा हो।

मार्स  रेकनाइसेन्स अर्बिटर  । https://www.esa.int/

 पर्सिभरेन्सको ल्यान्डिङ्ग हुँदा ताकाका सबै फोटा - भिडियो मंगल ग्रहको कक्षमा रही एक सेकेण्ड पनि विश्राम नगरी मंगल ग्रहको निरन्तर परिक्रमा गरी रहने पृथ्वीको स्याटेलाइट सरहको अब्जेक्ट मार्स  रेकनाइसेन्स  अर्बिटरले खींचेका थिए।  अर्बिटरले नै ती फिल्म र फोटा अमेरिकाको  क्यालिफोर्नियास्थित जेट प्रपोल्सन लेबोरेट्री  'जेपीएल' लाई पठाएको थियो।

तपाईंहरुलाई थाहा नै छ– पृथ्वीमा उपलब्ध रहेको भूभागको  भागबण्डा गरी  बनेका अनेकन देशले पृथ्वीदेखि ४००- ३६००० किमी माथिको अन्तरिक्षमा अनेकौं स्याटेलाइट स्थापित गरेका छन्। ४ अक्टूबर १९५७ मा प्रारम्भ भएको स्याटेलाइट पठाउने क्रम ( रूसले पठाएको स्पुतनिक– १  पहिलो स्याटेलाइट हो ) मा  अहिलेसम्म विभिन्न ४० वटा देशले  १० हज़ारभन्दा बढी स्याटेलाइट पठाइसकेका छन। यी मध्ये झण्डै ६५०० स्याटेलाइट ले अन्तरिक्षबाट पृथ्वीको परिक्रमा गरिरहेका  छन् भने झण्डै ३५०० स्याटेलाइट विघटित भएर स्पेसडेब्रिस -स्पेसजंक ( अन्तरिक्षको कबाड) बनी पृथ्वीको परिक्रमा गरिरहेका छन्। यसमध्ये कतिपय त जलेर खरानी पनि भइसकेका छन्।

अहिले पृथ्वीको विभिन्न अर्बिटमा विभिन्न देशका झण्डै ३५०० स्याटेलाइट सक्रियताका  साथ काम गरिरहेका छन्।  यसमा सबैभन्दा बढी स्याटेलाइट पृथ्वीको निम्न अर्बिट ( low earth orbit - leo )  मा २६१२ स्याटेलाइट रहेका छन्।  यसैगरी पछिल्लो जानकारीअनुसार पृथ्वीको मध्यम अर्बिट ( Medium Earth orbit -meo  ) मा १३९ स्याटेलाइट,  एलिप्टिकल अर्बिट ( Ecliptic orbit: A non-inclined orbit with respect to the ecliptic ) मा  ५९ स्याटेलाइट र सबैभन्दा माथिल्लो अर्बिट (geostationary orbit ) मा ५६२ स्याटेलाइट रहेका छन्। तपाईंलाई आश्चर्य लाग्न सक्छ सबैभन्दा बढी स्याटेलाइट कुनै देशको नभएर एकजना व्यक्तिको रहेका छन्।  अहिले एक्टिभ रहेका स्याटेलाइटमा एक हज़ारभन्दा बढी स्याटेलाइट एलन मस्कका छन्।

पृथ्वीको आकाश जस्तै ( सही शब्द अन्तरिक्ष हुन्छ ) मंगल ग्रहको आकाशमा पनि अमेरिका, रूस, जापान, यूरोपियन स्पेस एजेन्सी, भारत, युएइ  र चीनका 'मंगल स्याटेलाइट'  अर्थात मार्स ऑर्बिटर परिक्रमारत रहेका छन।  युएइ र चीनको ऑर्बिटर यसै फेब्रुअरी २०२१ मा मंगल पुग्न सफल भएका हुन्। भारत र युएइ आफ्नो पहिलो प्रयासमै मंगल ग्रहको ऑर्बिटमा पुग्न सफल भएका हुन्।  युएइको ऑर्बिटरले मंगल ग्रहको विस्तृत नक्शा बनाउने महत्वपूर्ण काम गर्नेछ।  यसैगरी मंगलको अन्तरिक्षमा पुगेर परिक्रमारत रहेको चिनिया मिसनको लक्ष्य मंगलमा ल्यान्डिङ्ग गर्नु पनि हो।  यसले आउँदो  अप्रैल - मईतिर मंगल ग्रहको धरातलमा ल्याण्ड गर्ने  चिनिया योजना रहेको छ।  चीनको यो ल्यान्डिङ्ग सफल भयो  भने मंगल ग्रहको धरातल छुने चीन विश्वको दोस्रो देश बन्न पुग्नेछ।  अहिलेसम्म अमेरिका बाहेक अन्य कुनै देशले यो कार्य गर्न सकेको  छैन।

पर्सिभरेन्स रोवर कृत्रिम बौद्धिकता (आर्टिफिसियल  इन्टेलिजेंस - एआई) को सर्वोत्कृष्ट नमूना हो। यसले मंगल ग्रहका तस्वीर खिच्नुका साथै अनेकौं वैज्ञानिक प्रयोग पनि सम्पन्न  गर्नेछ।  यसले सबैभन्दा महत्वपूर्ण काम मंगल ग्रहको वातावरणमा रहेको कार्बनडाईअक्साइडबाट अक्सीजन बनाउने कुराको प्रयोगात्मक परीक्षण गर्नेछ।

एकजना पाठकको जिज्ञासा आशंका निवारण गर्नमा यो सामाग्री तैयार भयो।  कुनै पाठकले यसै  सामाग्रीमा उल्लेखित कुनै सन्दर्भबारे जिज्ञासा वा आशंका व्यक्त गरे अर्को  सामाग्री बन्ने निश्चित हुन्छ। रातोपाटीका पाठकले विज्ञानसँग सम्बन्धित विषयमा आफ्ना जिज्ञासा पठाए डेस्कले त्यसको समाधान गर्ने प्रयास गर्नेछ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X